देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक नेपालको भीष्म पितामह हुने अवसर गुमाएका नेता 


प्रथम जनआन्दोलनको सफलताको अनेकौं उपलब्धिहरूमध्ये एक नेपालीलाई जनताबाट नागरिकको हैसियतमा पु¥याउनुलाई मान्न सकिन्छ । त्यसैगरी अर्को राजाले खोसेको (पुस १, २०१७) संसदीय व्यवस्थाको पुनस्र्थापना । आन्दोलनको नेतृत्व तथा सफलताका अवतरणका निमित्त तीन नेपाली कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद (ट्रावाइका) को योगदानको वर्णन आवश्यक हुन्छ । आन्दोलनबाट लाभान्वित देशवासीले भने उहाँहरूलाई स्मरण गर्न छोड्दै छ । सीमित औपचारिकता का खातिर पुण्य तिथिहरू (जन्म तथा मृत्यु) मनाउन पनि कन्जुस्याइँ गर्न थालेको छ । 

अघिल्लो हप्ता (असार २०) स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शतवार्षिकी तिथि थियो । जीवित भएको भए उहाँ १०० वर्ष हुनुहुने । उक्त अवसरमा गिरिजा कोइराला प्रतिष्ठान तथा नेपाली कांग्रेस पार्टीले औपचारिकताकै निमित्त सानोतिनो कार्यक्रम गरे । दैनिक पत्रिकामध्ये काठमान्डु पोस्टको जुलाई ७ (असार २३) अंकमा प्राध्यापक अभि सुवेदीले आफ्नो नियमित कलम ‘गिरिजा बाबु ज ओड्यासिस’ लेख पस्कनुभयो । उहाँको सम्झनामा अन्य लेख तथा कार्यक्रम गरिएन । ज्ञानेन्द्रको हुकुमी शासनमात्र होइन सदाका निमित्त राजतन्त्रलाई बिदाइ गर्ने अहम् भूमिका उहाँले खेल्नु भएको हो । त्यसैगरी देशमा शान्ति स्थापना गर्न माओवादीलाई हिंसाको बाटो त्यागेर मूलधार राजनीतितर्फ डो¥याउने कार्य पनि उहाँकै नेतृत्वमा भएको थियो । छोटकरीमा भन्नुपर्दा उहाँ दोस्रो जनआन्दोलनका नायक तथा शान्तिप्रक्रियाको आर्किटेक हुनुहुन्थ्यो । उक्त उपलब्धिहरूको नेतृत्व गर्ने पात्रको सम्मान तथा सम्झना गर्न राष्ट्रले किन कन्जुस्याइँ गर्दैछ ? 

राजा महेन्द्र र बीपीबीच मेलमिलाप 

स्वदेशी तथा विदेशी विद्वानहरू राजाले १, २०१७ का दिन सेनाको परिचालन गरेर निर्वाचित सरकार तथा संसद्लाई भंग गरेका थिए । त्यसदिनदेखि खोजतलास गरिँदै छ राजा महेन्द्र र बीपीबीच मेलमिलाप किन हुन सकेन भन्ने विषयमा । अनेक जस्तै दुईको व्यक्तित्वको टकराबको कारण भन्ने धेरैले निष्कर्ष निकालेका छन् । कतिले काल्पनिक तर्क गर्छन् यदि यी दुईले मेलमिलाप गरेको भए राजतन्त्र अझै टिकिराख्ने थियो । देशको अर्थ राजनैतिक अवस्था बेग्लै हुने थियो । देशवासीले वर्तमान कालखण्डमा भोगेको नियति भोग्नुपर्ने थिएन । वास्तविकतालाई आत्मसात् गर्ने हो भने यो “उटोपियन” सोच हो ६ दशकपूर्वको राजनैतिक परिदृश्यका विषयमा अड्कलबाजी । 

यदि कृष्णप्रसाद र गिरिजाप्रसाद मिलिदिएको भए ? 

निकट विगत अर्थात् तीन दशकको घटनाहरूलाई स्मरण गर्ने हो अर्थात् कृष्णप्रसाद तथा गिरिजाप्रसादबीच मेलमिलाप भइदिएको भए ? यस विषयमा धेरै माथापच्चिस गरेका छैनन् समकालीन नेपाली तथा नेपाल सम्बन्धमा अभिरुचि राख्ने अध्येताले । बीपीको उत्तराधिकारी ट्रवाईका ३ सदस्यमध्ये सर्वमान्य नेता गणेशमान सिंहलाई प्रथम जनआन्दोलनको सफलतापश्चात् आफ्नो भूमिका दैनिकी राज्यव्यवस्थापनभन्दा माथि रहेको अनुभूति गरेको हुनुपर्छ । राजाले उहाँलाई उपलब्ध गरेका देश सञ्चालनको अभिभारा त्याग्नुको प्रमुख कारण यही थियो । राष्ट्र सञ्चालनको अभिभाराबाट मुक्त रहेर अभिभावकीय भूमिकामा रहने चाहना अनुरूप उहाँले राष्ट्र सञ्चालन गर्ने अवसर दोस्रो सदस्य कृष्णप्रसादलाई सुम्पिएका थिए । कालान्तरमा उहाँले आफू उपेक्षित भएको अनुभव गर्नुभयो । विरक्तिएर सक्रिय राजनीतिबाट अवकाश लिनुभयो । 

