देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिडियो सम्पादनमा अब्बल विकास दाहाल

देशान्तर


काठमाडौं । फूल बुट्टे सारी, नबोली नबोली, सुनैको दरबार, काले केटाजस्ता दर्जनौ सुपर हिट र सयौं हिट गीतको दृश्य संयोजन अर्थात् सम्पादन गरेका पर्दा पछाडिका हिरो हुन विकास दाहाल । संखुवासभामा पिता यमुनादत्त दाहाल र माता मायाँदेवी दाहालको जेठो सन्तानका रूपमा जन्मिएर विगत दस वर्षदेखि काठमाडांैमा कर्म गरिरहेका दाहाल नेपाली संगीत क्षेत्रमा कुशल र अब्बल भिडियो सम्पादकका रूपमा स्थापित भएका छन् ।


भिडियो सम्पादकका रूपमा औंलामा गनिने नाममध्ये एक विकासले माध्यमिक तहको अध्ययन गाउँकै स्कुलबाट पूरा गरी इटहरीमा आएर कम्प्युटर साइन्स अध्ययन गरेका उनी स्थानीय टेलिभिजनमा भिडियो सम्पादककै रूपमा केही समय जागिर खाए पछि काठमाडौं छिरेका हुन् । काठमाडौं आउने वातावरण भने अर्का कुशल सम्पादक तथा निर्देशक निशान घिमिरेले मिलाइदिएका हुन् । विकासका गुरु नै निशान हुन् । उनले घिमिरेको सम्पादन कक्षमा सहायक सम्पादकका रूपमा झन्डै पाँच वर्षको समय बिताए । त्यसक्रममा थुप्रै भिडियोमा काम गरेका विकासले एकल सम्पादन गरी निशानलाई देखाएको भिडियो भने विश्व नेपालीको स्वरमा रहेको सारा संसारै भुलेर बोलको थियो । जव उनका गुरु निर्देशन तर्फ लागे र उनलाई यो क्षेत्रमा स्थापित हुन सक्ने बनाए त्यसपछि विकास एक्लैले सम्पादनको भारी बोक्न थालेका हुन् । दाहालले पहिलो एकल सम्पादन र रंग संयोजन गरेको भिडियो निकेश खडका निर्देशित मुखौटा बोलको गीत थियो । त्यसपछि आफ्नै सम्पादन कक्षबाट भिडियो सम्पादनको काम गर्न थालेका विकासले पछाडि फर्केर हेर्नु परेन । उनको कामको चर्चा र तारिफ हँुदै जाँदा हालसम्म उनले झन्डै ६ सय म्युजिक भिडियो सम्पादन गरिसकेका छन् ।


प्रविधिसँग अपडेट भैरहने र टिभिसी, म्युजिक भिडियो, डकुमेन्ट्री, म्युजिकल फिल्म सम्पादन गरिसकेका दाहाललाई चलचित्र सम्पादनको पनि अफर आइसकेको छ । भिडियो सम्पादनको क्रममा रातभर काम गरेर भोलिपल्ट रिलिज गरेको गीत सुपरहिट भएको अनुभव पनि छ उनीसँग । नेपालका सबैजसो नयाँ पुराना भिडियो निर्देशक र कलाकारहरूको काममा सहकार्य गरेका विकासको कामलाई सम्पादन कक्षमै आएर प्रसिद्ध कलाकारहरूले प्रशंसा गरेका क्षणहरू पनि छन् । महानायक राजेश हमाल सम्पादन कक्षमा आएर कामको प्रशंसा गरेको दाहाल सम्झन्छन् । आफ्नो कामलाई अब्बल बनाउन अमेरिकाका एकजना प्रशिक्षकसँग रंग संयोजनको कक्षा लिएका दाहालले भारतमा हुने एक्पोहरूमा सहभागी भएर थप ज्ञान लिने गरेको देशान्तरलाई बताए । उनीसँग काम गरेका निर्देशकहरूले थोरै सिक्वेन्स बताइदिनासाथ पूरै सिन बुझ्न सक्ने क्षमता विकाससँग रहेको बताउँछन् ।


साउथ इन्डियन भिडियोहरूसमेत र फरकफरक कथाका सयौं भिडियो सम्पादन गरेका दाहालले गीतकार लोकराज अधिकारीको शब्द आमा मेरी आमा बोलको गीत र बुद्ध लामाको आमा बोलको गीत सम्पादन गर्दा अन्य भिडियोको कथा र दृश्यभन्दा अलि पृथक् अनुभव बटुलेको बताए । उनले सम्पादन गरेको साउथ इन्डियन भिडियो र सर्ट फिल्म कान्समा पनि पठाइएको थियो । अहिलेसम्म उनको कामको मूल्यांकन गर्दै विभिन्न संघसंस्थाले आयोजना गरेको अवार्डमा सर्वोत्कृष्ट सम्पादकको रूपमा डेढ भन्दा बढी दर्जन अवार्ड पाएका छन् । बक्स अफिस, नेसनल पावर न्युज, छायाँ छवि, गोल्डेन हर्ष इन्टरनेसनल, राष्ट्रिय साधना म्युजिक अवार्डलगायतका अवार्डबाट सम्मानित दाहालले पर्दा अगाडिका संगीतकर्मी र कलाकार र निर्देशकलाई माया गरिदिए आफूजस्ता पर्दा पछाडिका प्राविधिकहरूलाई त्यही नै माया हुने बताउँछन् ।