देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस-एमालेलाई अन्तिम अवसर

देशान्तर

नेपाली कांग्रेसका नेता सञ्जय गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने विषय अस्वाभाविक भए पनि अहिलेको परिस्थितिमा सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् । दुई ठूला दलहरू मिलेर सरकार सञ्चालन गर्दा प्रतिपक्षको चिन्ता गर्नु सैद्धान्तिक हिसाबले जायज भए पनि अहिलेको परिस्थितिमा राष्ट्रिय सरकार बनाएर समस्या समाधान गर्ने कुरा नै मुख्य भएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेले अन्तिम अवसार पाएको भन्दै गल्ती गर्ने छुट कसैलाई नभएको पनि बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गौतमसँग गरेको कुराकानीको सम्पादित अंश :-

कांग्रेस र एमालेका नेताहरूले फेस गर्ने प्रश्न भनेकै किन नयाँ गठबन्धन भन्ने छ है ?

हामीले प्रश्न फेस गर्नेभन्दा पनि नयाँ गठबन्धन आवश्यक थियो । हामीले चुनाव अगाडि माओवादीसँग गठबन्धन गर्दा स्थिरताको परिकल्पना गरेका थियौं । मुलुकमा स्थायित्व भएन भने मुलुक अगाडि बढ्न सक्दैन भनेर नै अहिलेको परिस्थितिमा हामीले धेरै उतार चढावपछि अहिलेको अवस्था आएको हो । विगतमा हामीले माओवादीसँग मिलेर चुनावमा जाने कुरा त्यति सहज र स्वाभाविक कुरा थिएन । हाम्रो पार्टी नेपाली कांग्रेसमा पनि विरोध थियो भने म आफैं पनि गठबन्धनबाट चुनाव लड्न हुँदैन भन्ने मान्यता राख्थे । पार्टीले नै निर्णय गरेपछि हामी गठबन्धन गरेर चुनावमा गयौं । हाम्रो निर्वाचन प्रणालीकै कारण सरकार गठबन्धनबाट बनाउन पर्छ । जनताले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस, दोस्रोमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रलाई भोट हाले । माओवादीले पाएको भोट पनि गठबन्धनको भोट थियो । समय र परिस्थितिले गर्दा प्रचण्डजीले सरकारको नेतृत्व गर्न खोज्नु भयो, त्यतिबेला हामीबीचमा केही समय सम्बन्ध बिग्रिएको जस्तो भयो । र नयाँ माओवादी र एमालेको गठबन्धन निर्माण भएको थियो । फेरि माओवादीले कोर्स करेक्सन भन्दै कांग्रेससँग गठबन्धन गर्न आइपुग्यो । फेरि केही समयपछि नै माओवादी र एमालेको गठबन्धन सरकार भयो । यो बीचमा तीन वटा सरकार नाटकीय ढंगले बन्यो । कांग्रेस संसदको ठूलो दल भएर पनि माओवादीको नेतृत्वलाई स्वीकार ग¥यौं । तै पनि मुलुकमा स्थायित्व र स्थिरता भएन ।

तपाईंले नेपाली कांग्रेस र एमाले मिलेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेर कुरा संसद्मै उठाउनु भएको थियो किन ?

नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार नबनाइकन मुलुकको विकास स्थिरता र स्थायित्व पाउँदैन भनेर भन्ने म पहिलो सांसद हुँ । संविधानको समय सापेक्षरूपमा संशोधन आवश्यक छ भन्ने कुरा पनि उठाएको हुँ । अहिले नयाँ गठबन्धन त बन्यो, खाली कांग्रेसको नेतृत्वमा छैन एमालेको नेतृत्वमा बन्यो भन्ने मात्र कुरा हो । पालोपालो गर्दा भोलि कांग्रेसको नेतृत्व पनि आउँछ । त्यसैले मैले सोचेको एजेन्डाले प्रवेश पायो भन्ने ठानेको छु । यसको मतलव सरकारका लागि सरकार बनाएको होइन । 

किन नयाँ सरकार चाहियो, चलिरहेकै थियो ?

