देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

च्याँखे थाप्दै प्रचण्ड

देशान्तर


काठमाडौं । सत्ता गठबन्धनको मुख्य दल नेकपा एमाले र सत्ता लम्ब्याउनकै लागि जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल फुटाएर बनाइएको अशोक राई नेतृत्वको जनता समाजवादी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको अवस्थामा आफू अल्पमतमा परिसक्दा पनि ठूला दलहरूलाई खेलाएर सत्तामा टिकिरहन बानी परेका माओवादी सुप्रिमो पुष्पकमल दाहाल उर्फ प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएका छैनन् र संविधानमा रहेका कुनै छिद्र प्रयोग गरेरै भए पनि पद लम्ब्याउन सकिन्छ कि भन्ने दाउपेचमा लागे पनि उनको सत्ता अब नलम्बिने स्पष्ट भएको छ ।
कांग्रेस र एमालेले सरकार अल्पमतमा परिसकेको र अर्को गठबन्धन सम्भव नै नहुने भन्दै राजीनामा दिन आग्रह गरे पनि प्रचण्डले राजीनामा दिएका छैनन् र उल्टै असार २८ मा संसद्बाट विश्वासको मत लिने भन्दै संसद्मा पत्र पठाएका छन् । कांग्रेस र एमाले दुवै दल एक ठाउँमा रहँदा अर्को गठबन्धन बन्न सम्भव छैन भन्ने जान्दाजान्दै पनि प्रचण्डले किन संसद्मा विश्वासको मतको सामना गर्ने अडान लिएका छन् त ? यसका केही कारण छन्


अन्तिम समयसम्म पुग्दा कांग्रेस र एमालेमध्ये कुनै एक दललाई सहमतिबाट भड्काउन सकिन्छ कि भन्ने ध्याउन्नमा प्रचण्ड लागेका छन् । कांग्रेस र एमाले छलफलमा जुटेको सुइँको पाएलगत्तैदेखि कहिले कांग्रेस सभापति शेरबहादुर देउवा त कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कयौंपटक एक्लाएक्लै भेटवार्ता गरेका प्रचण्डले असार १७ यता पनि अनौपचारिक रूपमा संवाद गरिरहेका छन् । विशेषगरी बजेट सार्वजनिक भएपछि एमालेको असन्तुष्टि छताछुल्ल भइरहँदा प्रचण्डले देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव राखेका थिए । एमालेले जुनसुकै बेला अप्ठेरो पार्न सक्ने बताउँदै मिलेर सरकार चलाउन प्रचण्डले देउवालाई आग्रह गरेका थिए । एक वर्ष आफैं प्रधानमन्त्री बन्ने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क रहन उनले आग्रह गरे । तर, एमालेसँग संवादमा रहेका देउवाले प्रचण्डलाई कुनै जवाफ दिएनन् । बरु मिलेर सरकार चलाउन सुझाव दिए । असार १८ मा कांग्रेस पदाधिकारी बैठक बसिरहँदासमेत प्रचण्डले देउवालाई फोन गरेर प्रधानमन्त्रीको अफर गरेका थिए, तर, देउवाले च्याप्टर क्लोज भइसकेको जवाफ दिए ।


उता, कांग्रेससँग संवादमा रहेका ओलीसँग पनि प्रचण्डले बारम्बार छलफल गरे । असार १७ बिहान पनि तीन घण्टा प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो, जहाँ प्रचण्डले सहमतिअनुसार सत्ता हस्तान्तरण गर्ने र त्यसमा कुनै शंका नगर्न ओलीलाई आग्रह गरेका थिए । सो भेटवार्तामा प्रचण्डले कांग्रेससँग भएका छलफलका बारेमा ओलीलाई सोधे पनि ओलीले भने इन्कार गरेका थिए । कुनै पनि प्रयास असफल भइरहेका बेला प्रचण्डले अहिले फेरि एक साताको म्याद राखेर संसद् फेस गर्ने तयारी गरेका छन् । सके कांग्रेस र एमालेलाई फुटाएर सत्ता लम्ब्याउने नसके संसद्मा विपक्षी मोर्चाको नेता बन्ने प्रचण्डको योजना रहेको माओवादीका एक नेताले बताएका छन् ।