देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति/असहमति जुनूको ‘प्रदीप्त मन’ चिहाउँदा



मेरा हातमा एउटा कविताकृति छ । मध्यम आकारको एक सयभन्दा अलिकति बढी पेज रहेको यस कृतिभित्र ४३ वटा कविता संकलित छन् । मध्यम आयामकै कविताहरू रहेको यस कृतिको भूमिका प्रसिद्ध रेडियोकर्मी, गीतकार, कवि डा. नवराज लम्सालले लेखेका छन् । उनको भूमिका लेखन पनि उनको रेडियो कार्यक्रम ‘मधुवन’लगायतका लोकप्रिय कार्यक्रम सञ्चालनकै शैलीमा हुन्छ, जुन पढ्दा बडो मजा आउँछ ।

कविता कृतिको नाम छ– ‘प्रदीप्त मन ।’ मनसँग जोडिएको प्रदीप्तले दुई अर्थ बोकेको छ– जलिरहेको मन र प्रकाशवान् वा उज्यालो मन । जलिरहेको मनको अर्थमा हेर्दा पनि मनले दुनियाँलाई प्रकाश दिनकै लागि जलेको भन्न सकिने ठाउँ रहन्छ भने प्रकाशवान् वा उज्यालो मनको आशयमा त उसै सकारात्मकता आइहाल्यो ।

यहाँ मैले जीवनलाई सकारात्मक हेर्ने सवालमा यो अर्थ खोजेको हुँ । जुनू घिमिरेले रचना गरेका यस कृतिभित्रका कवितामा सकारात्मकता बढी होस् भन्ने कामनाले मैले पढ्न सुरु गरेँ । धेरै हदसम्म सकारात्मकता नै पाउने प्रयत्न गरिरहेँ तर मान्छेको जीवन सधैँ उत्साहमय, उल्लासमय, खुसी, मस्त मात्र हुँदैन । एक दिनमा हजारौँ विचारहरू प्रवाह भइरहने मान्छेको मस्तिष्कले क्षणमै खुसी र सुख अनुभूत गर्छ भने क्षणभरमै पीडामा डुब्छ । अनुभूतिको यो चक्र निरन्तर चलिरहन्छ । यही अनुभूतिको शाब्दिक प्रकटीकरण त हो साहित्य । अनि, साहित्यमा यी सबै कुराहरू आउनु स्वाभाविक नै त हो ।
जुनूका यस कृतिभित्रका कवितामा पनि यिनै र यस्तै विषय–भाव आएका छन् । कतै शालीन र भद्र विद्रोह त कतै कडा असहमतिजन्य विरोध, असन्तुष्टि छ वर्तमानको सामाजिक, राजनीतिक, सांस्कृतिक व्यवस्थाप्रति । मानवीय चरित्रलाई सूक्ष्म ढंगले केलाउँदै अप्रत्यक्ष प्रश्नहरू उठाइएको छ केही कवितामा । लिंगीय विभेदलाई चिन्ताको विषयका रूपमा लिइएको पाइन्छ भने असल संस्कार र समुन्नत समाजको परिकल्पना गरिएको छ धेरैजसो कवितामा ।
काव्य शिल्पमा सक्दो मिहिनेत गरिएको छ तथापि खिपिएको शिल्पको अपेक्षा पाठकबाट हुनु अन्यथा होइन । समाजकै सेरोफेरोबाट लिइएका वा टिपिएका विषय र सन्दर्भलाई समाजले वा आममान्छेले बुझ्ने भाषा र शैलीमा प्रस्तुत गर्ने जुनूको खुबी प्रशंसायोग्य छ ।

एउटा सिंगो बस्ती
खडेरीमा परेको छ
जहाँ, पानीका मुहान छन्
गाग्री भर्ने मुहार छैनन्
बाटो लम्पसार सुतेको छ
जगाउने पैताला छैनन् ।

सायद गाउँ भनेकै एक्लाहरूको बस्ती रहेछ
चाउरिएको छालाले लुकाएको हड्डी पनि
एक्लिएर होला दुखिरहन्छ ।
(मान्छे हराएको गाउँ, पृ. १)

सुरुकै कविताले भनिसकेको छ हाम्रो यथार्थ । हाम्रो आर्थिक, सामाजिक, राजनीतिक अव्यवस्थाको संकेत हो यो कविताको यो अंश ।

प्रश्नैप्रश्न बोकेर छातीमा
म जस्तै भौँतारिएको बादलले भन्छ
कहाँ स्वतन्त्र छु र म ?
कपासजस्तो मुटुभित्र
आँसुको भेल बोकेर बाँच्नु
कति कष्टकर हुन्छ ?
हावाले हानेपछि बदलिने आकार
जसको आफ्नै अस्तित्व आफूसँग छैन
म कसरी स्वतन्त्र हुन सक्छु ?
(बादलको पक्षमा, पृ ः ७)

यो कवितांशले भनिसक्यो कि बादल र महिला अर्थात् नारीको जीवन उस्तैउस्तै छ । नाम मात्रको स्वतन्त्रतामा रमाउने नारीहरू बादलझैँ हुन्, प्रकृतिको बहावसँगै यताउता उडिरहने, स्वतन्त्र होइनन् ।

तर, मान्छेमान्छेमा क्लेश जमेको छ
आकाशमा बादल मडारिएभन्दा मैलो बादल
मान्छेको मनमा मडारिएको छ ।
(बाध्यात्मक दसैं, पृ ः ५०)

आजको मान्छेको यथार्थ यसरी बोलेकी छन् कविले यस कवितांशमा । वास्तवमा आजको मान्छेको मनमा दया, करुणा, माया । सद्भाव हराउँदै गएको यथार्थ छ । यस्तो यथार्थको प्रकटीकरण जुनूका कवितामा भएको छ ।

देशको झन्डा हल्लाउँदै
स्वाभिमानको गीत गाउने रहर
सिमानालाई पनि छ
तर सकिँदैन सीमामा उभिएर
कालापानी हाम्रो हो भन्न
लिम्पियाधुरामा मिचिएको जमिन खोज्न ।

(सिमानामा देश, पृ ः ५३)

देशमाथि छिमेकीको मिचाइ, हाम्रा शासक भनाउँदाका लाचारी र हाम्रा विवशता कति सुन्दर र सशक्त ढंगले अभिव्यक्त गरेकी छन् कवि जुनूले यस कवितामा !
यस्ता अनेक विषय र भावमा बगेको जुनूका कविताहरू पढिरहँदा आनन्द लाग्छ । आफूलाई सिकारु क्वि ठान्ने जुनूको यो दोस्रो कविता कृति हो । यसअघि नै ‘पसिनाको घर’ कविता कृति प्रकाशनमा ल्याइसकेकी जुनूलाई यसो भन्नचाहिँ सकिन्छ, ‘पहिलो कविता कृतिमा सिकारु भए पनि दोस्रोमा समेत सिकारुकै बहानामा कमजोरी गर्ने छुटचाहिँ हुँदैन ।’

कृति सुन्दर हुँदाहुँदै केही वर्णविन्यासगत त्रुटि झुक्किएर पनि हुन नदिनु राम्रो हुन्थ्योभने पेज सज्जाका क्रममा समेत कविताका स्टान्जाहरूलाई राम्ररी व्यवस्थित गरेको भए अझ आकर्षक हुने थियो । कतिपय कवितालाई भने डायरीमै सीमित गरिदिँदा पनि हामी पाठकहरू रसिाउने थिएनौँ ।