काठमाडौं । चितवन महाधिवेशनबाट तानाशाही रूपमा अध्यक्ष बनेका केपी शर्मा ओलीको पार्टी एमालेमा त्यसपछि भएका निर्णयहरूलाई सर्सर्ती नियाल्ने एमाले निकट बुद्धिजीवी एवं शुभेच्छुकहरूले नै पार्टीमा उनले एकलौटी रूपमा निर्णय गरेको बताउन थालेका छन् । सरकारमा मन्त्रीहरू पठाउँदा होस् वा हालसालै पार्टीका पदाधिकारी, स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गर्दा आफू निकटबाहेक कसैलाई स्थान नदिएको एक पदाधिकारीले देशान्तरलाई बताए । त्यसमा पनि पार्टी विभाजन हुनुभन्दा अगाडि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नजिक रहेका र विभाजन हुँदा एमालेमै फर्किएकाहरूलाई त उनले सौतेनी व्यवहार देखाइरहेको पीडितहरूको गुनासो छ ।
पार्टीका पदाधिकारीहरूले मन्त्रीका लागि ठिक्क पारेका केही नाम पनि ओलीले अन्तिम समयमा काटिदिए र आफूले जसलाई चाहे उनैलाई मन्त्री बनाए । पदाधिकारीहरूले योगेश भट्टराई, ठाकुर गैरे, छविलाल विश्वकर्मालगायत नेताको नाम मन्त्री बन्ने सूचीमा राखेका थिए । तर ओलीले अन्तिम समयमा देवेन्द्र दाहाल, पृथ्वीसुब्बा गुरुङलगायतलाई मन्त्री बनाए र पदाधिकारीले छानेको नाम हटाइदिए ।
आफू निकटलाई काखी च्याँप्ने र उनको निर्णयमा फरक मत राख्नेलाई पर्गेल्ने ओलीको पुरानै चरित्र हो । त्यही चरित्र गत साता बसेको सचिवालयको बैठकमा पनि दोहो¥याए र आफूले जसलाई चाहे उनैलाई पदाधिकारी र पार्टीको जिम्मेवारी दिए । सुवास नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्षमा ओलीले आफ्नो व्यक्तिगत निकटताकै आधारमा मोरङका गुरु बराललाई मनोनीत गरिदिए । ओलीले सुरुमा बराललाई राष्ट्रपति बनाउन चाहन्थे । तर, राष्ट्रपतिको चुनावअघि गठबन्धन फेरिएकाले ओलीले नेम्वाङलाई उम्मेदवार बनाए । त्यतिबेला ओलीले बराललाई बागमती प्रदेश इन्चार्ज बनाएका थिए । पहिलेदेखि नै ओलीका निकट बरालले पार्टीमा बारम्बार अवसर पाउँदा भने उनीसँग असहमत थुप्रै नेता जिम्मेवारीबाट वञ्चित भएका छन् । ओलीकै चाहनामा एकीकृत समाजवादीबाट पार्टीमा फर्किएका मुकुन्द न्यौपाने र पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत भएका छन् ।
ओलीले सचिवालय बैठकबाट सातवटै प्रदेशका इन्चार्ज पनि फेरबदल गरेका छन् । शेरधन राईलाई कोशी प्रदेशको इन्चार्ज बनाइएको छ । त्यस्तै, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश इन्चार्ज बनाइएको छ भने राजन भट्टराईलाई बागमती प्रदेश इन्चार्ज बनाइएको छ। गण्डकी प्रदेशको इन्चार्जमा किरण गुरुङ, लुम्बिनीको इन्चार्ज पद्माकुमारी अर्याल, गोरखबहादुर बोगटी कर्णाली र लेखराज भट्ट सुदूरपश्चिम प्रदेश पार्टी इन्चार्ज बनाइएका छन्।
मधेस प्रदेशको इन्चार्जबाट हटाइएका रघुवीर महासेठलाई विदेश विभाग प्रमुख बनाइएको छ । महासेठको चाहनामा नै ओलीले विदेश विभागको जिम्मा लगाएका हुन्, त्यसअघि विदेश विभागमा रहेका भट्टराई सबैभन्दा महत्वपूर्ण मानिने बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । भट्टराई ओलीका विदेश मामिला सल्लाहकारसमेत हुन् भने महासेठलाई यसअघिको सरकारमा ओलीले नै उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाएका थिए ।
प्रतिक्रिया