देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बोर्ड अध्यक्षमा डीसी कि मानन्धर !

देशान्तर

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षको दौडमा रहेका झन्डै आधा दर्जन आकांक्षीहरूमा सञ्चारकर्मीसमेत रहेका चलचित्रकर्मी दिनेश डीसी र अभिनेत्री करिश्मा मानन्धरमध्ये एकको सम्भावना बलियो रहेको चलचित्रकर्मीहरूले बताएका छन् । कांग्रेस–एमाले गठबन्धनको संयुक्त सरकार भए पनि तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एमालेको भागमा परेकाले कांग्रेस निकटका आकांक्षीले भन्दा एमाले निकट चलचित्रकर्मीले अवसर पाउने र त्यसमध्ये पनि प्रधानमन्त्री ओलीसँग सीधै सम्पर्क बनाएका डीसी र मानन्धरमध्ये एक अध्यक्ष हुने आंकलन चलचित्रकर्मीको छ । 

बोर्ड अध्यक्षको आकांक्षीमा चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, संघका पूर्वसदस्य तथा चलचित्र निर्माता अर्जुन कुमार, सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, निर्माता तथा निर्देशक नरेश पौडेललगायत रहे पनि एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षसमेत रहेका डीसीको सम्भावना बलियो देखिएको छ । उनलाई पार्टीको तर्फबाट संघले अध्यक्षको लागि सिफारिस पनि गरेको छ ।

उक्त सिफरिस प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अलावा एमाले पार्टी कार्यालयमा पनि पुगेको छ । एमालेको साधारण सदस्यसमेत रहेका डीसीले अघिल्ला अध्यक्षहरू केशव भट्टराई र दयाराम दाहाललाई सिफारिस गराउन पनि भूमिका खेलेका थिए । अहिले नेताहरूसँग एकल भेटघाट बढाइरहेका डीसी पनि आफू अध्यक्ष बन्नेमा विश्वस्त देखिन्छन् तर प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रेन्ड हेर्दा अन्तमा करिश्मा मानन्धर बोर्ड अध्यक्ष भएमा आश्चर्य नहुने चलचित्रकर्मीहरूको टिप्पणी छ ।

डीसी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकटका रूपमा परिचित भएको र आफ्नै कार्यकालमा, राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्य सचिव महिला बनाएको जश लिने ओलीले बोर्ड अध्यक्षमा महिला अध्यक्ष पठाउन सक्ने चलचित्र पत्रकारहरूको तर्क छ । यद्यपि करिश्मा बोर्ड अध्यक्ष नियुक्त भएमा पहिलो महिला भने हुने छैनन् । यसअघि निकिता पौडेल बोर्ड अध्यक्ष भइसकेकी छन् । 

साउन ९ गते भुवन केसीको बिदाइसँगै चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सी खाली छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले योग्यता पुगेका चलचित्रकर्मीका लागि दरखास्त आह्वान गरिसकेको छ । सबैभन्दा पहिलो औपचारिक दाबेदारी दिनेश डीसीले प्रस्तुत गरिसकेका छन् । डीसीले विकास बोर्ड अध्यक्षका लागि आवेदन दिइसकेका छन् । डीसीले आफ्नो आवेदनसँगै ६९ बुँदे कार्ययोजनासमेत प्रस्तुत गरेका छन् ।

डीसीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालदेखि स्वकीय सचिव राजेश वज्राचार्य मार्फत पनि आफ्नो लविङ तीव्र पारेका छन् भने मानन्धर एमाले नेता रघुजी पन्त र नेतृ कोमल ओलीलगायतको डेलिगेसनसहित सञ्चारमन्त्री गुरुङलाई भेट्न पुगेकी थिइन् । करिश्माले प्रधानमन्त्री ओलीलाई पनि भेटिसकेकी छन् । महर्जनले एमालेका प्रमुख सचेतक महेश बर्तौला र बागमती सरकारका पूर्वमुख्यमन्त्री डोरमणि पौड्याललाई लिएर सञ्चारमन्त्रीकहाँ लविङ गर्न गएका थिए ।

(देशान्तर साप्ताहिकबाट)