काठमाडौं । कहिले नेकपा एमाले त कहिले नेपाली कांग्रेसको काँध चढेर सत्ताको नेतृत्व गरिरहेका एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड साउन १७ गतेको कांग्रेस–एमाले सहमति पछि एकाएक सत्ताविमुख भएपछि उनको छटपटी बढ्दो छ । देशी विदेशी शक्तिले आफूलाई सत्ताबाट बाहिर निकालेको बताउँने गरेका प्रचण्डले बल्ल पार्टीको आन्तरिक जीवनबारे पनि सोच्न थालेका छन् । म्यारथन शैलीमा बैठकहरु राख्दै आएका प्रचण्डलाई अहिले पार्टीका उपमहासचिव जनार्दन शर्माको प्रस्ताव भने निल्नुन ओकल्नु भएको माओवादीबारे जानकारहरुले टिप्पणी गर्ने गरेका छन् ।
३ दशकदेखि माओवादीको नेतृत्वमा रहेका प्रचण्डले आन्तरिकरुपमा नेताहरुलाई विभाजित गर्दै राज गरिरहेका छन् । लामोसमयसम्म अध्यक्ष हुँदा पनि २०६३ मा भएको शान्ति सम्झौता पछि शान्तिपूर्ण र संसदीय राजनीतिमा उनको प्रभाव भने जम्न सकेको छैन । पहिलो संविधानसभा २०६४ मा बहुमत पाएर पनि काम गर्न नसकेका प्रचण्डले त्यसपछि दोस्रो संविधानसभा र संविधान जारीभएपछिका २ पटकका चुनावमा कहिले एमाले र कहिले कांग्रेसको बैशाखी टेकेर राष्ट्रिय राजनीतिमा आफूलाई उभ्याइरहेका छन् ।
३२ सिटको पार्टी भएर पनि डेढवर्ष बढी प्रधानमन्त्री भएका प्रचण्डले केही माखो मार्न नसकेपछि उनीभित्रै अब विकल्पको खोजी सुरु भएको बुझिएको छ । प्रचण्ड पछिको नेता को भन्ने स्पष्ट खाका नदेखिए पनि दोस्रो पुस्ताका नेताहरुमा जनार्दन शर्मा, वर्षमान पुनहरुले प्रचण्डलाई चुनौती दिन खोजेका छन् । माओवादीका उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा पेस गरेको प्रस्तावमा नेतृत्व हस्तान्तरणको विषय पनि उठाइएको छ । माओवादीमा तीन दशकदेखि प्रचण्डसँगै रहेका शर्माले माओवादीको खस्कँदो जनाधारमा सुधार गर्न नेतृत्वबारे तीन किसिमका परिवर्तन हुनुपर्ने औँल्याएका छन् ।
जसमा नेतृत्व हस्तान्तरण, नेतृत्व पुस्तान्तरण र विशेष महाधिवेशन माग गरिएको छ । ’अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,’ शर्माको नेतृत्व हस्तान्तरणको प्रस्तावमा भनिएको छ ।
उनले प्रचण्डलाई पार्टीको संरक्षकको भूमिकामा रहेर तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने विकल्प पुस्तान्तरणको अवधारणामा अघि सारेका छन् । तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने र महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न सकिने प्रस्ताव गरेका छन् । जनार्दनको नेतृत्व हस्तान्तरणको प्रस्तावमा अर्का उपमहासचिव वर्षमान पुनले पनि समर्थन जनाएको पार्टीका नेताहरूले बताएका छन् ।
प्रचण्डले कहिले बर्षमान त कहिले जनार्दनलाई काखामा राख्दै नेतृत्वमा पकड बनाइरहँदा अन्य नेताहरु पनि यसको कोपभाजनमा पर्ने गरेका छन् । सरकारबाट बाहिरिएपछि भएका बैठक र माओवादीका विभिन्न कार्यक्रममा प्रचण्डले जनार्दनजीले पार्टी फुटाउन लाग्नु भएको छ भन्ने सूचना लिएर आफूकहाँ अरु नेताहरु आउने गरेको सार्वजनिकरुपमै भने पछि जनार्दनले यसलाई पुष्टि गर्नका लागि चुनौती दिए । बैठकमा प्रचण्डले जनार्दनको विषयमा प्रष्टिकरण नै दिनु पर्ने अवस्था आएको थियो । जसोतसो गरेर प्रचण्डले अहिले जनार्दनले पार्टी फुटाउन लागेको कुरामा सत्यता नभएको प्रष्टिकरण दिए पनि जनार्दनले भने यसलाई इखको रुपमा लिएको उनी निकट नेताहरुले बताएका छन् । माओवादीमा जनार्दन शक्तिशाली नेताका रुपमा रहेको बताउने गरिएको छ । जनार्दनसँग ३५ प्रतिशत नेता कार्यकर्ताको समर्थन रहेको बताउने गरिएको छ । त्यसबाट पनि झस्किएका प्रचण्ड जनार्दनलाई चलाउनुको साटो मिल्ने बाटोमा लागेका छन् ।
प्रतिक्रिया