देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस र एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन् । प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उनले दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बताए ।


समानुपातिक पद्धतिमा थ्रेसहोल्ड बढाउने चर्चा भएको भन्दै प्रचण्डले नेपालमा दुई पार्टी पद्धति बेठीक हुने बताए । आफू संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे । यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको बताए । उनले ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा नआएको बताए । उनले संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।


समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमति मान्य नहुने चेतावनी दिए । दुई ठूला पार्टीले सत्तास्वार्थका निम्ति गरिएको कुनै पनि सहमति सैह्य नहुने उनले चेतावनी दिएका हुन् । समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको सुनिएको उनले उल्लेख गरे । त्यो सही भए आफूहरूले मेचीदेखि महाकालीबाट ‘संग्राम’ सुरु गर्ने उनले बताए ।
यस्तै नेकपा एमालेका नेता भीम रावलले कांग्रेस र एमाले राजनीतिक स्थायित्वको लागि मिलेको भन्नुको कुनै अर्थ नभएको टिप्पणी गरे । बाँकी तीन वर्ष पनि ओली र देउवाबीच आलोपालो सरकार चलाउने भनेपछि राजनीतिक स्थायित्वको कुरा गर्नु व्यर्थ हुने उनको भनाई थियो । उनले विपरित सिद्धान्त भएका राजनीतिक दलहरु मिलेर चुनाव लडेकोप्रति असन्तुष्टि जनाए ।

यसैगरी नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताए । उनले मुलुकमा शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएको उल्लेख गरे । त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका निम्ति कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरे । यादवले छरिएर रहेका कम्युनिष्टहरु को सही को गलत भन्ने छुट्याउन गाह्रो रहेको बताए । उनले कम्युनिष्टहरु सत्ता, भत्ता, पैसा, पदको लागि जे पनि गर्न तयार भएको बताए ।उनले सत्ताका निम्ति कम्युनिस्टले राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । आफ्नो दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीमा अवसरवाद मात्र बाँकी रहेको उनको भनाइ थियो ।