देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखचिल्लीको उडानको बिजोक !


अरबी भाषाको दन्त्यकथामा वर्णित शेखचिल्लीको कथा, नेपालको प्रतिनिधिसभामा दोहोरियो– प्रचण्ड र रवि लामिछानेको धाक–धक्कुको पट्यारलाग्दो पुनर्वाचनबाट । विश्वासको प्रस्तावको पक्षमा मत माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक घण्टा २२ मिनेट लामो स्पष्टीकरणमा उनले गर्न खोजेको बहानामा गर्नै नसक्ने देश विकासको धोको कस्तो थियो र कति भ्याइयो अनि कति एमालेका अध्यक्ष ओलीले गर्न दिएनन्, ती सबै धुरुधुरु रोएर वर्णन गरे । 

शायद, उनलाई हत्या, हिंसा र आतंक मच्चाएर, कथित् जनयुद्धकालको अवधिमा देशको पूर्वाधार विकासका जुन संरचना तयार भएका थिए, तिनलाई ध्वस्त पारेर मुलुकलाई ५० वर्ष पछाडि धकेलेको अपराधबोधले चुकचुकी लागेको थियो, त्यसको पश्चाताप पनि थियो– उनको अर्थ न बर्थको भाषण । उनले आफ्नो बलबुताले गर्न नसकेका र गर्न नपाएका कामको लामो फेरिस्त सुनाएर आफ्नो डेढवर्षे कार्यकालको लाचारी यसरी प्रकट गरे, मानौं अब सत्ताको सोपानमा माओवादीको पाउ कहिलै पर्ने छैन । 

सबैलाई थाहा छ, डेढ वर्षसम्म लगातार प्रधानमन्त्री पदमा रहेका उनले एक दिन पनि देशमा सरकार भएको अनुभव जनतालाई गराउन सकेनन् । संसद्मा शासन चलाउन चाहिने संख्या हो– १३८ । माओवादीसँग ३२ सांसद छन् । ठूला दल कांग्रेसको ८८ र एमालेको ७९ सिट छ । प्रचण्डले एमालेसँग मिलेर दुई पटक र कांग्रेससँग मिलेर एक पटक गरी तीन पटक सरकार चलाउँदा संसद्बाट चार पटक विश्वासको मत आर्जन गरे । तर पाँचौं पटकमा उनी सत्ताबाट निकालिए । त्योे यसकारण कि कांग्रेस र एमाले मिलेर तीन वर्षको बाँकी अवघि सरकार चलाउने निर्णय गरेकाले प्रचण्डको सबै दाउ धराशायी भयो । रास्वपाको पनि माओवादीकै सती जान बाध्य भयो । 

तेश्रो स्थानमा अर्थात् सरकार चलाउनको समर्थन चाहिने ठाउँमा जम्मा ३२ सिट भएको पार्टीको नेताले ठूला पार्टीका नेतालाई छलछाम गरेर प्रधानमन्त्री त भए तर सचेत जनता र शिक्षित कर्मचारीलाई झुक्याउन सकेनन् । उनले सरकारमा बसेको अवधिमा माओवादीबाहेक कसैलाई पनि यो विश्वास दिलाउन सकेनन् कि उनी साँच्चै देशका प्रधानमन्त्री हुन् । उनलाई चीनले माओवादी मानेन, भारतले लोकतन्त्रवादी हुन सक्ने ठानेन,  क्रिस्तान चर्चका मालिक तथा आईएनजीओका व्यापारीले जुन बेला चाहिन्छ, त्यसबेला पैसा दिएर किन्न सकिने वस्तु मात्र ठाने, आफ्नो मानिस बनाउनपर्ने खाँचो कसैले अनुभव गरेनन्, त्यसैले उनलाई उचाल्न त सबैले उचाले, पुल्पुल्याए पनि तर विश्वास र भरोसा कसैले गरेनन् । गरेका भए देशभरिका सडक, पुल र विकासका अन्य योजना समयमा पूरा हुन्थे । कमसेकम भरतपुर र बुटवल राजमार्ग खण्डको जस्तो भताभुंग अवस्था ज्यूँ का त्यू रहने थिएन र उनको सुशासनको धाकधक्कुले उनी आफैंलाई गिज्याउने थिएन । विकास र सुशासनप्रतिको त्योभन्दा ठूलो व्यंग्य अर्को हुन सक्तैन । एकताका माओवादी भनेपछि अपहरणकारी र लुटेको पर्याय मानिन्थ्यो । अहिले त्यो ट्याग माओवादीका अतिरिक्त रास्वपाले पनि सेयर गरिदिएकाले प्रचण्डले त्यसमा सुशासन देख्नु र दाबी गर्नु चाहिँ अनौठो होइन ।  

त्यही कारण, उनको सम्बोधनमा बोकाको मुखमा कुभिन्डो बन्न पुगेको शब्द नै सुशासन थियो । कसैलाई पनि हजम हुन नसकेको मुख्य कुरा त्यही थियो । लोकतान्त्रिक शासन व्यवस्था ध्वस्त पारेर नौलो जनवाद कायम गर्न पार्टीको नाम नै माओवादी राखेका र त्यो नाम र कामबाट सत्ताको शिखर चढ्ने धोको पूरा हुने नदेखेपछि उनले चीनलाई चटक्कै छाडेर कसरी दिल्लीको दर्बानी सकार्न पुगेका थिए, ती सबै निकट अतीतका घटना भएकाले कसैले बिर्सेका छैनन् । त्यसरी नौलो जनवादबाट लोकतन्त्रमा रूपान्तरित भएका प्रचण्डले त्यसपछि १२ बुँदेको भारी किन र कसरी बोक्न वाध्य हुनु परेको थियो, त्यो वास्तविकता बिर्सेर सुशासनको एकहोरो रट लगाउन नछाडेको देख्दा उनकै दलका मानिस पनि आश्चर्यचकित भएका थिए । त्यस्तै भाषण थियो– रवि लामिछानेको पनि । उनी प्रधानमन्त्रीको प्रतिरक्षामा बोल्न रोस्टममा आएका थिए तर पूरा समय आफूले गर्न नसकेको कामलाई आफ्नो गौरवका रूपमा प्रस्तुत गरेर हद दर्जाको फटाहा सावित गर्न पुगे । संसद्लाई मात्र होइन, जनतालाई पनि यो भनेर ढाँटे कि भुटानी शरणार्थी काण्डको फाइल उनले खोलेका हुन् । जबकि त्यो फाइल खुलेको थियो– नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला । यो देश र जनतालाई ढाँट्ने शेखचिल्लीको उडान होे कि होइन ? 

अन्त्यमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डको लामो र पट्यारलाग्दो भाषणको जवाफमा मिर्जा गालिवको अत्यन्त सान्दर्भिक तथा सटिक सेर प्रस्तुत गरेका थिए । त्यसैलाई साक्षी राखेर यो टिप्पणी टुंग्याउँछु । 

उम्रभर गालिव, यही भूल करता रहा

धुल थी चेहरे पर आइना साफ करता रहा ।