सरकार चलिरहेकै थियो, मन्त्रीहरू पनि थिए । जेनतेन काम भइरहेको पनि थियो । तर, नेपाली जनताको निराशालाई चिर्दै आशामा परिणत गर्नको लागि हामीले संविधानसभाबाट बनाएको संविधानले समयसापेक्ष संशोधनको आवश्यकता महसुस गरेको छ । अहिले माओवादीका साथीहरूप्रति पनि धेरै तिक्तता पोख्न जरुरी छैन भने हामीले पनि धेरै ठूलो कुरा गर्नुपर्ने आवश्यकता छैन । एकले अर्कालाई खुइल्याउनेभन्दा पनि राष्ट्रिय सरकार बनाउने अभियानमा हामी सबै लाग्नुपर्छ । अहिलेबाटै एकले अर्कालाई खुइल्याउने हो भने मुलुक फेरि भड्खालोमा जान्छ र अन्य शक्तिहरू खेल्न थाल्छन् । माओवादीलाई गालीगलोज गर्न पनि जरुरी छैन भने माओवादीले पनि सत्ता छोड्नु परेकोमा आवेग पोखेर कांग्रेस र एमालेलाई गाली गरेर पुराना कुराहरूलाई पुनरावृत्ति गरेर पनि अर्थ छैन । अब अहिले नयाँ परिस्थिति बनेको छ, केपी ओलीजी आज आइतबार प्रधानमन्त्री बन्नुहुन्छ । नेपाली कांग्रेसको दरिलो साथ छ । माओवादी पनि विगतका कुराहरू बिर्सिएर यो सरकारमा सहभागी हुनुपर्छ ।

कांग्रेस र एमाले विभिन्न काण्डहरूका कारण डराएर एक ठाउँमा आएका हुन् भन्छन्, त्यही हो ? 

त्यो एउटा ‘न्यारेटिभ’ मात्रै हो । त्यसरी नै कांग्रेस र एमालेको गठबन्धन भएको हो भने त थप कुराहरू आउँलान् । विधि व्यवस्था भएको मुलुकमा केही कुराहरू पनि लुक्दैनन् । नयाँ सरकारले शपथ लिइसकेको छैन । प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ त अझैं । त्यस्तो काण्डहरू थियो भने त सार्वजनिक गरेको भइहाल्यो नि । अहिले माओवादी र रास्वपाले बार्गेनिङ गर्नका लागि मात्रै भनेको कुरा हो । प्रमाण भए उहाँहरू नै अहिलेसम्म सत्तामा हुनुहुन्छ सार्वजनिक गरे भइहाल्यो । संसद्मा नेपाली कांग्रेसले बारम्बार भ्रष्टाचारका विषयमा उठाएको छ । हामी ती काण्डहरू लुकाउने छुपाउने मनस्थितिमा पनि छैनौं । नेपाली कांग्रेस पनि भ्रष्टाचारबाट आजित भएकाले सबै फाइलहरू खुलून् भन्ने चाहन्छौं । भ्रष्टाचारमा म मुछिएको छु भने पनि कारबाही होस् भन्ने कांग्रेसको एजेन्डा हो ।

केही फाइलहरू खोल्नै लाग्दा, ‘काले काले मिलेर खाउँ भाले’ गरेका हुन् कांग्रेस र एमाले भन्ने चर्चा छ त ?

यो सब वाइह्यात कुराहरू हुन् । आम निर्वाचन भएको पनि डेढ वर्षभन्दा बढी भइसक्यो । यसबीचमा प्रचण्डजी नै प्रधानमन्त्री हुनुभएको थियो, उहाँलाई फाइल खोल्नका लागि कसैले रोकेको थिएन । अहिले सत्ता गुमाउँदाको पीडामात्रै हो । उहाँहरू आफैं १० वटा ‘स्कान्डल’मा फसेको व्यक्तिले अहिले यस्तो कुरा गर्नु कुनै अर्थ छैन । के विगतमा माओवादीको नेतृत्वले एमाले र कांग्रेससँग मिल्दा ‘काले काले मिलेर खाउँ भाले’ गरेको हो त ? यसैगरी रवि लामिछानेजी भनेको कस्तो हो भने आफ्नो ‘स्ट्रेन्थ’ थाहा छैन, आफ्नो पार्टीको इतिहास थाहा छैन । उहाँ कसरी आउनु भयो भन्दा हामीले नराम्रो काम गरेको परिणामस्वरूप रविजी आउनु भएको हो । आम निर्वाचनमा रास्वपाले पाएको भोट भनेको कांग्रेस, एमाले र माओवादीको ‘रियाक्सन’को भोट हो । बाढी सधैं स्थिर रहँदैन, रवि लामिछानेले पाएको भोट भनेको बाढी हो, यो सधैं स्थिर रहँदैन । पुच्छरले टाउको हल्लाउने होइन, टाउकोले पुच्छर हल्लाउने भन्ने कुरा उहाँले बुझ्न जरुरी छ । आफू सहकारीको रकम अपचलनमा मुछिनु भएको छ, नागरिकता, पासपोर्टका काण्डैकाण्ड छन् । आफ्ना कुराहरू ढाकछोप गर्नका लागि ठूला कुरा गरेर हिँड्नुको कुनै अर्थ छैन । उहाँको पार्टीका मुकुल ढकालको कुरा सुने पुगिहाल्छ नि कस्तो छ पार्टी भनेर । 

