देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलम्पिकमा खेलाडीभन्दा अफिसियल बढी

देशान्तर


काठमाडौं । नेपाली खेलकुदको रोग नै हो विदेशमा आयोजना हुने प्रतियोगितामा जानका लागि सबै हद पार गर्ने । हरेकजसो अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेश जानका लागि विभिन्न खेल संघका पदाधिकारीहरू मरिहत्ते गर्ने गरेका छन् । दक्षिण एसियाली, एसियाली तथा ओलम्पिक प्रतियोगितामा नेपालको सहभागिता संख्याका हिसाबले अत्यधिक हुने गरेको छ ।यस पटक पनि पेरिस ओलम्पिकमा खेलाडीभन्दा अफिसियलको संख्या अत्यधिक बढी भएको छ । तर, खेलाडीनै प्रशिक्षकविहीन भएर कोर्टमा उत्रिनुपर्ने अवस्था आउँदा पदाधिकारीहरू भने लावालस्करसहित जान लागेका छन् । नेपालले सन् १९६४ मा पहिलो पटक टोकियो ओलम्पिकमा सहभागिता जनाएको थियो ।

ग्रीष्मकालीन ओलम्पिक ११ देखि २६ साउनसम्म फ्रान्सका विभिन्न १६ सहरमा हुँदै छ । प्रतियोगितामा जाने खेलाडी र अफिसियलहरूलाई शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरिसकेका छन् । बिदाइ कार्यक्रममा चार जना खेलाडीमात्रै सहभागी भएपछि सामूहिक तस्बिर खिच्दा जिज्ञाशा राखेका थिए । जम्मा खेलाडी यति मात्रै, हतारहतार ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले तीन जना खेलाडी वैदेशिक प्रशिक्षणमा रहेको जवाफ दिएका थिए । खेलाडी ७ जना र अफिसियल (पदाधिकारी) गरेर अहिलेसम्म २९ जना जाने तय भइसकेको छ भने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित अरू केही पदाधिकारी पनि थपिने अवस्था रहेको छ ।
हरेक प्रतियोगितामा जम्बो टोली गए पनि नेपालले ओलम्पिकमा अझै पदक जित्न सकेको छैन ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सहकार्य गर्दै सात खेलाडीसँगै चार प्रशिक्षक, आठ अफिसियल, एक डाक्टर, एनओसीबाट अध्यक्ष र महासचिवसहित चार र दुई पत्रकारको टुंगो लागेको छ । यसबाहेक सेफ द मिसनका रूपमा राखेप सदस्यसचिव टंकलाल घिसिङ रहेका छन् ।घिसिङ भने शनिबार राति नै पेरिस प्रस्थान गरिसकेका छन् । अरू सोमबार जानेछन् ।


नेपालबाट ओलम्पिकमा चार महिला र तीन पुरुष खेलाडीसहित सातजनाले प्रतिस्पर्धा गर्दैछन् ।टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका हुन्  । अन्य खेलाडीले भने वाइल्ड कार्ड पाएका छन् ।युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुबाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेल्दैछन् ।
टेबलटेसिनका राजेन्द्र कपाली, जुडोकी देवु थापा, एथलेटिक्सकी कान्तिकुमारी महतो र पौडीकी नयना शाक्य प्रशिक्षकका रूपमा सहभागी हुनेछन् ।समयमै नाम सिफारिस नगरेपछि ब्याडमिन्टनका प्रिन्स दाहाल प्रशिक्षकबिना नै कोर्टमा उत्रिने छन् । तर, प्रशिक्षकको स्थानमा ओलम्पिक कमिटीले एक पदाधिकारीलाई पेरिस लैजान लागेको छ ।
ओलम्पिकमा जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्षपुष्पदास श्रेष्ठ टिम अफिसियलका रूपमा जाँदै छन्  ।

यस्तै, टेनिसकी अध्यक्ष तथा एनओसीकी उपाध्यक्ष ज्योति राना, रेस्लिङ संघका अध्यक्ष प्रकाशकुमार कुसारी र एनओसीका सहसचिव पीताम्बर तिमिल्सिना टिम अफिसियलका रूपमा रहेका छन् । राखेपका आर्थिक विभाग प्रमुख ऋषिराम पोखरेल अफिसियलका रूपमा मात्रै पेरिस पुग्ने सूचीमा छन् ।
ओलम्पिक र राखेपले सहकार्यमा पदाधिकारी पठाउँदा पौडी संघका निर्वाचित अध्यक्ष जगतमान श्रेष्ठ भने ओलम्पिक जाने सूचीमा छैनन्  । ओलम्पिकमा ६ महादेशका १० हजार पाँच सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३२ खेलमा ३२९ इभेन्ट्स समावेश छन्  ।