काठमाडौं । नेपाली आकाश असुरक्षित रहेकै कारण युरोपियन संघले नेपाली हवाईजहाजलाई प्रतिबन्ध लगाउँदै आएको छ । आइकाओले विभिन्न चरणमा नेपालको हवाई सुरक्षा प्रणालीमा प्रश्न उठाउँदै सुधारका लागि पटक–पटक आग्रह गर्दा पनि अहिलेको नेतृत्वले नटेर्दा झनै समस्या बढ्दै गएको छ । पछिल्लो समय सौर्य एयरलाइन्सको हवाईजहाज दुर्घटनामा १८ जनाको मृत्यु भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशनक प्रदीप अधिकारीलाई निलम्बन गरेर छानबिन गर्न सांसदले सरकारलाई निर्देशन नै दिएका छन् ।
विमान पूर्वनिर्धारित तालिकाअनुसार विस्तृत परीक्षण र मर्मत गर्न काठमाडौं विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजान उडान भर्ने क्रममा बुधबार काठमाडौं विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जहाजमा सवार १९ यात्रुमध्ये एकजना पाइलटको मात्र उद्धार गर्न सम्भव भएको थियो ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा सांसदहरूले सि चेक (विस्तृत परीक्षण) का लागि उड्न लागेको विमानमा गैरप्राविधिक र बालकलाई समेत यात्रु बनाएर उड्न दिइएकोमा प्राधिकरणको गम्भीर लापरबाही भएको भन्दै निलम्बनको माग गरेका हुन् ।
बैठकमा सांसदहरूले विमानस्थलभित्रै ठूलो दुर्घटना हुँदा पनि प्रभावकारी रूपमा उद्धार संयन्त्र परिचालन गर्न नसकेको भन्दै प्राधिकरणका महानिर्देशक अधिकारीसहितका जिम्मेवार पदाधिकारीलाई विमान दुर्घटनाको सत्यतथ्य प्रतिवेदन सार्वजनिक नहुँदासम्म निलम्बन गर्न सांसदले सरकारलाई निर्देशन दिएका हुन् ।
विमानस्थल सञ्चालक र नियामक एउटै निकाय हुँदा स्वार्थको द्वन्द्वका कारण नेपालको वायु सेवा क्षेत्र निक्कै जोखिमपूर्ण भएको भन्दै युरोपेली संघले प्राधिकरणलाई टुक्र्याउन सुझाव दिँदै आएको छ ।
सांसदहरूले पनि प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा सात भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनीहरूले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दासमेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचनासमेत गरेका छन् ।
सांसदहरूले ईयूको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे । सांसदहरूले प्राधिकरणको जिम्मेवारी लिएपछि सात वटा हवाई दुर्घटना हुँदासमेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने बताए । प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भए पनि सधैं अरूलाई दोष दिने गरेको बताएका छन् । सांसदहरूले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए । उनीहरूले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन, कानुन तत्काल बनाउन आवश्यक रहेको समेत बताए ।
नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाउँदै नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको बताए ।
तर, सत्तारूढ एमालेकै सचेतक सुनीता बरालले जिम्मेवार निकायहरूले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने बताउँदै हवाई सुरक्षामा ईयूको कालोसूचीबाट हटाउनेलगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताएर अधिकारीको बचाउ गरेका थिए । केपी ओलीकै पालमा महानिर्देशक नियुक्त भएका अधिकारीले अहिले फेरि ओली नै सत्तामा आएकाले प्रभावमा पारेर आफू अनुकूल काम गर्ने खेल सुरु गरिसकेको उच्च स्रोतले देशान्तरलाई बतायो ।
संसदीय समितिमा उपस्थित नै भएका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मृत्यु भएका ९६९ को जिम्मेवारी लिने बताउँदै छानबिन आयोगको रिपोर्टअनुसार अघि बढ्ने जवाफ दिएर उम्किएका थिए । यसअघि माओवादी केन्द्रका नेता सुदन किराँती पर्यटनमन्त्री भएका बेला अधिकारीलाई हटाउनका लागि स्पष्टीकरण नै सोधेका थिए । तर, त्यतिबेला अधिकारीले प्रधानमन्त्री प्रचण्डलाई मिलाउँदा जोगिएका थिए ।
प्रतिक्रिया