कांग्रेस र एमालेको गठबन्धन स्वाभाविक होइन । तर के बुझ्न जरुरी छ भने यो विशिष्ट परिस्थितिमा गरिएको गठबन्धन हो भने मुलुकलाई निकास दिनका लागि गरिएको प्रयास हो । अब नेपाली जनतामा आशा र भरोसा पैदा गर्नुपर्नेछ । अहिले नेपाली जनता निराश छन्, उनीहरूमा वितृष्णा आएको छ । अहिलेको वितृष्णा र निराशाले भोलि विद्रोहको बाटो लियो भने यहाँको लोकतन्त्र र संविधान पनि अप्ठेरोमा पर्छ । त्यसैले नेपाली कांग्रेस र एमाले संविधानको रक्षाका लागि एक ठाउँमा आएका हुन् । संविधानमा समयानुकूल परिमार्जन गरेपछि मात्रै संविधान र लोकतन्त्रको रक्षा हुन्छ ।

संविधानप्रति कोबाट खतरा भयो र तपाईंहरू संविधान रक्षाका लागि नयाँ गठबन्धन गर्नुभयो ?

को बाट भन्ने कुनै पनि शक्ति छैन नेपालमा । राजा फालिहाल्यौं, हामीकहाँ अर्को कुनै शक्ति आएर संविधान सिध्याउने होइन, जनताको अनुकूलतामा यो संविधान भएन भने, हामीले निर्माण गरेको र हाम्रा लागि निर्माण गरिएको संविधान भनेर जनताले स्वामित्व लिने परिस्थिति र परिवेश सिर्जना गर्न सकेनौं भने जनताले नै यो संविधान भोलि जनताले अस्वीकार गर्न सक्छन् । हामीले पनि त यसअघि २०४७ सालको संविधान सडकबाट फालेको होइन र । त्यही फालेपछि त गणतन्त्र, संघीयता आएको हो नि । अहिलेको संविधान २०७२ लाई समयानुकूल संशोधन गरिएन भने यो संविधानको पनि भविष्य छैन, लोकतन्त्रको भविष्यमा पनि प्रश्न उठ्छ । त्यस्तो भयो भने मुलुक कहाँ पुग्छ अहिले नै भन्न सकिन्न । त्यसैले मुलुक बचाउनुपर्ने दायित्व र जिम्मेवारी पनि हामी सबैको हो ।

मुलुक र संविधानको हवाला दिँदै दुई ठूला पार्टी मिल्दा संसद्मा प्रतिपक्ष त निरीह हुँदैन भन्या ?

दुई ठूला पार्टी मिलेर सरकार चलाउने कुरा अप्राकृतिक हो भन्ने सैद्धान्तिक व्याख्यासँग म साधारण अवस्थामा सहमत छु । तर, दुईवटा ठूला पार्टी मिलेर अरू साना पार्टीलाई पनि एक ठाउँमा ल्याएर राष्ट्रिय सरकार बनाउनका लागि गरिएको पहल हो । अहिले यो सरकार चलाउन, आफ्ना मान्छेलाई मन्त्री बनाउन, अनि काले काले मिलेर खाउँ भाले गर्न, भ्रष्टाचारका काण्ड लुकाउनका लागि कांग्रेस र एमाले मिलेका होइनन्, यसमा सबै प्रस्ट हुन जरुरी छ । नेपाली कांग्रेस र नेकपा एमालेजस्तो इतिहास र जनमत भएको पार्टीमाथि प्रश्न उठाउन जरुरी छैन । नेपाली कांग्रेस राणा, राजा र माओवादीसबैसँग लडेर आएको छ । माओवादीबाट सबैभन्दा बढी पीडित भएको कांग्रेसले विगतका सबै कुराहरू बिर्सिएर माओवादीलाई नै सँगै लिएर अघि बढेको होइन र । माओवादीसँग कांग्रेस मिल्दा ठीक, कांग्रेस र एमाले मिल्दा बेठीक भन्ने तर्क नै होइन । हामीले अहिले अन्तिम प्रयास गरेका हौं । सैद्धान्तिक रूपले अस्वाभाविक देखिए पनि राष्ट्रिय आवश्यकता हो । त्यही आवश्यकताले नै हामीलाई यो ठाउँमा ल्याएर आयो । हामीले माओवादीसँग धेरै टाढा दूरी बढाउन आवश्यक छैन । राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर संविधानमा समयानुकूल संशोधन गरेर अघि बढ्नुपर्छ । संविधान संशोधनको कुरा गर्न जति सजिलो छ, व्यवहारमा काम गर्न निकै गाह्रो छ । संविधान संशोधनको कुरा उठ्दा जातीय, धार्मिकलगायत तमाम विषयहरू आउँछन् । त्यतातर्फ पनि हामी सचेत छौं ।

