देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 सिग्देल प्रधानसेनापति बन्ने निश्चित

देशान्तर

काठमाडौं । नेपाली सेनाका वर्तमान प्रधानसेनापति महारथी प्रभुराम शर्माले तीनवर्षे कार्यकाल पूरा गरी आगामी भदौ २५ मा अवकाश लिँदै गर्दा सेनाको कमाण्ड अब वर्तमान बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने निश्चित भएको छ । 

शर्मा साउन २५ देखि नै घर बिदामा बस्ने भएपछि सरकारले केही दिनअघि नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा सिग्देललाई नियुक्त गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई गत बुधबार कायममुकायम प्रधानसेनापति तोकेका हुन् ।

राष्ट्रपति पौडेलले ज्येष्ठता आधारमा सिग्देललाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसका आधारमा नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोकेका हुन् । प्रधानसेनापतिको रोलक्रममा रहेका रथी सिग्देललाई रोक्न एकथरीले उनको नागरिकता विवाद झिकेका थिए । तर प्रधानसेनापति शर्मा आफंैले अग्रसरता लिएर गरेको सोधीखोजीमा सिग्देलको नागरिकतामा कुनै कैफियत भेटिएको थिएन । यसबारे नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत सिग्देलको नागरिकतामा जन्ममिति विवाद नरहेको प्रस्टीकरणसमेत दिएको थियो । 

यसअघिका बढुवा र नियुक्तिका बेला पनि यस प्रकारका विवाद आउने गरेका थिए । तर ती विवादहरू प्रमाणित हुने आधार भेटिएका थिएनन् । सिग्देलको सन्दर्भमा पनि विवाद निकालिएको मात्र देखिएको छ । उनले कायममुकायम पाएपछि अब नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित भएको हो । 

बलाधिकृत सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उनले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् । सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनीसँग काउन्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गरेका थिए ।

उनले कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको सचिवका रूपमा पनि उनले काम गरेका थिए भने संगठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रूपमा परिचय बनाएका छन् । उनले सैनिक संगठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरूप उनी सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित छन् । संगठनको उन्नयनमा उत्कृष्ट योगदान पुर्‍याएबापत उनले दुईपटक ‘प्रधानसेनापति प्रशंसा पदक’समेत पाएका छन् । (देशान्तर साप्ताहिकबाट)