देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा मन्त्रीको भागबन्डा यस्तो

देशान्तर


काठमाडौं । गत आम निर्वाचनमा संसद्को सबैभन्दा ठूलो पार्टी भए पनि नेपाली कांग्रेसले कहिले माओवादी त कहिले एमालेलाई साथ दिँदा सरकारको नेतृत्व लिने अवसर पाएको छैन । बरु उल्टै प्रतिपक्षको बेन्चमा पुगेको कांग्रेस प्रतिपक्षमा एकजुट भएको सन्देश दिन सफल भएको थियो । संसद्मा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दबाब बढाउनका लागि नेपाली कांग्रेसको नेतृत्व गुट, उपगुटभन्दा पनि एकजुट भएर अघि बढेको प्रस्ट देखिएको थियो ।
तर, असार १७ गते नेकपा एमालेसँग सहमति गरेर सत्तारूढ दल बन्ने अवस्था आएसँगै कांग्रेसभित्र गुटको राजनीति पुरानै अवस्थामा पुगेको रूपमा राजनीतिक विश्लेषकहरूले बताएका छन् । विगतमा सरकारमा मन्त्रीहरू पठाउँदा सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षलाई निकै कम हिस्सा दिने गरेकोमा यसपटक भने सभापति देउवाले सबै गुट, उपगुटलाई पुग्ने गरेर भागबन्डा गरेका छन् । ९ जना मन्त्रीमा सभापति देउवाले ३ जना राख्दा डा. शेखर–गगन समूहले पनि समान ३ जना पाएको छ । यसैगरी शेरबहादुरकै टिममा रहेर उपगुटको अभ्यास गरिरहेका पूर्णबहादुर खड्काले १ जना मन्त्री भाग पार्दा शितल निवासको कोटामा एक जनालाई मन्त्री बनाइएको छ ।


नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति देउवालाई साथ दिएका प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीको रूपमा कांग्रेसबाट नेतृत्व गरेर केपी ओली नेतृत्वको सरकारमा सहभागी छन् । सिंह आफं कांग्रेसमा आफूलाई एउटा गुटको नेताको रूपमा दाबी गर्दै आएका छन् ।
यस्तै, सभापति देउवाले तीन जनामा पत्नी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाएर पठाउँदा विश्वासपात्र रमेश लेखकलाई गृहमन्त्री बनाएका छन् । यसैगरी कानुनमन्त्री अजय चौरसिया पनि देउवा गुटका हुन् ।
शेखर–गगन गुटबाट सहमहामन्त्री बद्रीप्रसाद पाण्डे पर्यटनमन्त्री बन्दा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जिम्मेवारी पाएका हुन् । यसैगरी प्रदीप पौडेल पनि यही गुटबाट स्वास्थ्यमन्त्री भएका छन् ।
उता, बीपीपुत्र डा. शशांक कोइराला आफूलाई कुनै पनि गुटमा राख्न चाहँदैनन् । पूर्वमहामन्त्री पनि भएकाले उनले पार्टीसभापतिबाट आफ्नो भाग लिन भने सफल भएका छन् । उनको कोटामा ऊर्जामन्त्री दीपक खड्का बनेका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले वनमन्त्रीको रूपमा मुगुका ऐनबहादुर शाहीलाई ल्याएका छन् । चर्चामै नरहेका शाहीलाई खड्काकै जोडबलमा मन्त्री बनाइएको चर्चा राजनीतिक वृत्तमा रहेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी शीतल निवासका इच्छामा बनेको बुझ्न सकिन्छ । तर, खेलकुदमन्त्री चौधरीको शीतल निवासमात्रै नभएर अन्य शक्ति केन्द्रमा पनि उत्तिकै पहुँच रहेकाले मन्त्री भएको दाबी गरिएको छ ।