सर्वमान्य नेताको बहिर्गमनपश्चात् नेपाली कांग्रेस दलमा बीपीका दुई उत्तराधिकारीमात्र बाँकी भएका थिए । कृष्णप्रसाद र गिरिजाप्रसादको पारिवारिक पृष्ठभूमिका बीच समान थियो । दुवै राजनैतिक कारणले विदेशी भूमिमा शरणार्थी जीवन बिताइराखेका दुई परिवारमा एकै वर्ष (सन् १९२४) जन्मेका हुन् । दुवैको हुर्काइ, शिक्षादीक्षा पनि बनारसमा भएको हो । सक्रिय राजनीति अर्थात् कांग्रेस दलमा उहाँहरू दुवैले एकैपल्ट जस्तो प्रवेश गरेका थिए । एक प्रकारले २००७ सालको सशस्त्र आन्दोलनका सहयोद्धा । राजा महेन्द्रको कोपभाजनमा पनि उहाँहरू दुवै एकै पटक पर्नुभएको थियो । प्रथम जनआन्दोलनको सफलतापछि गठन गरिएको राजा तथा नागरिक प्रतिनिधि मिश्रित सरकारको नेतृत्व कृष्णप्रसादले गर्नुभयो भने आम निर्वाचनका निमित्त संगठनलाई सबल तुल्याउने अभिभारा गिरिजाप्रसादको रह्यो । आफ्नै निर्वाचन क्षेत्रमा अप्रत्याशित रूपले पराजय भोगेका कृष्णप्रसादले नै कांग्रेस संसदीय दलको नेता प्रस्ताव गिरिजाप्रसादलाई गरेका हुन् । वास्तवमा सर्वमान्य नेताको ‘रिजर्भेसन’का बाबजुद पनि कृष्णप्रसादको सौजन्यमा उहाँलाई ऐतिहासिक दोस्रो जननिर्वाचित सरकार प्रमुख (प्रधानमन्त्री) हुने अवसर प्राप्त भएको । त्यसपश्चात् तिनै नेताहरूबीच रहेको सम्बन्धमा धाजाहरू पर्न थाले । 

कार्यवाहक सभापति कृष्णप्रसादका निमित्त काठमान्डु उपत्यका छाड्ने तथा जनसम्पर्कमा रहनु उहाँको प्राथमिकता बाहिरको विषय थियो । जबकि गिरिजाप्रसाद देशको कुना काप्चामा पुगेर संगठनलाई मजबुत तुल्याउँदा रोमाञ्चित हुने स्वभाव थियो । उहाँ सर्वसाधारणको पहुँचमा रहन प्रयत्नशील हुनु हुन थियो । कार्यकर्ताको सामीप्यमा बस्न औधी रुचाउने तिनको स्वभाव थियो । जसले गर्दा ट्राइकाका तीन सदस्यमध्ये गिरिजाप्रसादलाई अन्य दुई नेताको भन्दा बढी पार्टी भित्र लोकप्रिय थिए । कृष्णप्रसादको छवि त्यागी शान्त नेताको थियो । गिरिजाको छवि खटिने कार्यकर्ता तथा सर्वसाधारणबीच रहने नेताको थियो । गिरिजाप्रसादले प्रधानमन्त्री पद सम्हालेपछिका दिनहरूमा उहाँ दुईबीचको सम्बन्धमा तिक्तता आउन थाल्यो । मेल मिलाप हुनुको साटो दुई बीचको सम्बन्धबीच को दरार बढ्न थाल्यो । कृष्णप्रसादले भोगेको दोस्रो पटकको पराजयलाई गिरिजाप्रसादले गरेको अन्तर्घात भन्ने बुझाई कांग्रेसजनबीच । त्यसैगरी गिरिजाप्रसादले नेतृत्व गरेको सरकार विस्थापित हुनाको कारण ३६से समूहले सरकारको नीति तथा कार्यक्रमलाई बहिष्कार गर्दाको परिणाम थियो । उक्त कार्य कृष्णप्रसादको इशारामा भएको निष्कर्ष कोइराला खेमाले निकाल्यो । तेस्रो आम निर्वाचनमा कृष्णप्रसादलाई तिनै गिरिजाले भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे । दलले बहुमत पनि कायम ग¥यो । कृष्णप्रसादको नेतृत्वमा सरकार गठन भयो । विडम्बना आफंैले प्रस्ताव गरेको प्रधानमन्त्रीको सरकार ढाल्न तिनै गिरिजाप्रसाद सक्रिय रहे । नौ महिना नपुग्दै सरकार विघटन भयो । कृष्णप्रसादलाई गिरिजाप्रसादले विस्थापित गरे । 

