देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीज गीत हुन् कि रत्यौली गीत ?


काठमाडौं । चर्चित हास्य कलाकार जितु नेपालले शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखे कठैबरा तीजका गीत सेनेटरी प्याड, मायाँको पोको, संगिनी सुई हुँदै विस्तरामै पुगेछ अब कहाँकहाँ पुग्ने हो कसरी हेर्ने होला ? त्यसैगरी सर्जक शिव पलाँसले केही दिन पहिले लेखेका थिए जति छाडा र दुई अर्थी गीत निकाल्न सक्यो उति महान् कलाकार ! जति नांगो नाच्यो उति हिट ! गहना त गहना सुनको कि फलामको ? सुनको जलप लगाएको फलामको गहनाले समाज दूषित बनाउँछ कि संस्कृतिको जगेर्ना गर्छ !? 

यी त उदाहरण मात्र हुन् अहिले सामाजिक सञ्जालमा दैनिक हजारौंले तीजका अवसरमा सार्वजनिक गरिएका विवादित गीतसँग सम्बन्धितलाई आलोचना र गाली गर्दै आएका छन् । अघिल्ला वर्षहरूका तीज पर्वका बेला सार्वजनिक भएका गीतहरू विवादित नबनेका हैनन् तर त्यसबाट पाठ सिकेर मौलिकताको जगेर्नामा लाग्नुको साटो यसवर्ष सर्जक कलाकारहरूले संस्कृतिलाई झन्झन् विकृत गराउँदै लगेको भनेर सर्वत्र आलोचना भइरहेको हो । 

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले त तीजलाई लक्षित गरी बजारमा ल्याइएका पाँच गीतले विकृति भित्र्याएको भन्दै प्रचारप्रसारमा प्रतिबन्ध नै लगाउने निर्णय गर्‍यो । अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यस्ता विकृतिजन्य गीतहरूले नेपालको धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रमाथि क्षति पुग्ने उल्लेख छ । सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्युजिक भिडियो निर्देशक समाज नेपाल, म्युजिक भिडियो कलाकार संघ नेपाललाई बोधार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरूलाई विकृति ल्याउने गीतहरूलाई प्रचारप्रसार नगरिदिनु अनुरोधसमेत छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले कविता खत्री र भागीरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’, प्रीति आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, शान्तिश्री परियार र हरि गिरी विमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’ र प्रीति आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’लाई प्रतिबन्ध लगाएको जनाएको छ ।

यता गीतको शब्द विवादमा तानिएपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन् । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि बुधबार विज्ञप्ति निकालेर उनले माफी मागिन् । उनले विज्ञप्तिमा आगामी दिनमा गीत गाउँदा शब्द, संगीत छनोट गर्ने वाचासमेत गरेकी छिन् । यस्तै प्रीति आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’को विवादित शब्द काटेर फेरि सार्वजनिक गरिएको छ । तर सामाजिक सञ्जालमा यी गीतसँग सम्बन्धित पक्षले तीव्र आलोचनासँगै सुन्नै नसकिने गालीको वर्षासमेत पाएको छ । प्रीति बेलाबेलामा विवादमा मुछिरहने गर्छिन् । उनी केही वर्षअगाडि पनि विवादमा परेकी थिइन् । त्यतिबेला प्रतिष्ठानले उनलाई ६ महिना निलम्बन गरेको थियो । म्युजिक भिडियो निर्देशक समाजले तीज गीतका नाममा बढ्दो विकृतिलाई सबै मिलेर निरुत्साहित गर्न अपिल गरेको छ । अध्यक्ष बविता श्रेष्ठ मलेकूले जारी गरेको अपिलमा हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै अहिले बजारमा निकै अभद्र खालका शब्द चयन गरी अडियो निर्माण भएको छ अडियो बनेपछि भिडियो बन्ने नै हो निर्देशकहरूले अडियोअनुसार नै भिडियो निर्माण गर्ने हो त्यसैले यो विषयलाई मध्यनजर गरी पहिला गीतकारले गीत राम्रो लेख्नुपर्‍यो अनि बल्ल गायकगायिकाकोमा गीत पुगेर पारिश्रमिक लिएर गाउने हो दोष जति म्युजिक भिडियोलाई लगाउनु गलत हो । पहिला अडियो सभ्य र भव्य बनाऊ अनि त्यहीअनुसारको म्युजिक भिडियो निर्देशकज्यूहरूले निर्माण गर्नुहुन्छ । तर अडियो एकातिर भिडियो भाइरल बन्ने चाहना बोकेर नबनाउनु हुन्न निर्देशकज्यूहरूमा आग्रह छ भनिएको छ । 

