देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेडाको स्मृति र चित्रगुप्तको अदालत


पाँच चोटिको प्रधानमन्त्रीले भाग्नु परेको चित्रगुप्तले नदेख्लान्
तर इतिहास भर्खरै साक्षी बसेर हेरि रहेको छ
आयमूलक नभएको जीवन
भ्रष्टाचार नै जिउने थलो भएको,
माछाको लागि पानी जस्तो
बादसाह भएपछि बादसाही देखाएर
धर्तीमा त के ?
चित्रगुप्तको अगाडि उभिन सक्ने
उद्घोष सुनेर
अभिलेख देवले नै अट्टहास गर्नुपर्ने भएको छ।

एक छाक भात धित मारेर खान
अरूको दैलो चहार्नु पर्ने
न पढाई, न लेखाई, न संस्कार, न मान्यता
उमेरमा आएको कुतकुती र रोमान्टिसिजम्
अरूलाई सिद्ध्याएर मात्र आफू उठ्न सकिन्छ भन्ने आवेग।

गोजीमा सुका नहुँदा पनि
बोली बेचेर खादै आएको अभ्यस्तता
निर्लज्जता, फटाई, लिच्चडपना र बेइमानी
मुलुक दोहन एजेन्डा बोकेको मान्छेले
बोल्नु हो बोलिदिन्छन्,
के जान्छ र त्यसमा?
सिमेन्ट मुछ्ने काम दिने प्राथमिकता
१७ अर्बको भ्यु टावर बनाउँछन्
बाढी पहिरोको यो भयावह स्थिति
अझै यस्ता रोमाञ्चित डायलग सुनेर थपडी बजाउनेहरू
किन्ने मान्छेहरू
धेरै हुन सक्छन् लोभिएका
जतिसुकै नमेटिने घाउ मुलुकलाई किन नलागेको होस्?

भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता
आफू सधैँ निष्ठापूर्वक रहेको
केवल जनजीविका रूपान्तरण गर्नको लागि
यस्तो प्रतिबद्धात्मक व्याख्या धेरैले गरेका छन्
कुनै बेलाको उत्कृष्ट थियो विजय गच्छदारको
पछि ललिता निवास जग्गा लुटेकोमा जेल परे
तर त्यही जग्गा, त्यही लुटमा निर्णय गर्ने ठालु शासक
मुलुकमा निक्खरा चोखो हुने
यस्तै यस्तै काण्डै काण्ड गरेर
प्रकाण्ड बनेकाहरूले
आधा गिनिज बुक भरेका छन् यहाँ

प्रधानमन्त्रीले भ्रष्टाचार गरे नीतिगत निर्णय हुने
गजबको नियम बनाइसकेका उनले
भ्रष्टाचारको गन्ध नै सहन नसक्ने
फेरि समयको अन्तरालपछि
भ्रष्टाचार विरुद्धको आफ्नो शून्य सहनशीलताको
एकपछि अर्को व्याख्या गरिरहेका छन्
भ्रष्टाचार पचाउन नीतिगतबाट नपुगेर
भ्रष्टाचारको हदम्याद तोक्न हिँडेका व्यक्ति
चित्रगुप्तको अगाडि उभिन तयार छन्
कसैको अगाडि किन उभिनु पर्ने?
न मिथकीय चित्रगुप्तको
न ऐतिहासिक चन्द्रगुप्त बन्न खोज्नेको अगाडि
आफूभित्रको आफ्नै अगाडि उभिने हो

दसैँ यिनीहरूको, दशा यो देशको
नियति हाम्रो, नियति यस मुलुकको
स्वर्ग गए पनि, नर्क गए पनि
एक्लै गए पनि, कसम बाँधेर सँगै गए पनि
सबभन्दा बढी प्रधानमन्त्री पद मुखले बाँड्ने
बामदेवलाई त दर्जनौँ पटक बाँडे
बोल्नमा केही छ भन्ने भएको भए
तुइन उहिले हटी सक्थ्यो
कुस्मामा रेल्वे स्टेसन बनी सक्थ्यो
पानी जहाज आइसकेको हुन्थ्यो
पिटिक्क गर्ने बित्तिकै घरघरमा ग्यास,
लामो फिरिस्त, के के हो के के?
बोल्नमा के जान्छ र!
खरिद गर्ने छन् भने भोट बढ्छ
छैनन् भने नोक्सान हुँदैन
‘भेडा’को स्मरण शक्ति नै के हुन्छ र?