सिकन्दरलाई वास्ता गरिनँ मैले
शक्ति उन्माद उडिरहेका त्रिमूर्ति फुचुनु
लुटका पर्यायवाची शिखण्डीलाई
मैले वास्ता गर्ने कुरै भएन
किनकि म नै अजय शक्ति हुँ ।
फुचुनुहरू अलि अगाडि बाघ मारेको गफ चुट्थे
पराइको लालन पोषणमा आफ्नैको गोत्र हत्या गर्दा
तेन्जिङले सगरमाथा चढेको भन्दा ठूलो आफ्नो बखान गर्थे
मेरै नाम लिएर, अनि मेरै लागि भन्थे
अहिले ती स्याल बनेर भौँतारी रहेका छन्
अझ भन्छन् ती टन्न गोजी भरेकाहरू
फेरि आफ्नो खोजी हुन्छ भनेर
मलाई नै चरी नङ्ग्रा पारेर मेरै दुहाइ दिन्छन् ।
सागरबाट पानी बोकेको बादल
आकाश मार्गको लामो यात्रा तय गरेपछि
थकित भएर जब निदाउँछ
निद्रामा नै टुट्छ असीमित जल कणमा
हिम शिखरलाई अभिषेक गर्न
त्यो सिञ्चनबाट निस्केको प्रवाहले सिञ्चित फाँटहरूमा
झुलेका धानका बालाहरू
होइन, संघर्षको इतिहास कुँदिएका
तल बहेको नदीदेखि उठेको चुचुरोसम्म
पहाडका ती प्रत्येक गरा गराहरूमा
लहलहाएका धानका बालाहरूले
बचाएको यो मुलुक
अहिले ती बाझो बनेका छन्
पौरखी पुर्खाले पराइसँग नझुकेर बचाएको मुलुक
अहिले लम्पसारवादीले प्रभु स्तुतिमा राखेका छन्
मासिएका जंगल फाँट र तालहरू
लिजको नाममा बेचिएको राष्ट्रिय सम्पत्तिहरू
कानुनको बदली बदलीमा
घुस खाएको पचाउने ऐन
पद लम्ब्याउन किर्ते नागरिकता
आफ्नो वायुसेवा मारेर खानेहरू
अर्बौंको बिजुलीको बिल नतिर्नेहरूको
बिजुलीको लाइन जोड्न लगाउने
अर्बौं अर्ब नतिर्नेको लाइसेन्स नवीकरण
सब गफ संवाद परिसंवादको भुलभुलैयामा हुलेर
के कानुन, यहाँ कुन कानुन ?
मतलब नै छैन, छ कुनै ??
हुकुमी शासनभन्दा धेरै खतरनाक शासन भयो !
हुकुमी शासनमा बिचौलियाको बोल कबोल थिएन
एक छत्र गरे
तर राष्ट्रिय संवेदनशीलताको हत्या गरेनन्, हिफाजत गरे
आज –
सगर छुने गफै–गफको विकासको तस्बिर देखाएर
बिचौलियाले मिलाएपछि शासकको
खतरनाक हुकुम
होइन, लोकतन्त्र नामको बोली
मन्त्रिपरिषद्को ल्याप्चे
लोकतान्त्रिक सरकारको निर्णय
यस क्रममा जे पनि बिक्न सक्छ यहाँ
बिक्रीमा बसेकाहरूले जे पनि बेच्न सक्छन् ।
नौको पछाडि एउटा शून्य राखेर देश बनाउनेहरू
भ्रष्टाचार पचाउन कानुन बनाउने शासक भन्छन् –
सरकार भात रोटी मात्र खान्छ, घुस खाँदैन
सरकारले भात रोटी खाने कुरा पनि सुन्ने दिन आयो
टन्न घुस खाएर घुस खाँदैन भनेको सुन्ने दिन पनि आयो
मानौँ यहाँका मान्छेहरू घाँस खाने बोका हुन् ।
क्याप्टिभ अडियन्स
अर्थात्, ‘बँधुवा दर्शक’ बीच
सुरक्षाको कडा घेरा भित्र बसेर कुर्लिन पाउँदा
उखान टुक्का हालेर हँसाउँदा
गडगडाहट तालीको ध्वनि गुञ्जायमान हुँदा
झन् कुर्लिएर आकाश पातल जोड्ने कुराको बौछार
सगरमाथाभन्दा अग्ला अग्ला
जनजीविकाको मसिहा रूपान्तरण
देशको कायापलट भइसकेको
खै ! कहाँ गयो त्यो बतासे कुरा ?
खुला आकाशमुनि बोल्दा
टुँडिखेलबाट दुम लुकारए कुइँच हुनुपर्दा
बल्ल बुझे मैले
टुँडिखेललाई किन पार्किङ बनाएर खाएका रहेछन् ।
बनाउन आएकै होइन यी
फगत मुलुक बिगार्न
बिग्रेको मुलुक पनि बनाउन सकिन्थ्यो
तर भित्र र बाहिरबाटको संयोजन
नभत्किएसम्म
खै ! कसरी यो मुलुक बन्ला ?
खै ! कसरी कति दिन जोगिएला ? आशा केवल, केवल म मात्र हँु
किनकि म नै अजय शक्ति हुँ ।
प्रतिक्रिया