देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा एसको महाधिवेशनमा कस्ले के भने ?

देशान्तर

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी ढंगले संसद विघटन गरेपछि व्यवस्थाको रक्षा गर्नको लागि माधव नेपालले विद्रोह गरेर महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगिएको बताए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेताहरु सबैको भाषणमा जनताको चिन्ता भएपनि व्यवहारमा नभएको बताए । रास्वपाका सभापति समेत रहेका लामिछानेले सबै नेताहरुलाई जनजीविकाको सवालमा एकै ठाउँमा उभिन कसैले नरोकेको बताए । राष्ट्रिय मुद्दामा छलफल गर्नको लागि सर्वदलीय बैठक राख्न आग्रह गरेका छन् । उनले नेताहरुले भनेजस्तो लोकतन्त्रमा कुनै खतरा नभएको जिकिर गरे ।

कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सिंगो समाजवादी आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन् । उनले समाजवादको यात्रा तय गर्ने आधारबारे छलफल गरेर अघि बढ्न ढिलाइ गर्न नहुने बताए । नेकपा एस ऐतिहासिक भूमिका पूरा गरेर आएका व्यक्तित्वहरुको पार्टी भएको उनले बताए । जसपाका अध्यक्ष अशोक राईले नेकपा एसको राष्ट्रिय महाधिवेशन मित्रभेट जस्तो लागेको बताए ।

उनले जसपा नेपालको अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएको कार्यक्रममा भने, ‘मलाई यो महाधिवेशन मित्रमिलन जस्तो पनि लागिरहेको छ । ११/१२ वर्षसम्म सँगै काम गरेका धेरै नेता र साथीहरूसँग आज देखाभेट हुने अवसर परेको छ ।’ यसैगरी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा महिनाको १५ दिन पाँच तारे होटलमा खाना खाने नेताहरुले समाजवाद ल्याउन नसक्ने बताए । उनले कर्णालीका नागरिकले बिरामी हुँदा सिटामोल नपाउने देशमा विदेशमा गएर उपचार गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए ।
उनले नागरिकका छोराछोरी सरकारी अस्पतालमा जाने तर सरकारी अस्पतालको गुणस्तर सुधार नगर्ने र आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गर्ने नेताहरु समाजवादी हुन नसक्ने बताए । अध्यक्ष राउतले समाजवादी बन्न हुनुपर्ने मापदण्ड नेताहरुले पालना गर्न नसकेको बताए ।