प्रसंग हो, एमालेका सांसदले माओवादीले १० वर्ष लामो कथित् जनयुद्धका नाममा चलाएको हिंसा र आतंकले विद्युत् उत्पादनका योजना र कार्यक्रमलाई अपूरणीय क्षति पु¥याएको आरोप र सन्दर्भ हो, माओवादीका सांसदले त्यसप्रति जनाएको भयानक आपत्तिले उठाएको वादविवाद र प्रतिवाद ।
माओवादी भनेको हत्या, हिंसा र आतंकको पर्याय हो । सबै नेपालीका कण्ठमा झुन्डिएको र मनमस्तिष्कमा अंकित त्यो अमिट छाप कसैले मेटेर मेटिन्न । त्यसैले नेपालको इतिहासमा माओवादीको उत्थान र पतनलाई सबैभन्दा कालो अध्यायका रूपमा याद गरिन्छ । नेपाल र नेपालीले जानेको र बुझेको वास्तविकता त्यही हो ।
त्यसलाई होइन भन्नु अथवा अन्यथा परिभाषा लगाउन खोज्नु भनेको माओवादीलाई चिन्दै नचिन्नु हो । माओवादीका नाम र कामले प्रमाणित गरेको तथ्यलाई होइन भन्न खोज्ने सांसद, अरू जे भए पनि माओवादीको कार्यकर्ता हुन सक्तैन । त्यो निरीह र पाखण्डी त हुन सक्छ, माओवादी कम्युनिस्ट हुन सक्तैन । किनभने कम्युनिस्टको आफ्नै प्रकारको नैतिकता र चरित्र हुन्छ । माओवादीलाई हिंसावादीको आरोप लगाएर चोख्याउन खोज्नेहरूको राजनीतिक ज्ञान र बोध दुवैको परीक्षा र परीक्षण किन हुनुपर्छ भने त्यो समूह भनेको पहिचान हराएको झुण्ड हो, राजनीतिक दल होइन ।
कसैले माओवादी हिंसा भनिदिनु भनेको त उनीहरूलाई पहिचान प्रदान गर्नु हो । माओवादी पहिचान नभएको झुन्डमा परिणत हुनु अगाडिसम्म अर्थात् बाह्रबुँदे दिल्ली सम्झौता गरेर लोकतन्त्रलाई शिरोधार्य नगरेसम्म उसको पहिचान थियो– चीनका माओले प्रतिपादन गरेको नयाँ जनवादी क्रान्ति, नेपालमा भित्र्याएर यहाँ पनि कम्युनिस्ट सत्ता कायम गर्न कथित् जनयुद्ध गर्ने लक्ष घोषित गरेको माओवादी । त्यो पहिचानको अन्त्य त्यसै दिन भएको हो, जुन दिन उसले शान्ति प्रक्रियाको आडमा माओवादलाई परित्याग गरेको थियो ।
निर्लज्जता पनि कस्तो भने माओवादीको पहिचान प्रदान गर्ने सिद्धान्त र जनयुद्धको आधारभूत मान्यतालाई भारतका पाउमा चढाएर उसको लोकतन्त्रको सिद्धान्त र विचारलाई सर्लक्क अपनाइसकेपछि फेरि लाजै नमानी एकदलीय माओवादी मान्यतामा कायम रहेको दाबी गर्नु भनेको नेपाली जनतालाई धोका दिनु मात्र होइन, हद दर्जाको पाखण्डता प्रदर्शन गर्नु पनि हो ।
त्यही नारा र एजेन्डामा उसले १० वर्ष लामो कथित् जनयुद्धका नाममा हत्या, हिंसा र आतंकको ताण्डव मच्चाएको हो र त्यस अवधिमा उसले १७ हजार नेपालीको निष्ठुरतापूर्वक हत्या मात्र गरेन, खर्बौको राष्ट्रिय सम्पत्ति पनि नष्ट गरेर देशलाई कंगाल तुल्याउन कुनै कसर बाँकी राखेन । अर्को शब्दमा भन्नुपर्दा त्यही हत्या, हिंसा र आतंकले मुलुकलाई बलात् आधा शताब्दी पछाडि धकेलेको थियो । त्यो कटु सत्य यत्ति छिटै कसैले बिर्सेका छैनन् र बिर्सन सक्तैनन् पनि !
ताज्जुप त यसमा छ कि भारतको प्रलोभन र दबाब जतिसुकै प्रचण्ड परे पनि कांग्रेस र प्रजातन्त्रवादी कसैले पनि यति त सोध्नै पर्ने थियो कि प्रजातन्त्र ध्वस्त पारेर त्यही ध्वंसमा नौलो जनवाद खडा गर्न लडेको माओवादी पहिले सही थियो कि निउरिमुन्टे ‘न’ भएको अहिलेको माओवादी सही हो ?
पहिले चीनका नाममा, पछि भारतका साथ र सहयोगमा, विदेशी धर्म र तिनका एजेन्डा– पहाड र मधेसका गाउँ बस्तीसम्म पु¥याएर देशलाई विदेशीको स्वार्थमा विखण्डन र विभाजनको मजेरीसम्म पु¥याएको यथार्थ कसैबाट छिपेको छैन ! काम गर्ने, विदेशी एजेन्सीका स्वार्थ पूरा गर्न, अनि, धाकधक्कु चाहिँ लगाउने राष्ट्रवादी शक्ति आफू मात्र भएको ! त्यस्ता फिलिबस्टरका पुङ्माङ्गे गफलाई कसले पत्याउँछ ? नेपाली जनताले त पछिल्लो चुनावमै उनीहरूलाई रछानमा फालिदिएका हुन् । कांग्रेस र एमालेले पालैपालो काँध थापिदिएर मात्र हो, माओवादीको अस्तित्व बचेको र मात चढ्न सकेको ! नत्र राष्ट्रिय राजनीतिमा सिलाखोजे झैं खोज्नुपर्ने थियो, राजनीतिमा माओवादीको स्थान र स्थितिलाई !
जनताको हित र कल्याणका लागि काम गरेको भुइँफुट्टा गफ हाँक्ने पहिलेका माओवादी, जो अहिले लाजै नमानी लोकतन्त्रवादी कहलाए पनि जनताले नपत्याएकाले मरिच चाउरिए झै चाउरिन परेको छ । पहिलो संविधानसभाको चुनावमा एक नम्वरको दल भएको उसले तेस्रो चुनावसम्म आइपुग्दा खल्र्याम्खुर्लम भएर तेस्रो स्थानमा झर्नु परेको हो ।
उसले तेस्रो शक्तिमा चित्त बुझाएर कांग्रेस अथवा एमालेसित मिलेर गठबन्धन सरकारको नेतृत्व गर्दा पनि उत्ताउलो बाँदर बनेर कहिले यो हाँगामा, कहिले ऊ हाँगामा नउफ्रेको भए तल भुइँमा खसेर थचारिन पर्ने थिएन । त्यसो नभएको भए आज उसले जसरी धोबीको गधा, यता न उता भन्ने उखानको द्योतक बनेर हाँसोको पात्र बन्नुपर्ने थिएन । न, उसले अरू सबै दलबाटभन्दा पनि आफ्नै कम्युनिस्टहरूबाट खुच्चिङ बजाइमाग्नु पर्ने थिएन ।
प्रतिक्रिया