काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसार्इंसँग दुई करोडको डिल गरेको अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको अनुशासन आयोग र पार्टी केन्द्रीय कमिटीले कारबाही गर्दै उनको पद खोस्यो । यस्तै पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी बिग्रेको र सच्चिनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाउँदा अनुशासन आयोगले ढकाललाई निलम्बन गर्दै केन्द्रीय समिति बैठकले कारबाही गर्ने निर्णय ग¥यो तर कुनै पनि घटना भएको २४ घण्टाभित्र स्पष्टीकरण सोधेर तत्काल कारबाही गर्ने प्रावधान पार्टीको विधानमा राखेको रास्वपाले सभापति रवि लामिछानेको विवाद र रास्वपाबाट उपसभामुख भएकी इन्दिरा रानामगरको विवादमा भने फरक नीति अपनाउँदै विज्ञप्ति, प्रष्टीकरण हुँदै सदनमा पनि बचाउमा सक्रिय भएको छ ।
रास्वपाले र पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमार्फत उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रसम्बन्धी विवाद कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास हुन सक्ने दाबी गरेको छ । उपसभामुख मगरले भिसाका लागि पत्र लेख्दा कुनै आर्थिक लेनदेन भएको तथ्य र प्रमाण नभेटिएको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ सुरक्षित रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर पीडित भनिएकीमध्ये एक महिलाले नौ लाख बुझाएको तर पछि फिर्ता लिएर हिसाव मिलान भएको भन्ने अडियोसमेत सञ्चारमाध्यमले फेला पारेका थिए । आरोपित रानाले यस्मा आफ्नो कुनै दोष नभएको जिकिर गर्दै आएकी छन् आफू सहभागी हुने कार्यक्रममा अन्तर्वार्ताको प्रि–डेटको सिफारिसका लागि केही मान्छे धाइरहेपछि पहिलाको अभ्यासअनुसार नै सिफारिस गरेको उपसभामुख रानाको तर्क छ ।
पार्टी सभापति लामिछानले सदनमा बोल्दै उपसभामुखजस्तो गरिमामय पद र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई विभिन्न विवादमा मुछेर चरित्र हत्या गेको दाबी गरेका थिए । यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले पनि सदनमा रानाको बचाउ गर्दै विभिन्न तरिकाले फसाउन खोजिएको भन्दै संवैधानिक निकायमा भाग नपुगेर सरकारले उपसभामुखलाई हटाउने निउ गरेको आरोपसमेत लगाएकी थिइन् । उपसभामुखको विषय उठेपछि पार्टीले विभिन्न चरणमा औपचारिक र अनौपचारिक छलफल गरेको र क्लिन रहेको भन्दै कुनै पनि कारबाही र छानबिन नगर्ने यो विषय पार्टी विधानभन्दा बाहिरको भएको रास्वपाको भनाइ छ । पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी हुन् । आफ्नो लेटरहेड प्रयोग गरी भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन उनले आग्रह गरेकी थिइन् ।
कमिसन अन द स्टाटस अफ वुमेनको ६७औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा उपसभामुख मगरले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्तीमगर र धनप्रसाद गुरुङलाई लैजाने खोजेकी थिइन् तर दूतावासले उनीहरूलाई भिसा दिएको थिएन ।
पत्र सार्वजनिक भएपछि उपसभामुख रानाले पदीय आचरणविपरीतको कार्य गरेकाले राजीनामा दिनुपर्ने माग अन्य दलका सांसदहरूले गर्दै आएका छन् । यसबारे राज्यव्यवस्था समितिमा पनि उजुरी परेको छ ।
प्रतिक्रिया