पुरस्कार वा सम्मान पाउनु कुनै पनि व्यक्तिका लागि खुसी अनि गर्वको कुरा हो । कुनै विशेष क्षेत्रमा विशिष्ट काम गरेबापत प्रोत्साहन वा प्रशंसाका रूपमा पुरस्कार र सम्मान दिने गरिन्छ । यसर्थ, पुरस्कार वा सम्मान पाउने व्यक्ति समाजमा भिन्न वा अलग्ग ठहरिन्छ, धेरैका आँखामा पर्छ ।
यही कारण मानिस पुरस्कार र सम्मानप्रति मोहित अनि आकर्षित हुने गर्छ । यो नराम्रो पनि होइन पुरस्कार र सम्मान जोकोहीलाई र जोजसले पनि दिने (बाँड्ने) कुरा भने होइन । हामीकहाँ चाहिँ अलिअलि बैंक ब्यालेन्स भएकादेखि ‘खोजखाज गर्नुपर्ने’ अवस्थाका सम्मले पुरस्कार र सम्मान स्थापनाको घोषणा गरिदिएका छन् । एक–दुई पटक दिइटोपल्छन् र ‘आर्थिक अभाव’का कारण बन्द गर्छन् । यस्ता लहडी पुरस्कार र सम्मान हामीकहाँ प्रशस्त छन्, जसको पाउने व्यक्तिका लागि पनि कुनै विशेष महत्व हुँदैन, दिनेका लागि पनि केही न केही ।
खासमा पुरस्कार र सम्मान राज्य तहबाट स्थापना गरिनु र प्रदान गरिनु सर्वोत्तम हो । राज्य स्थायी संस्था हो र राज्यले प्रदान गर्ने पुरस्कार र सम्मानमा माथि भनिएझैँ आर्थिकलगायतका समस्या नहुने हुँदा निरन्तरता हुन्छ भने यस्ता पुरस्कार र सम्मान पाउने व्यक्तिप्रति आमसम्मान पनि कायम रहन्छ ।
तर, हामीकहाँ राज्यबाट दिइने निकै ठूला राशिका पुरस्कार नभएका भने होइनन् । ती पुरस्कारभन्दा केही कम राशिका निजी गुठीबाट दिइने मदन पुरस्कार र पद्मश्री पुरस्कारको ‘भाउ’ र इज्जत बढी छ ।
यसर्थ लेखक, स्रष्टाको लक्ष्य यी दुई पुरस्कारतर्फ बढी देखिन्छ । कतिपय लेखक, स्रष्टाहरू त यी पुरस्कारका लागि यतिसम्म दौडधुपसहित भिडेका पाइन्छ, जसले पुरस्कार नपाउँदा वितृष्णा र विक्षिप्तता सार्वजनिक रूपमै प्रकट गरिरहेका हुन्छन् । यो दुःखद् पक्ष हो पुरस्कारको किनभने पुरस्कारले लेखक, स्रष्टालाई विक्षिप्त बनाउनु हुँदैन ।
उसो त पुरस्कार र सम्मानकै लागि लेख्नु लेखक, स्रष्टाको कमजोरी हो । अमूक पुरस्कार वा सम्मानभन्दा दर्जनौं गुणा सम्मान र अमूल्य पुरस्कार त कृति वा लेख धेरै पाठकले पढेर मनपराइदिनु पो हो त !
खासमा हरेक वर्ष मदन र पद्मश्री यी दुई ठूला पुरस्कारबारे आमचासो हुन्छ । दुवै पुरस्कारका राशि पनि ‘गतिलै’ भएर पनि होला !
यी पुरस्कार दसैँको बेला पारेर दिइने भए पनि केही महिनाअघि नै पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरिन्छ । सामान्यतयाः पाँचदेखि १५ पुस्तकका सूची बाहिरिन्छन् र तिनमा सामान्यदेखि विशिष्टसम्मका अड्कलबाजी चल्छन् । जो हेर्न, पढ्न, सुन्न रमाइलो हुन्छ ।
पुरस्कार पाउने एक जना÷एउटा कृतिले हो, भलै, पचासौँ कृति सूचीमा परे पनि । र, पुरस्कृत हुने कृतिको गुणवत्ता मापन गर्ने सीमित व्यक्तिको समूहले हो । त्यस समूहमा पनि कथित बहुमतले हो । मानौँ कि पाँच जनासम्मको (यसभन्दा बढी नहोलान् भन्छु) निर्णायक वा छनोट समिति भएमा तीन जनाले छानेको पुस्तक पुरस्कृत हुने पक्का ।
हामी भने तिनै तीन जनाले छानिदिएर पुरस्कृत गरेको पुस्तकलाई ‘उत्कृष्ट’ भनेर प्रचार गरिदिन्छौँ तर बुझ्दैनौँ कि त्यसभन्दा उत्कृष्ट अरू पनि थिए÷छन्, जुन ती निर्णायकसम्म पुगेनन् वा लेखक÷प्रकाशकले पठाएनन् । त्यस्ता पुस्तक भने आमपाठकका ‘बुक ¥याक’मा भेटिन्छन्– अमूक पुरस्कार गुठीमा होइन ।
र, यस्ता निर्णायकहरूमा पनि निष्पक्षता रहिरहने कुरामा विश्वस्त हुन सकिँदैन । विगतमै पनि ‘लेनदेन’ मिलाउन पुस्तक नछापिई पाण्डुलिपिलाई नै मदन पुरस्कार दिइएकै हो । पछि ईश्वी सम्बत् राखेर प्रकाशन गरियो पुस्तक । यस्ता पक्षपाती घटनाले पुरस्कारप्रतिको विश्वसनीयता, दाबी गरिने तटस्थताप्रति शंका बढ्छ ।
समग्रमा, पुरस्कार र सम्मानका निश्चित मापदण्ड बनाएर ती मापदण्डको अक्षरशः इमान्दारीपूर्वक पालना गरेर साँच्चै स्वतन्त्र र तटस्थ निर्णायक वा छनोट समिति, त्यो पनि सम्बन्धित विषय क्षेत्रका विज्ञहरूको बनाएर छनोट गरिए त्यसबाट असल र कुशल लेखक, स्रष्टाले पुरस्कृत र सम्मानित हुने अवसर पाउँछ, नभए ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्राको सत्यानास !’
साथै, जो पायो त्यसले रहर र लहडमा राख्ने र दिने पुरस्कार र सम्मानले स्वयं पुरस्कार र सम्मानकै गरिमा घटाएको छ ।
प्रतिक्रिया