देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गड्तौलाले इतिहास रचिन्

देशान्तर


काठमाडौं । आधा आकाश ढाक्ने महिलाहरू विगतका चुलोचौकामा मात्रै सीमित भएको भन्दै हेलाँको दृष्टिले हेर्ने नेपाली समाज क्रमशः बदलिँदै गएको छ, फलस्वरूप नेपाली महिलाहरू उच्च तहको नेतृत्वमा पुगेर इतिहास रचेका पनि छन् । नेपाली महिलाहरूले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, सचिवजस्ता पदहरू यसअघि नै सम्हालेर उदाहरणीय काम गरिसकेका छन् भने पछिल्लो समय यो सूचीमा नेपालको प्रशासनीय संयन्त्रको प्रमुख पद मुख्यसचिवमा पनि महिलाको नियुक्ति भएर नयाँ इतिहास रचिएको छ ।
भ्रष्टाचारको मुद्दामा निलम्बनमा पर्नुअघि निजामती प्रशासनको कमान्ड सम्हाल्ने २६ आंै मुख्यसचिव डा. वैकुण्ठ अर्यालसम्म आइपुग्दा कर्मचारी संयन्त्रको सर्वोच्च पदमा महिलाहरू पुग्न सकेका थिएनन् तर करिब एकमहिने कार्यकाल भए पनि लीलादेवी गड्तौलाले उक्त पदमा पुगेर इतिहास रचेकी छन् ।


आगामी भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी गड्तौला नेपालको प्रशासनिक इतिहासमा निमित्त कायम मुकायम हँुदै पहिलो महिला मुख्य सचिव बनेकी हुन् । कांग्रेस एमालेको समीकरणपछि बनेको सरकारको असार ३१ गतेको पहिलो बैठकले गड्तौलालाई कायममुकायम मुकरर गरेको थियो भने अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेको हो ।
तेह्रथुमको साबिकको पिप्ले हाल म्याङलुङ गाउँपालिकामा जन्मिएकी लीलादेवीले २०५२ सालमा न्याय सेवामा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी हुन् । उनी २०६३ मा उपसचिवमा बढुवा भएकी गड्तौला २०६९ सालमा सहसचिवको लिखितमा नाम निकालेको पनि अन्तर्वार्तामा असफल भएकी उनी २०७० मा खुला प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकालेकी थिइन् । सहसचिव भइसकेपछि उनको पहिलो पदस्थापन निर्वाचन आयोगमा भएको थियो । २०७७ कात्तिकमा उनको सचिवमा बढुवा भएको थियो । दुई वर्ष उनले नेपाल कानुन आयोगमा सचिवको जिम्मेवारी सम्हालेपछि लीलादेवी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएकी थिइन् । एकातर्फ पहिलो पटक प्रशासनिक कमान्ड महिलालाई दिएको भन्दै वर्तमान सरकारको प्रशंसा भइरहेको छ भने अर्कोतर्फ कतिपयले यसलाई निजामती सेवाको इतिहासमा मेरिटाक्रेसीको हत्या भएको भनेर पनि आलोचना गरेका छन् ।


प्रशासनिक क्षेत्रमा गड्तौला पहिलो महिला भएजस्तै यस अघि राजनीतिक, संवैधानिक र अन्य निकायमा पनि महिलाहरू सर्वोच्च पदमा पुगेका छन् । नेपालको निर्वाचित महिला सांसद र पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी हुन् भने नेपालको पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य बन्दा गणतन्त्र स्थापनापछि पहिलो महिला राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले दुई कार्यकाल पूरा गरिसकेकी छन् । शैलजा नेपाली कांग्रेसको उपसभापति हुने पहिलो महिला पनि हुन् ।
यसैगरी पहिलो महिला राजदूत विन्देश्वरी शाह र सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले आफ्नो कार्यकाल सम्पन्न गर्दा ओनसरी घर्तीमगरले नेपालको पहिलो महिला सभामुखको जिम्मेवारी पूरा गरेकी थिइन् । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला नेपालको पहिलो प्रदेश प्रमुख बन्दा नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा अष्टलक्ष्मी शाक्यको नाम दर्ज भएको छ । २०७४ सालमा २० वर्षपछि भएको स्थानीय तह चुनावमा जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा जितेकी कांग्रेसकी कान्तिका सेजुवाल पहिलो महिला मेयर बनेकी थिइन् भने महानगरपालिकातर्फ पहिलो महिला मेयर रेणु दाहाल हुन् ।