देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस–एमाले गठबन्धनः धोका खाएकाहरूबाट उथलपुथल




काठमाडौं । आफूस“ग जादुयी नम्बर रहेको र आफूलाई कसैले हटाउन नसक्ने भन्दै पछिल्लो डेढ वर्षदेखि कहिले एमाले त कहिले कांग्रेसको टेको लि“दै प्रधानमन्त्री बनिरहेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई गत फागुन ३० मा संसद्मा तेस्रो पटक विश्वासको मत लि“दै गर्दा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भनेको थिए, तपाईंंबाट धोका पाएकाहरू एक ठाउ“ पुगे भने, धोका भयो भनेर नारा लगाए भने तपाईंको अवस्था के होला कमरेड ? त्यतिबेला प्रचण्डले कांग्रेस महामन्त्री शर्माको यो प्रश्नलाई सत्ताबाट बाहिरिनु पर्दाको प्रतिक्रियाको रूपमा मात्रै बुझे र जानी दुस्मन कांग्रेस र एमालेबीच सत्ता सहकार्य हुनै नसक्ने अराजनीतिक सोच पालेर बसे । तर, चार महिना पनि नबित्दै, कांग्रेसले जे भनेको थियो त्यही भयो, त्यो पनि प्रतिपक्षमा रहेको कांग्रेसको सक्रियतामा नभई स्वयम् प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा रहेको दल नेकपा एमालेको सक्रियता र पहलमा ।

असार १७ गते कांग्रेस र एमालेका बीचमा भएको सहमतिले केबल सत्ता परिवर्तन मात्रै गर्दै छैन, प्रचण्डका कारण मुलुकमा मौलाएको राजनीतिक अस्थिरताको अन्त्यमात्र गर्ने छैन भने आफूलाई नेपाली राजनीतिको चतुर खेलाडी भएको भ्रममा बा“चेका प्रचण्डको चातुर्यताले पनि विश्राम पाउने भएको छ ।सत्ता गठबन्धनको ठूलो दल एमालेले सत्ता छाड्दै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको अवस्थामा सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आडमा प्रचण्डले अझ केही दिन सत्ता लम्ब्याउने दुस्साहस गर्दा उनको प्रधानमन्त्री पद एक साता त लम्बिने भएको छ, तर, त्यसपछि उनी नेपाली राजनीतिको निर्णायक भूमिकाबाट कम्तीमा सदनको यो कार्यकालका लागि बाहिरिने छन् । कांग्रेस, एकीकृत समाजवादीलगायत दलहरूसँग गठबन्धनबाट चुनाव लडेर मुस्किलले ३२ सिट ल्याएका प्रचण्ड आगामी निर्वाचनमा योभन्दा पनि दयनीय अवस्थामा पुग्ने संकेत देखिइसकेको छ ।


राजनीतिक स्थायित्व र संविधान संशोधनको एजेन्डासहित कांग्रेस र एमाले यसरी मिल्ने अवस्थाका मुख्य कारक स्वयम् प्रचण्ड नै रहेको राजनीतिक दलका नेताहरूको बुझाइ छ भने उनकै अस्थिर चरित्रका कारण संविधानको समेत सही अर्थमा कार्यान्वयन हुन नसकेको राजनीतिक क्षेत्रका विश्लेषकहरू बताउँछन् । गठबन्धन फेरबदल नगरी सहमतिअनुसार सत्ता सञ्चालन गर्न सकेको भए मात्र प्रचण्ड सफल हुने थिए । तर, गठबन्धन फेरबदललाई मात्र उथलपुथल ठान्ने प्रचण्ड उनकै चरित्रका कारण उनीबाटै धोका खाएकाहरूबाट उथलपुथलमा परेका छन् र सत्ताबाट बाहिरिँदै छन् । कांग्रेससँग गठबन्धन गरेर स्थानीय र आमचुनाव लडेका प्रचण्ड तेस्रो स्थानमा खुम्चिँदासमेत प्रधानमन्त्री नपाएको भन्दै बालुवाटारबाट सीधै बालकोट हानिए र बालकोटको बार्दलीमा केपी शर्मा ओलीसँग हात हल्लाउँदै पुस १० मा प्रधानमन्त्री बने । तर, बालकोटसँगको सहकार्य उनले दुई महिनाभन्दा बढी अगाडि बढाउन सकेनन्, राष्ट्रपति चुनावको बेला फेरि कांग्रेसमै फर्किए । उनले त्यतिबेला ओलीसँग काम गर्न निकै अप्ठेरो परेको सुनाए । कांग्रेससँग मिलेर एक वर्ष सत्ता सञ्चालन गरेका प्रचण्डले गत फागुन २१ मा फेरि कांग्रेसलाई छोडेर एमालेको कित्तामा पुगे ।


प्रचण्डबाट पालैपालो धोका पाइसकेका दलहरूलाई उनले फेरि पनि फकाउने प्रयास नगरेका भने होइनन् । पछिल्लो पटक मात्रै उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए । तर, त्यतिबेला देउवाले प्रचण्डलाई समय घर्किसकेको जवाफ दिए । ठूला दलहरूलाई भिडाएर सधैं सत्तामा रमाउने चरित्रको विकास हुनुमा अहिलेको निर्वाचन प्रणाली रहेको र यसलाई संशोधन नगरेसम्म यो चरित्रको पूर्ण रूपमा अन्त्य नहुनेमा पनि दुई दल एकमत भएका छन् ।
कांग्रेस एमालेले सत्ता सहकार्यसँगै निर्वाचन प्रणाली संशोधनलाई पहिलो प्राथमिकतामा राखेका छन् । हाल प्रचलनमा रहेको मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्ने र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट मात्रै सांसद चयन गर्ने दुई दलको सहमति छ । प्रत्यक्षमा एक दुई सिट जित्ने र नजित्ने दलले पनि समानुपातिकबाट केही सिट जित्ने र सत्ताका लागि बार्गेनिङ गर्ने परिपाटी बढ्दा राजनीतिक अस्थिरता बढेकोले यसलाई संशोधन गर्नैपर्ने दुई दलको सहमति छ । यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने र कांग्रेस एमाले गठबन्धनमा अन्य दललाई पनि समावेश गर्ने उनीहरूको योजना छ ।


कांग्रेस र एमालेले संविधान संशोधन र राष्ट्रिय सहमतिको सरकारको एजेन्डासहित नयाँ गठबन्धन बनाउने सहमति गरिरहेका बेला कतिपयले भने सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेको र नक्कली शरणार्थी प्रकरणका मुख्य बिचौलिया भनिएका बेचन झा पक्राउ परिसकेकाले राजनीतिक सम्बन्ध खुल्न सक्ने डरले कांग्रेस र एमाले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरेका छन् । तर, बेचन झा पक्राउ गर्नु अगावैदेखि कांग्रेस र एमालेका नेताहरू नयाँ गठबन्धनको गृहकार्यमा थिए । कांग्रेसका एक नेताका अनुसार गत वैशाखदेखि जारी नयाँ गठबन्धनको गृहकार्य असार १७ मा पूरा भएको हो ।