यदि यी दुई नेताबीच वैमनस्य फैलिएर एक अर्कोलाई षड्यन्त्र गरेर सत्ताच्युत गर्ने तथा एकले अर्कोलाई सत्तासीन हुने अवसर विमुख तुल्याउने कार्यविपरीत एउटाले दलको व्यवस्थापन तथा अर्कोले सरकार सञ्चालन गरेको भए इतिहास बेग्लै हुने थियो । बहुमत प्राप्त गरेको दल नेताको नेतृत्वमा गठन भएका सरकारले पूर्णकालीन कार्य गर्न पाउने थिए । सन्त नेताले सरकार सञ्चालन गर्ने गिरिजाप्रसादले दल हाँक्ने सहमति भइदिएको भए कांग्रेस दल भ्रष्टाचारको दलदलमा सायद फस्ने थिएन । अन्यथा कृष्णप्रसादको नेतृत्वको सरकारलाई गिरिजाप्रसादको नेतृत्वमा रहेको दलले बढी क्रियाशील तुल्याउन सक्ने थियो । 

ऐतिहसिक खेर गएका दुई सुवर्ण अवसरहरू 

इतिहासमा बिरलै प्राप्त हुने दुई अवसरहरू गिरिजाप्रसादलाई प्राप्त भएका थिए । प्रथम, बहुमत प्राप्तको संसदीय दल नेता हुने अप्रत्याशित थियो तिनी, तिनका दल तथा समस्त राष्ट्रका निमित्त । अन्तरिम सरकारको नेतृत्व गरेका सन्त नेताको योगदानलाई देश विदेशमा मुक्त कण्ठले प्रशंसा गरिएको थियो । तिनको निर्वाचनमा पराजय हुने सम्भावना अकल्पनीय थियो । यदि कृष्णप्रसादले पराजय नभोगेका भए गिरिजाप्रसादलाई कमसेकम पनि अर्को निर्वाचन कुर्नु नै पर्ने थियो । यदि कृष्णप्रसादले पनि गिरिजाप्रसादलाई विस्थापित गर्ने षड्यन्त्रविरुद्ध खडा भइदिएको भए । त्यस अवस्थामा गिरिजाप्रसादले जनमत अनुरूप पूर्णकालीन सत्ता सम्हाल्ने अवसरबाट विमुख हुनुपर्ने थिएन । 

दोस्रो गिरिजाप्रसादले राजा ज्ञानेन्द्रको हुकुमी शासनका विरुद्धमा बिगुल फुके । विघटित संसद्को पुनस्र्थापनाको माग गर्दै तिनले शान्तिपूर्ण आन्दोलनको सुरुवात गरे । कट्टर कम्युनिस्ट विरोधी छविका कोइरालाले माओवादीसँग शान्ति स्थापनाका निमित्त वार्तालाप सुरु गरे । एक दशक लामो हिंसा त प्रतिहिंसाले आक्रान्त नागरिकका निमित्त गिरिजाप्रसादको यस प्रयासले आशाको किरण धरातलमा देखा प¥यो । देशको कुनै भागलाई कब्जामा लिएर आधार इलाका निर्माण गर्न असफल रहेका माओवादीका निमित्त पनि हतियार बिसाएर शान्ति प्रक्रियामा सामेल हुने अवसर नितान्त आवश्यक भइसकेको थियो । अन्तर्राष्ट्रिय आतंकवादका विरुद्ध ऐक्यबद्धताले तिनलाई अस्तित्व गुम्ने त्रासले पिरोल्न थालेको थियो । 

दोस्रोपटक प्राप्त अवसरको सदुपयोग गर्न गिरिजाप्रसाद चुके । त्यसरी चुकेका प्रमुख थिए आधुनिक धृतराष्ट्र प्रवृत्ति । तिनले लोकतान्त्रिक नेपालको भीष्म पिता हुने अवसर पुत्रीमोहको चाक्सीमा चुर्लुम्म डुब्दा गुमाए । एकपछि अर्को भ्रष्टाचारका काण्डहरू रचिए । धमिजा तथा लाउडा काण्डबाट पाठ नसिकेर सुडान घोटाला प्रकरणमा तानिए । तिनकै कार्यकालमा नेपाली कांग्रेस देशमा सुशासन कायम गर्न अदक्ष दलका रूपमा स्थापित हुन पुग्यो । 

निश्चय नै निकट विगतका घटनाहरूबाट यदि केही पाठ सिक्न सकिन्छ भने त्यो हो सत्ता मोहका कारणले गर्दा हुने अन्तरदलीय संघर्ष । तथा पाएको राष्ट्रिय दायित्वलाई राष्ट्राध्यक्ष धृतराष्ट्र प्रवृत्तिको कारणले गुमाउँदाका परिणाम । पाएका अवसरहरूको सदुपयोग नगर्नेलाई इतिहासले माफी गर्दैन भन्ने पाठ ।