देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारूढ भएपछि कांग्रेसको बैठक 

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताबिच भएको सहमतिपछि साउन २३ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएको हो । कांग्रेस महामन्त्री गगन थापाका अनुसार केन्द्रीय समिति बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेन्डा बन्नेछ । 

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी भइरहेको महामन्त्री थापाले बताएका छन् ।

सत्तामै रहेका बेला आयोजना भएको (गत फागुन ७–१०) महासमिति बैठकमा पेस भएकै प्रतिवेदनका कारण माओवादीले कांग्रेससँग सम्बन्धविच्छेद गरेको बताउने गरेको थियो । उक्त महासमिति बैठकमा पेस भएको प्रतिवेदनमा आउँदा चुनावहरूमा गठबन्धन नगर्ने, माओवादीको जनयुद्धप्रतिको टिप्पणीका साथै हिन्दु राज्यको विषयमा भएको हस्ताक्षर अभियानका कारण माओवादीले कांग्रेससँग सम्बन्ध तोडेको जनाएको थियो । हिन्दु राज्यका विषयमा हस्ताक्षर संकलन भए पनि दस्तावेजीकरण भएन । अन्य विषयहरू दस्तावेजमै आएपछि सत्ता समीकरण बदलेर माओवादीले एमालेसँग गठजोड गरेपछि लोलाएको कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सरकारमा सामेल भएपछि बल्ल संगठनको आवश्यकता महसुस गरेको हो । प्रतिपक्षमा भएका बेला संस्थापन पक्षले गाली खाने डरले विधानअनुसार दुई -दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक धकेल्दै आएको थियो । तर, अहिले अवस्था सहज भएपछि सभापति देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । 

केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी भइरहेको महामन्त्री थापाले बताए । 

फागुन १० मा कांग्रेसले महासमिति बैठकबाट पारित गरेको चुनावअघिको गठबन्धन नगर्ने विषयलाई कारण देखाउँदै २१ फागुनमा माओवादी सुप्रिमो प्रचण्डले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै एमालेसँग सत्ता समीकरण गरेका थिए ।

 कांग्रेसले महासमितिबाट जुन मार्गचित्र तयार गरेको थियो, त्यसमा अन्य दलहरू पनि सहमत भएका छन् र कम्तीमा आगामी चुनावमा कुनै पनि दलहरूबीच गठबन्धन नहुने संकेत देखिएको छ । 

संगठन परिचालन र विस्तारबारे महासमिति बैठकमा व्यापक छलफल भए पनि यसबीचमा सत्ता समीकरणमा अल्झिँदा कांग्रेसले यसबारेमा भने खासै ध्यान दिएन । अब भ्रातृ संस्थाको महाधिवेशन गर्नेदेखि पार्टी अभियानलाई वडा तहसम्म पुर्‍याउने योजना बनाउने नेताहरूले बताएका छन् । 

केन्द्रीय समितिको अघिल्लो बैठकले नै समयतालिकासहितको कार्ययोजना अर्थात् पार्टीको क्यालेन्डर निर्माण गरे पनि त्यसको पनि सही कार्यान्वयन हुन सकेको छैन । क्यालेन्डर कार्यान्वयनका लागि आगामी बैठकले जोड दिने नेताहरूले बताएका छन् । 

त्यस्तै, एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनुको कारण, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कार्यशैली र योजना तथा संविधान संशोधनका लागि कांग्रेसले अघि सार्ने एजेन्डा र अवधारणा पनि बैठकले तय गर्ने नेताहरूको भनाइ छ । (देशान्तर साप्ताहिकबाट)