अधिकांशले तीज गीत भनेर सार्वजनिक गरिएका यस्ता गीतलाई रत्यौलीभन्दा पनि छाडा गीत भनेर आलोचना गरिरहेका छन् । तीजका गीत तथा भिडियो द्विअर्थी, अश्लील तथा अपाच्य भएको भन्दै चौतर्फी टिप्पणी हुन थालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अमर्यादित गीत सार्वजनिक गर्ने कलाकारलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । लोक तथा दोहोरी र तीज गीतका नाममा विकृति र विसंगति फैल्याउने कलाकारलाई प्रतिष्ठानले स्पष्टीकरण सोध्ने भएको हो । प्रतिष्ठानका पदाधिकारीहरूको बैठकले आफ्नो संस्थाभित्रका सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अध्यक्ष रीता थापाले जानकारी दिएकी छन् । 

गीतसँगै प्रस्तुति र भिडियो पनि अश्लील भएको गीतको सन्दर्भमा त्यस्ता गीत सच्याउन र सकेसम्म डिलिट गरिदिन आग्रह गर्ने र प्रतिष्ठानमा आबद्ध सर्जक तथा स्रष्टालाई संस्थाको सुविधाबाट वञ्चित गरिने उनले बताएकी छन् । प्रतिष्ठानले केही दिन अगाडिमात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर लोक तथा दोहोरीको क्षेत्रमा देखिएको विकृति न्यूनीकरणका निम्ति आग्रह गरेको थियो । नेपाली चलचित्रका महानायक राजेश हमाल अभिनीत विशाल सोनी र शान्तिश्री परियारको स्वर रहेको ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’ बोलको गीत पनि विवादित बनेको छ । सोनीले यसअघि सार्वजनिक गरेको घन ठोकाई बोलको गीतको पनि तीव्र आलोचना भएको थियो । कतिपयले उनलाई जानीजानी विवादित गीतबाट चर्चा बटुल्न खोज्ने पात्र भएको बताउँछन् । 

सार्वजनिक भएका विवादित गीतहरूप्रति धेरैले सामाजिक सञ्जालमार्फत आलोचना गर्दै सुन्नै नसकिने हेर्नै नसकिने भद्दा भएको टिप्पणी गरेका छन् । लामो समयदेखि भिडियो सम्पादन गर्दै आइरहेका विण्णु शर्माले तीज गीतमा अश्लीलता बढेको प्रति चिन्ता व्यक्त गर्दै तीज गीतलाई कलाकारले छाडा नबनाओ अनि छाडा गीतलाई दर्शकले तीज गीत भनेर नहेरओ भनेका छन् । उनले तीजलाई तीज नै रहन दिन र आधुनिकताका नाममा विकृत नबनाउन भन्दै चेलीले सारी लाकै राम्रो हो नि तीजमा त भनेका छन् । लोकगायक भगवान भण्डारीले पनि तीज गीत भनेर गाएपछि तीज पर्वसँग कतै न कतै त सम्बन्ध हुनु पर्‍यो नि चेली भनेर पोस्ट गरेका छन् । (देशान्तर साप्ताहिकबाट)