नेपालको प्रजातान्त्रिक आन्दोलनका मार्गदर्शक तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले टुँडिखेलको खुलामञ्चबाट आफ्नो अन्तिम सम्वोधनमा भन्नु भएको थियो– “कुनै बेला देश र जनताका बारेमा निर्णय लिन द्विविधा वा संकट पैदा भयो भने देशको एक मुठी माटोलाई छातिमा छुवाएर अन्तरआत्मासंग सोध्नोस्, अनि त्यहाँबाट जे जवाफ आउँछ, त्यही अनुसार गर्नोस् । तपाईको निर्णय ठीक ठाउँमा पर्नेछ ।”
उहाँले छाडेर जानु भएको कांग्रेसको केन्द्रीय समितिमा आज “कमजोर तथा निरीह प्राणीहरुले” जस्तो अवस्था सिर्जना गरेका छन्, त्यसबाट स्वाभिमान कार्यकर्ताहरुमा पर्न गएको चोट र आत्मग्लानीबाट कांग्रेसलाई कसरी बाहिर निकाल्ने त्यसका निम्ति पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरुले उहाँको तस्वीर अगाडि उभिएर मात्र पुग्दैन छातिमा हात राखेर सोध्नोस्, हामी चुक्यौ, अब अगाडिको मार्गदर्शन गरिदिनुस्, हामी पछ्याउँछौं ।
अनि बल्ल, तपाईहरुबाट भागेको स्वाभिमान र आत्मनिर्णयको क्षमता पुनस्र्थापित हुनेछ र तपाईहरुमा आत्माभिमान जाग्नेछ । कांग्रेसका पदाधिकारीले नै कांग्रेस नचिनेकाले पनि यो स्थिति सिर्जना भएको हो ! अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा जस्ता क्रियाकलाप देखिएको छ, त्यसमा कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लएको विभत्स दृष्य देखिएकाले त्यो प्रश्न उठ्न पुगेको हो । त्यसको जवाफ केन्द्रीय पदाधिकारीले मात्र होइन, सदस्यहरुले पनि दिनुपर्ने छ, किनभने उनीहरुमाथि पनि कांग्रेस नचिनेको दोष मात्र लागेको छैन, कांग्रेसको सिद्धान्त र चरित्र पनि नबुझेको आक्षेप पनि लागेको छ । त्यो पनि अरुले होइन, स्वयम बीपी कोइरालाले लगाउनु भएको छ । उनीहरुमाथि कांग्रेसका बारेमा अध्ययन नै नगरि दाउपेचका बलमा त्यो स्थान र स्थितिमा पुगेको अथवा पु¥याइएको दोषारोपण पनि उहाँले नै लगाउनु भएको छ ।
यो कुनै गाईजात्रा मनाउन तयार पारिएको गाईजात्रे कार्यक्रम होइन है ! गाईजात्राको याम पर्नु केवल संयोग मात्र हो । वास्तविकता चाहिँ कांग्रेसको व्यथा र कथा नै हो । त्यो पनि बीपी कोइरालाले सन् १९५८ मा नेपाल पुकारका माध्यमबाट आफ्ना कार्यकर्तासम्म पु¥याउनु भएको मार्मिक पत्र, जुन आजका कार्यकर्ताका निम्ति पनि उत्तिकै सान्दर्भिक मात्र होइन, उपयोगी समेत हुने देखिएकाले त्यसलाई सम्झाउन यहाँ प्रस्तुत गरिएको हो ।
कांग्रेसको संघर्षपूर्ण इतिहास र उदात्त प्रजातन्त्रका मूल्य र मान्यताका विषयमा अध्ययन नगरेका अनाडीहरुले कांग्रेसको घोषणापत्रको व्याख्या र विश्लेषण कसरी गरुन् ? त्यो त अन्धाले हात्ती छामेको कथाको पुनरुक्ति भयो । ”नैतिकता र चरित्रको अभावले उनीहरुमा त्यस्तो ह्रास आएको“ उहाँको ठोकुवा छ । बीपीले भन्नु भएको छ– “हामीले इतिहासका बितेका घटनाहरुका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनुपर्दछ । हामी त्यसो गर्दैनौं । उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरुलाई मैले देखेको छु । त्यो कमजोरीलाई हामीले हटाउनै पर्दछ ।”
हिजोका जेठा मामाको त्यो गति थियो भने आजका भाङ्ग्राका धोती लगाउने कान्छा मामाहरुको यो गति भएकोमा आश्यर्च मान्नु पर्दैन । केन्द्र मै त्यस्तो अन्योल र अन्धकार अवस्था विद्यमान छ र सभापतिको मर्यादा र अधिकार क्षेत्रमै आँच पु¥याउने काममा महासचिवहरु नै लाग्छन् भने तिनले कांग्रेसको इतिहास र परम्परालाई आत्मसात गरेको कसरी ठान्ने ? विधान र घोषणापत्रको अध्ययन गरेको कसरी मान्ने ? सभापति पद्धतिको कांग्रेस संगठनबाट पदाधिकारी भएकाहरु नै सभापतिको बाटोका अवरोध बन्छन् र रणनीतिक मामलामा विरोधी दलका मतियार बनेको चाल पाउँदैनन् भने उनीहरुले कांग्रेसलाई बलियो बनाउन योगदान गर्ने कुरा कसले पत्याउने ? उनीहरुबाटै कांग्रेसको भविष्य सुरक्षित छ भन्ने पनि कसरी विश्वास गर्ने ?
त्यही अवस्थालाई औल्याएर कोइराला भन्नुहुन्छ– “हामीमा आफ्नो जिम्मेदारीप्रतिको उत्तरदायित्वबोध कम छ । यद्यपि, जिम्मेदारी उठाउने बारेको हाम्रो चाख भने कम छैन । यिनै कारणले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं । जनता र हामीबीचको सीमा आज दिनप्रतिदिन बढ्दै गएको छ ।” माथिका जति पनि उदाहरण प्रस्तुत गरिएका छन्, ती सबै बीपी कोइरालाका विचारयात्राका महत्वपूर्ण संग्रह– राजनीतिक अभिलेखबाट उद्घृत गरिएका हुन् । वैचारिक रुपमा कोइरालाका सच्चा अनुयायी प्रदीप गिरिबाट सम्पादित त्यस संग्रहमा यो पंक्तिका लेखकले पुनर्जागरणका निम्ति कोइरालासंग लिएको एउटा ऐतिहासिक अन्तरवार्ता पनि समावेश गरिएको छ, जसमा पहिलो पटक “नेपालमा आइडिट फर्मुलाको” प्रक्षेपण कसरी भएको थियो, त्यसको रहष्योद्घाटन गरिएको थियो । त्यसले नेपालको दरवार, पञ्चायत व्यवस्था र सेनाको माथिल्लो तहलाई आठ वर्षसम्म थर्कमान तुल्यायो । २०४६ सालको जनआन्दोलनबाट पंचायतको अन्त्यसंगै त्यो सनसनिको पनि अन्त्य भएको थियो । त्यसका बारेमा थप चर्चा अरु कुनै बेला हुने आश्वासन साथ ऐलेलाई तारीख पाउँ । धन्यवाद ।
प्रतिक्रिया