देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गौतमबुद्ध क्रिकेट रंगशालालाई थपियो बजेट

देशान्तर

काठमाडौं । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई करिब २ करोड रुपैयाँ बजेट थपेको छ  । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माणाधीन रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको लागि उक्त रकम भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।

प्रदेश सरकारले यसअघि नै सो रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट पठाएको उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ ।

उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने गरी लागत अनुमान प्रतिवेदन तयार गरेको थियो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।