देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस अब पार्टीसंगठनमा केन्द्रित

देशान्तर


काठमाडौं । सत्ता सञ्चालनमा साना दलहरूको रजगज समाप्त गरी आफ्नै अगुवाइमा संसद्का दुई दल मिलेर सरकार निर्माणपछि संसद्कै ठूलो दल नेपाली कांग्रेसले बल्ल पार्टी संगठनका बारेमा ध्यान दिएको छ र साउन २३ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । महासमिति बैठक सकिएको करिब पाँच महिनापछि बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकका लागि गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रम मूल एजेन्डा तय गरिएको महामन्त्री गगन थापाले जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारी भइरहेको महामन्त्री थापाले बताएका छन् । फागुन १० मा कांग्रेसले महासमिति बैठकबाट पारित गरेको चुनावअघिको गठबन्धन नगर्ने विषयलाई कारण देखाउँदै २१ फागुनमा माओवादी सुप्रिमो प्रचण्डले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै एमालेसँग सत्ता समीकरण गरेका थिए । कांग्रेसले महासमितिबाट जुन मार्गचित्र तयार गरेको थियो, त्यसमा अन्य दलहरू पनि सहमत भएका छन् र कम्तीमा आगामी चुनावमा कुनै पनि दलहरूबीच गठबन्धन नहुने संकेत देखिएको छ ।


संगठन परिचालन र विस्तारबारे महासमिति बैठकमा व्यापक छलफल भए पनि यसबीचमा सत्ता समीकरणमा अल्झिँदा कांग्रेसले यसबारेमा भने खासै ध्यान दिएन । अब भ्रातृ संस्थाको महाधिवेशन गर्नेदेखि पार्टी अभियानलाई वडा तहसम्म पु¥याउने योजना बनाउने नेताहरूले बताएका छन् ।
केन्द्रीय समितिको अघिल्लो बैठकले नै समयतालिकासहितको कार्ययोजना अर्थात् पार्टीको क्यालेन्डर निर्माण गरे पनि त्यसको पनि सही कार्यान्वयन हुन सकेको छैन । क्यालेन्डर कार्यान्वयनका लागि आगामी बैठकले जोड दिने नेताहरूले बताएका छन् ।
त्यस्तै, एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बनाउनुको कारण, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कार्यशैली र योजना तथा संविधान संशोधनका लागि कांग्रेसले अघि सार्ने एजेन्डा र अवधारणा पनि बैठकले तय गर्ने नेताहरूको भनाइ छ ।