देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपा महामन्त्री ढकाल निलम्बनमा

देशान्तर

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनीष झाले बताए ।

महामन्त्री ढकालमाथि लिनुपर्ने कारबाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रूपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको थियो।

महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६(१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको तत्काल गरेको सिफारिसबमोजिम महामन्त्री तथा प्रवक्ता पदबाट सात दिनका लागि निलम्बन गर्ने सर्वसम्मत निर्णय भएको सहप्रवक्ता झाले बताए।

साथै ढकालले गरेको पार्टी अनुशासनविपरीतको गतिविधिका सम्बन्धमा प्रतिवेदन तथा यथोचित कारबाहीको सम्बन्धमा केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

केन्द्रीय समितिले सभापतिको प्रस्तावमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ता तोकेको छ।

निलम्बनको निर्णयपछि महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका नदिई कारबाही गरेको गुनासो गरेका छन् । ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यासअनुरूप कसैलाई पनि कारबाही गर्नुअघि स्पष्टीकरणको मौका दिनुपर्छ । स्पष्टीकरणको मौका पनि नदिई कारबाही गरियो,’ उनले भनेका छन्।

त्यसअघि महामन्त्री डा. ढकालको समीक्षा प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको थियो । पार्टीको नीति, नेतृत्व र कार्यशैलीको कडा आलोचना गरिएको प्रतिवेदन सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले वाचन गरेर बुधबारको केन्द्रीय समितिमा पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्दै महामन्त्री ढकालको कार्यसम्पादन र कार्यशैलीको कडा आलोचना गरेका थिए । उनीमाथि कारबाहीको मागसमेत उठेको थियो।