चियाको कपमा आएको आँधी सरह
भरङ, तरङ, उथलपुथल
छलाङ अग्रगमनको
प्रजातन्त्रका बिम्ब यी
असुलीका प्रतिबिम्ब बनेका
अपराधको गट्टा खेलेर आएकाहरूले
जिउँदो मान्छेलाई इँटाभट्टामा
जलाइदिन सक्छन्
अनि राजनीतिक भट्टाबाट निस्केर
अकबरी सुन सरह चोखो हुन सक्छन्
आफू मात्र चोखो होइन
आफ्नै चोखो सुन पानी छरेर
अरूलाई पनि चोखो पार्न सक्छन्
नियति हामी नेपालीको
नियति यो मुलुकको
चरीको अपराध छताछुल्ल हुँदा
यिनी हाकाहाकी भन्थे –
भट्टाबाट निकालेपछि चोखो भइहाल्छ नि !
भ्रष्टाचारले डुङ गन्हाएकाहरू
भ्रष्टाचारको गन्ध सहनै नसक्ने उद्घोष गर्छन्
जो चोर उसको ठूलो सोर गुञ्जिएको
यो अनुगुञ्जनमा नसुनिने भएका संवेदनाहरू
डाँडा काटेका ढुकढुकीहरू
जति ठूलो अपराधी त्यति ठूलो सोरमा भन्छ –
जनताको लागि प्राणको आहुति दिन तयार म
अपराध प्रमाणित भएमा झुन्डिन तयार छु
ठूलो अपराधी हुन सक्नु नै
ठूलो व्यक्ति बन्न सक्ने अवस्था
जेल जानुपर्ने मान्छे मन्त्री बन्ने
साकार ठगहरू बनेका सौदाकारी, अदाकारी
ठगहरूले हाँकेको केवल ठगहरूको लागिको ग्रन्थीबन्धन
अपराध, व्यापार र राजनीतिको सङम
त्रिकोणात्मक बाहाँजोरीको नयाँ नेपालमा
नुनको कमी, सुनको छेलोखेलो
सिटामोलको अभाव, शासकको रवाफ, कबाफ, नशा र आफैंलाई स्याबासी
बीभत्स रूपान्तरणको संस्कृति
सलह बनेर जनजीविका सखाप पार्ने यी
यस्तो सखापलाई नै भन्छन् –
जनजीविका रूपान्तरणको अग्रगामी छलाङ
कस्तो रूपान्तरण हो यो ?
भकारी रित्तो पार्ने मुसाहरूको
भ्रमण पछिको मध्यान्तर
उपचार पछि प्रदत्त तन्दुरुस्ती
ढाँट, छल बेइमानीका पुडिया यी
‘विषकुम्भं पयोमुखम्’
अन्तले गर्ने यिनको अदलीबदली
बाँकी सिनेमा जस्तो –
चिलिम ताने जस्तो आगो
बोल्ने विकासको गीत
मञ्चन शानदार, डायलग
बेजोड, छायांकन बुलन्द,
के यही हो उथलपुथल अग्रगामी छलाङको ?
प्रतिक्रिया