काठमाडौं । दुई दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशील रहँदै आएका लोकप्रिय निर्देशक हुन्, कृष्णदेव रूपाखेती । हालसम्म ६ सयको हाराहारीमा भिडियोको निर्देशन गरिसकेका निर्देशक रूपाखेतीले नवकलाकारहरूदेखि महानायक राजेश हमालसम्मका वरिष्ठ कलाकर्मीहरूसँग सहकार्य गरिसकेका छन् । उनले अहिलेकी चर्चित गायिका रचना रिमालदेखि अञ्जु पन्त, प्रमोद खरेल हुँदै दीप श्रेष्ठसम्मका गायकगायिकाहरूसँग सहकार्य गरिसकेका छन् । काठमाडौंको कीर्तिपुरमा जन्मे, हुर्केका निर्देशक रूपाखेती ज्योतिषशास्त्रका विद्यार्थी पनि हुन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका निर्देशक रूपाखेती लोक तथा मौलिक शैलीका भिडियोहरूको निर्देशन गर्न रुचाउँछन् । लामो समय टेलिजिनमा काम गरेको अनुभवसमेत बटुलेका उनी गीतसंगीत हुँदै सञ्चार क्षेत्रमा पनि क्रियाशील सञ्चारकर्मी हुन् । नयाँनयाँ विषयवस्तुको उठानसँगै खोजमूलक गतिविधि उनका रुचिका विषयहरू हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे, धर्मराज थापा, ध्रुवचन्द्र गौतम, रत्नशमशेर थापा,लगायतका विशिष्ट व्यक्तित्वहरूलाई पनि अभिनय गराइसकेका निर्देशक रूपाखेतीसँग गरिएको गीत संगीत, प्रेम र जीवनबारेको कुराकानीको सम्पादित अंश ।
तपाईंको कलाकारिता यात्रा अहिले कसरी अघि बढ्दै छ ?
यतिबेला निकै व्यस्त रहेको समय चलिरहेको छ । हालै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द रचना रहेको तीन वटा गीतको भिडियो एकसाथ रिलिज सम्पन्न भयो । जसमध्ये दुई वटा भिडियोको निर्देशन मैले गरेको हुँ । र डाक्टर अधिकारीकै शब्द सिर्जना रहेका दुई वटा थप भिडियो निर्देशनको क्रममा रहेका छन् । त्यस्तै मनोविद् प्रमिला वस्तीको शब्द रहेको र गायिका रचना रिमालको स्वरमा तयार माया गर्छु भन्न पनि बोलको गीत शुक्रबारमात्रै दर्शक श्रोतामाझ ल्याइसकेको अवस्था हो । र अन्य २ वटा भिडियो यही सोमबार रिलिजको तयारीमा रहेका छन् । जसमध्ये शिवको शिवानी बोलको गीता गिरीको एउटा तीज गीत र हाडजोर्नी विशेषज्ञ डा. सतिशकुमार वर्णालको ट्राफिक सचेतनामूलक भिडियो रिलिजको क्रममा रहेका छन् ।
व्यस्तताका बाबजुद पनि यहाँका हातमा नयाँ प्रोजेक्टहरू प्रशस्त छन् ? कसरी मिलाउनुहुन्छ समय तालिका ?
यो साता र आउने साता लगातार गरेर दर्जन बढी भिडियोको टिमसँग सहकार्य भयो । आगामी सातामात्रै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र समीक्षा अधिकारीले गाएको हजुरबुबा र नातिनीको प्रेमकथा समावेश भिडियोको निर्देशनको तयारीमा छु । जुन गीतमा राष्ट्र बैँकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको शब्द तथा कृति न्यौपानेको संगीत रहेको छ । लगत्तै मानवशास्त्री डाक्टर शम्भु जमरकट्टेलको शब्द र कृति न्यौपानेकै संगीत रहेको गीत पनि छायांकनको तयारीमा छौँ । वरिष्ठ अभिनेता मदनकृष्णले नै गाएका दुवै गीतमा उहाँकै अभिनय रहनेछ ।
कसरी लाग्नु भयो निर्देशनको क्षेत्रमा ?
म ५० को दशकमा यो क्षेत्रमा प्रवेश गरेको हुँ । २०५४ सालको कुरा हो डाक्टर पाइलट नामक ब्यान्डसँग म जोडिन पुगें । उहाँहरूको आग्रहमा मेरो संयोजनमा त्यतिबेलाका लोकप्रिय निर्देशक नारायण पुरीले निर्देशन गरेको गीतबाट प्रभावित भएर म यस क्षेत्रमा लागेको हुँ ।
यहाँको पहिलो गीत कुन हो ? यसबीचमा यहाँले को—कोसँग सहकार्य गर्नुभयो ?
