काठमाडौं । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका हुन्, पूर्णिमा लामा । गल्छी गाउँपालिका—७ मछेडीखोला, धादिङकी लामा नेपाली गीतसंगीत क्षेत्रकी चर्चित गायिका हुन् । नेपाली गीतसंगीत क्षेत्रको एक चम्किलो तारापूर्णिमा सानै उमेरदेखि नेपाली गीतसंगीत क्षेत्रमा दरिलो खम्बाको रूपमा स्थापित छिन् ।गायिका लामाको आवाजमा यो वर्षमात्रै दर्जनौं गीति संग्रह सार्वजनिक भए। जुन गीतहरूले राम्रो चर्चा बटुलिरहेका छन् ।
उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’ ‘धेरै माया नगर्नु यहाँ कसैलाई’, जस्ता चर्चित गीतहरू लाखौं दर्शक तथा श्रोताको मनमनमा बस्न सफल छन् । छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन्, पूर्णिमा । कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन् । त्यस अर्थमा उनी सफल र भाग्यमानी छिन् । उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’, ‘नाच चेली’लगायतका चर्चित गीतहरूले युट्युबमा मिलियन भ्युज पाएका गीतहरू हुन् ।यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन् । हालसम्म उनको स्वरमा तीन सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।
‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैं अनुशासन पालना गरेर अगाडि बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीतसंगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ ।’ उनी आफूलाई भाग्यमानी ठान्छिन् । उनी सांगीतिक कार्यक्रमहरूमा पनि उत्तिकै व्यस्त छिन् ।
गायिका लामा एपिक संगीत रत्न सम्मानबाट सम्मानित भइसकेकी छिन् । एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी उनले राष्ट्रिय राप्ती म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्डलगायत दर्जनौं अवार्डहरू हात पारिसकेकी छिन् । उनले हङकङ, कोरिया, कतारलगायत दर्जनांै देशहरूमा समेत आफ्नो सांगीतिक प्रस्तुति दिइसकेकी छिन् ।उनीहालैमात्र सांगीतिक कार्यक्रमको सिलसिलामा दुबाई र बहराइन पुगेर फर्किएकी हुन् ।
प्रतिक्रिया