संविधानको कुन कुन ठाउँमा संशोधन गर्ने ?

यो मेरो व्यक्तिगत धारणा हो । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा बनाउनुपर्छ । हामीले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणाली हुँदासम्म देशमा कहिले पनि स्थिर सरकार बन्दैन भन्ने मेरो यो आठ वर्षको बुझाइ हो । राष्ट्रियसभालाई पूर्णसमानुपातिक गर्ने र प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष गर्नुपर्छ भन्ने धारणा हो । ७ वटा प्रदेश बनाएर हामीले संघीयताको अभ्यास गरिरहेका छौं । हामीले अहिले तीन तहको सरकारको अभ्यास गरिरहेकाले यसमा पुनर्संरचना गर्न जरुरी छ । संघीयता नै खारेज गर्नुपर्छ त म भन्दिनँ । अहिलेको संरचनाअनुसार खर्च र बेथिति मुलुकले व्यहोर्न सक्दैन । यसैगरी स्थानीय सरकार पनि छ । त्यसमा पनि पुनर्संरचना गर्न जरुरी छ । स्थानीय सरकार पनि सरकार हो भने त्यहाँ पनि प्रतिपक्षको व्यवस्था हुनुपर्छ । प्रतिपक्ष नभएको सरकार हुँदैन । त्यसैले ‘चेक एन्ड ब्यालेन्स’ गर्न जरुरी छ । भ्रष्टाचार सिंहदरबारमा मात्रै हुन्छ भन्ने भाष्य अहिले निर्माण भएको छ, स्थानीय सरकार पनि गाउँगाउँको सिंहदरबार हो । त्यहाँ पनि अवस्था पनि त नाजुक नै छ । 

कांग्रेस र एमालेबीचको ७ बुँदे दस्तावेज पढ्न पाउनु भयो ?

सैद्धान्तिकरूपले हामीलाई ‘ब्रिफिङ’ भएको छ । शाब्दिक रूपले त्यो मैले पनि हेर्न पाएको छैन । त्यसमा मेरो पनि जिज्ञाशा छ । संसदीय दलमा गरेको व्याख्याअनुसार हाम्रा नेताहरूले राम्रो काम गर्नु भएको छ भनेर विश्वास गरेका छौं । अब केही दिनमा सार्वजनिक होला । मुलुकलाई केन्द्रमा राखेर गरिएको सम्झौतालाई शंका नगरौं । अब सामान्य परिस्थितिमा बनेको सरकार होइन भने मन्त्रीहरू पनि सामान्य परिस्थितिमा बनेका होइनन् । 

एमाले र कांग्रेसले पुरानो संविधान ब्युँत्याउन खोजेको भन्ने आरोप लगाउँछन् त ?

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइराला नेतृत्वको सरकारले जारी गरेको यो संविधानको स्वामित्व ग्रहण गर्न चाहन्छौं । यो संविधानलाई दीर्घजीवी बनाउन चाहन्छौं । संविधान भनेको गतिशील दस्तावेज हो । समयसापेक्ष संशोधन आवश्यक हुन्छ । त्यसका लागि तयार छौं । पुरानो संविधान ब्युँत्याउने भन्ने वाइह्यात आरोपमात्रै हो ।

अबको सरकारमा कांग्रेसको भूमिका कस्तो हुन्छ ?

हामी समन्वयकारी भूमिका हुन्छौं । ठूलो दल भएर पनि कांग्रेस आफैंले सरकारको नेतृत्व गर्नुपर्नेमा राष्ट्रिय, अन्तर्राष्ट्रियसहित धेरैलाई चित्त नबुझेको पनि होला । हामीले सबैलाई कन्भिन्स गरेर राष्ट्रिय सरकार बनाउनका लागि पहल गर्ने हो । हामी जनताको मुद्दालाई सम्बोधन गर्दै अहिले देखिएको निराशालाई अन्त्य गर्ने अभियानमा छौं ।