गायक सूर्य थुलुङको साह्रै पा¥यो आज मलाई तिम्रो सम्झनाले बोलको गीतबाट मैले डेब्यु गरेँ । जुन गीतले नै सोचेभन्दा राम्रो चर्चा कमाएपछि म यो क्षेत्रमा लोभिन पुगे । त्यसपछि मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द रचना र अभिनयमा तयार भएको पूर्णिमाको जुन जस्तो बोलको गीतको भिडियो बजारमा ल्याएँ । त्यसपछि मैले कहिल्यै पर्छि फर्केर हेर्नु परेन । निर्देशनको सुरुवाती कालका दुवै गीत हिट भएपछि मलाई पनि नयाँ काम गर्ने जोश, जाँगर बढ्यो र यात्राले निरन्तरता पायो ।
गीतकारहरूलाई म्युजिक भिडियोमा अभिनय गराउने सोच कसरी पलायो ?
गीतकारहरू कुनै पनि गीतका जननी हुन् भन्ने कुरा स्थापित गर्न मैले राष्ट्रकवि माधवप्रसाद घिमिरेमार्फत यो अभियान प्रारम्भ गरेको हुँ । यसक्रममा मैले धर्मराज थापा, रत्नशमशेर थापा, ध्रुवचन्द्र गौतम, एस्पी कोइराला, चूडामणि देवकोटा, सोना भण्डारी आदि गीतकारलाई भिडियोमा अभिनय गराइसकेको छु ।
यहाँले यसबीचमा के कस्ता रमाइला अनुभूतिहरू सँगाल्नुभयो ?
मैले यो दुई दशकको अवधिमा प्रमोद खरेलदेखि आनन्द कार्की हुँदै दीप श्रेष्ठसम्म, त्यस्तै रचना रिमालदेखि प्रकाश सपूत हुँदै मदनकृष्णसम्मका अनुजदेखि अग्रज कलाकर्मीहरूसँग काम गरेको रमाइलो अनुभव सँगालेको छु । त्यस्तै अभिनेत्रीहरू गरिमा शर्मा, स्मारिका ढकाल, वर्षा शिवाकोटीदेखि प्रियंका कार्की हुँदै झरना बज्राचार्यसम्म सहकार्य गरिसकेको छु ।
यसबीचको सबैभन्दा रमाइलो अनुभव सुनाइदिनुहोस् न ?
रमाइलो कुरा त मैले अहिले चलेका नायक पुष्प खड्कासँगको सहकार्य एकदमै स्मरणीय रह्यो । मैले नै पुष्पलाई धर्तीको स्वर्ग कहाँ छ भने यही हो नेपाल बोलको गीतबाट मोडलिङमा डेब्यु गराएको हुँ । त्यस्तै अहिलेकी चर्चित नायिका तथा व्यवसायी श्वेता खड्कासँगको मेरो भेट र सहकार्यको पनि रमाइलो किस्सा छ । श्वेतालाई पनि मैले नै म्युजिक भिडियोमा ल्याएको हुँ । गायक राजेशपायल राईको जुन मायाको कुराबाट श्वेताले डेब्यु गरेकी हुन् । यो भिडियोको चर्चासँगै उनको कहाँ भेटिएला नामक फिल्ममा प्रवेश भएको हो । मैले अहिलेकी चर्चित गायिका तथा टेलिभिजनकर्मी शोभा त्रिपाठीलगायत नव कलाकारहरूलाई अवसर दिएको छु । जो अहिले चर्चाको शिखरमा पुगेको देख्दा खुसी लाग्छ ।
अधिकांश समय कलाकारितमा लाग्दा घर परिवारलाई दिने समयको व्यबस्थापन कसरी गर्नुहुन्छ ?
म अध्यात्ममा विश्वास गर्ने व्यक्ति हुँ । अहिलेसम्म मेरो त्यस्तो मद्यपान धूमपानलगायतका कुनै लत नभएकाले मलाई समयको व्यवस्थापनमा कुनै समस्या छैन । छायांकनको काम सकेलगत्तै म समयमा नै घर फर्किन्छु र परिवारलाई मज्जाले समय दिँदै आइरहेको छु । मैले यो क्षेत्रमा दुई दशकबढी समय बिताइरहँदा समय व्यवस्थापनमा कहिल्यै समस्या भएन । घरमा म, पत्नी प्रमिला रूपाखेती, बाबुहरू आदित्यदेव र आशिषदेव दुई छोरा छौँ परिवारमा । हाम्री ७० वर्षकी आमाको साथमा हामी रमाइलोसँग जिन्दगी बिताइरहेका छौँ ।
आगामी दिनमा नयाँ के—के काम गर्ने योजना बनाउनु भएको छ ?
अहिले वर्षात्को समय भएका कारण काठमाडौँ आसपासका क्षेत्रमा मात्रै समय मिलाएर कामहरू गरिरहेको छु । वर्षात् सकिएलगत्तै म पूर्व पर्यटकीय क्षेत्र इलाम र हिमाल पारिको जिल्ला मुस्ताङमा गरेर आधा दर्जन बढी भिडियोको छायांकनको योजनामा छु । सबै गीतका अडियोहरू फाइनल भइसकेका छन् भने अब उचित समयको पर्खाइ मात्रै बाँकी छ ।
प्रतिक्रिया