देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मिस्री आए, आरजु जाँदै

देशान्तर


काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालको दुईदिने भ्रमण गरेको ठीक एक सातापछि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँच दिन लामो भ्रमणमा आज आइतबार नयाँ दिल्ली जाँदै छिन् । भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरले पठाएको निम्तामा मन्त्री राणा नयाँदिल्ली जान लागे पनि परराष्ट्र मन्त्रालयले भने यसलाई राजनीतिक नभई स्वास्थ्योपचारको नाम दिएको छ । उनले यसक्रममा रक्षाबन्धनको दिन भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई रक्षाबन्धन (राखी बाँध्ने) समेत उनका निकटवर्ती सूत्रले देशान्तरलाई बताएको छ ।


भारतीय विदेशसचिव मिस्री गत आइतबार काठमाडौं आएका थिए र उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरूलाई पनि भेटेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक समीकरण तथा दुई देशबीचको सम्बन्धका बारेमा छलफल गरेर फर्केका थिए । गत महिनामात्रै भारतको विदेशसचिव नियुक्त भएका मिस्रीले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणको रूपमा नेपाललाई रोजेर दुई छिमेकीबीचको महत्वलाई परिभाषित गर्न खोजिएको कूटनीतिकविद्हरूको ठहर छ । सोही क्रममा विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी राणालाई भारत भ्रमणको निम्ता पठाएका थिए भने सोही निम्तामा उनलेभदौ २ देखि ६ गतेसम्म भारतको भ्रमण गर्ने भएकी हुन् । उनको भारत भ्रमणलाई बिहीबारको मन्त्रिपरिषद्को बैठकलेस्वीकृत गरेको छ ।


राणा र भारतीय संस्थापन पक्षबीच सम्बन्ध राम्रो रहेको बताइन्छ । सत्तासमीकरण फेरबदलमा राणाले नै भारतलाई सकारात्मक बनाएको चर्चासमेत हुने गरेको छ । वर्तमान सरकारसँग भारतको अझै केही रिजर्भेसन, आशंका रहेकाले त्यसलाई चिर्न राणा नयाँदिल्ली जान लागेकी बताइन्छ । तर, परराष्ट्र मन्त्रालयले भने भारत भ्रमणका कुनै पनि एजेन्डा सार्वजनिक गरेको छैन । भारत भ्रमणका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ । उनले कांग्रेस आईका नेता राहुल गान्धीसँग पनि भेटवार्ताका लागि समय मागेको जनाइएको छ ।

भ्रमणको लर्काे
नेपाली कांग्रेस र नेकपा एमालेबीच सातबुँदे सहमति भएर सरकार बनेपछि महत्वपूर्ण विदेशी कूटनीतिज्ञहरूको लर्काे लाग्न सुरु भएको छ । अघिल्लो साता भारतका विदेश सचिव विक्रम मिस्रीले सचिव भएपछि महत्वका साथ पहिलो विदेश भ्रमण गर्न नेपाललाई रोजी राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरू र समकक्षी परराष्ट्र सचिवसँग भेटघाट गरी महत्वपूर्ण छिमेकी भारतले नयाँ सरकार र नेपाललाई महत्व दिएको एक सातापछि विश्वकै महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाका एसियाविज्ञ एवं भारतका लागि अमेरिकाका पूर्वराजदूत रिचार्ड बर्माले एकदिने भ्रमण गरी नेपाल र नेपालको नयाँ सरकारलाई महत्व दिएको सन्देश दिएर गएका छन् । उनले पनि राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतलाई भेटेर नेपाल अमेरिकाको महत्वपूर्ण नजरमा रहेको पुष्टि गर्न खोजेको कूटनीतिविद्हरूको विश्लेषण छ । उनी वर्तमान राष्ट्रपति वाइडेनका विश्वासपात्रको रूपमा चिनिन्छन् ।