काठमाडौं । चार दशक लामो नेपाल पौडी संघको नेतृत्व गरेका विवादित अशोकरत्न वज्राचार्यले पुनः पौडी खेलको विकासमा अवरोध गर्ने अर्काे प्रपञ्च रचेका छन् ।
नेपाल पौडी संघको साधारणसभा नै नगरी विभिन्न बहानामा आफंै नेतृत्वमा आसीन रहँदै आएका वज्राचार्य पौडी खेलको विकासभन्दा पनि व्यक्तिगत लाभ लिन तल्लिन देखिन्थे । नयाँ खेलकुद विकास ऐन २०७७ तथा खेलकुद विकास नियमावली २०७९ बमोजिम नेपाल पौडी संघको गत वैशाख ८ गते सम्पन्न निर्वाचनले वज्राचार्यलाई बिदाइ गर्नुको साथै तत्कालीन महासचिव जगतमान श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेपश्चा्त वज्राचार्य बेचैन थिए । ४२ वर्षपछि वज्राचार्य पौडी संघको नेतृत्वबाट बिदा भएका थिए । चार दशकमा उनले तीन पटक मात्रै संघको साधारणसभा गराएका थिए । अधिवेशनको उद्घाटन समारोहमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ प्रमुख अतिथि र एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठ विशिष्ट अतिथि थिए । राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलको नेतृत्वमै अधिवेशनले निर्वाचन समिति बनाएको थियो, जसको सदस्यमा एनओसीका प्रतिनिधि रमेश शिवाकोटी पनि थिए ।
अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका वज्राचार्यले हार निश्चित देखेपछि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । श्रेष्ठ सर्वसम्मत अध्यक्ष बनेका थिए । अधिवेशनपछि नयाँ कमिटीले वल्र्ड इक्वेस्टिकसँग समन्वय गर्न वज्राचार्यलाई नै जिम्मा दियो । तर, उनले पौडी संघमा नयाँ नेतृत्व आएको अन्तर्राष्ट्रिय निकायहरूलाई जानकारी नै गराएनन् । उल्टै आफू नै अध्यक्ष रहेको फर्जी कागजपत्र बनाएर पत्राचार गरेको निर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।
पौडी संघको अध्यक्षका रूपमा वज्राचार्य पेरिस पुगिसकेका छन् । ओलम्पिकमा जुडो, टेबुलटेनिस र सुटिङका अध्यक्ष पनि गएका छन् । एनओसीले पेरिस पठाउन वज्राचार्यसहित २९ जनाको सूची राखेपमा पठाएको थियो, जसलाई राखेपले स्वीकृति दिएको थियो ।
वज्राचार्यले आफ्नो कार्यकालको जिन्सी तथा कागजात नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुका सट्टा उल्टै आफं अध्यक्ष भनी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्मा समेत नेपाल पौडी संघको लेटर प्याड र छाप दुरुपयोग गरेको संघले जनाएको छ । नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीको प्रत्यक्ष रोहबर र संलग्नतामा सम्पन्न अधिवेशनको विरुद्ध गरिएको गतिविधिलाई सम्बन्धित पक्षहरूलाई बढावा नगर्न, नगराउन अनुरोध गरिएको छ । बज्राचार्यले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलमा नेपालको तर्फबाट सहभागी हुने पौडी खेलाडीहरूको तालिम तथा खेल सामग्रीका लागि आर्थिक सहयोग माग गर्दै मिति २०८१ असार १५ गते ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्मा नेपाल पौडी संघको लेटरप्याड र छाप दुरुपयोग गरेका थिए ।
प्रतिक्रिया