देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्थिरताका प्रतीक प्रचण्ड अस्थिरता निम्त्याउ“दै

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं । डेढ वर्ष पनि नहु“दै तीन पटक गठबन्धन फेरेर चार पटक विश्वासको मत लिने माओवादी सुप्रिमो पुष्पकमल दाहाल उर्फ प्रचण्ड आफू सत्ता र शक्तिमा रहिरहन जे पनि गर्छन् र जे पनि बोल्छन् भन्ने कुरा त उनका अभिव्यक्ति र व्यवहारबाट पुष्टि हु“दै गइरहेको छ भने, मूलधारको राजनीतिमा आएको दुई दशक पनि नपुग्दै उनी अस्थिरताको प्रतीकको रूपमा स्थापित हुन पुगेका छन् । केही सातादेखिका उनका अभिव्यक्तिले त उनी मूलधारको राजनीतिमा रहिरहे भने मुलुकको राजनीतिलाई नै पूर्णरूपमा अस्थिर बनाएर आफू सत्तामा टिकिरहने दाउमा रहेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् ।आफू कमजोर रहेका बेला आफ्नै साथी सहयात्रीलाई पनि दुस्मनदेख्ने र आक्रमण भयो भन्ने तथा बलियो भएका बेला सबैलाई पाखा लगाउने उनको रणनीतिले माओवादी पार्टी त कमजोर भयो नै, मुलुकको समग्र राजनीति प्रणाली र शासन व्यवस्था नै लथालिंग भएको छ ।


प्रचण्डको बोली र व्यवहार अर्थात् निर्णय र कार्यान्वयनमा एकरूपता नभएकै कारण उनले गरेका निर्णय लागू हुन सकेका छैनन् । आफू र आफ्ना केही निकटस्थको स्वार्थमा तथा सत्ता लम्ब्याउने चालबाजीमा सरकारले जे पायो त्यही निर्णय गर्ने उनको प्रवृत्तिले राष्ट्रिय रूपमा मात्रै अन्तर्राष्ट्रिय रूपमा नै बदनामी कमाइरहेको छ । बालकोटबाट एमाले अध्यक्ष केपी ओलीले दिएको निर्देशनमा हठात ११ देशका राजदूत फिर्ता गरेर भारत भ्रमणमा गएका उनी भारतमै कमजोर देखिए, आफैंले फिर्ता बोलाएका राजदूतलाई सँगै राखेर भारतीय अधिकारीहरूसँग भेटवार्तामा लाग्नु उनकै लागि पनि पाच्य थिएन तर, ओलीको चित्त बुझाउन गरिदिए, त्यसको परिणाम पनि भोगिहाले ।
हतारमा ८ राजदूत नियुक्तिका लागि मन्त्रिपरिषद्बाट सिफारिस गराएका प्रचण्डलाई अहिले त्यही सिफारिस गलपासो भएको छ । एमालेबाट सिफारिसमा परेका सुशील प्याकुरेलले त पद नै अस्वीकार गरिदिए पनि माओवादी र जसपाबाट सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको सूचीलाई लिएर उनले सदनमै जवाफ दिनुप¥यो । राजदूत फिर्ता र नयाँ सिफारिसमा कमजोरी भएको स्वीकार गर्दै उनले सच्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु प¥यो ।


मुलुकको आवश्यकता र परिस्थितिलाई मूल्यांकन नै नगरी बालकोटको इशारामा धमाधम निर्णय गर्दा कतिबेला उनी आफैं खाल्डोमा फस्छन् भन्ने पत्तै छैन । आफूलाई समकालीन राजनीतिको चतुर खेलाडी ठान्ने र कसैले पनि हल्लाउन नसक्ने बताउने प्रचण्डलाई प्रधानमन्त्री बनिरहने भन्नेबाहेक अरू चिन्ता देखिएकै छैन । सत्ता गठबन्धनमा बिग्रह देखिन थालेपछि अत्तालिएका प्रचण्डले पछिल्लो पटक एक कार्यक्रममा त आफूलाई कसैले हटाउन नसक्ने दाबीसमेत गरे । २७५ सदस्यीय संसद्मा जम्मा ३२ सिटमा खुम्चिएको माओवादीको यो संख्यालाई उनले जादुयी नम्बरको दाबी गरिरहेका छन् । आफूसँग जादुयी नम्बर रहेको र कसैले उपेक्षा गर्न नसक्ने उनको मनोरति छ । तर, उनले माओवादीलाई छाडेर अन्य दल मिल्न पनि सक्छन् भन्ने कल्पनासमेत गरेका छैनन् । चुनावमा कांग्रेस बुइँ चढ्दासमेत ३२ सिट ल्याउनुलाई उनले बहादुरी सम्झेका छन् । एक अर्थमा यो स्वाभाविक पनि हो कि कांग्रेससँग नमिलेको भए माओवादीलाई राष्ट्रिय पार्टी बन्नसमेत मुस्किल पर्ने थियो ।


फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोड्दै गर्दा उनले विकास, सुशासन र समृद्धिका लागि कांग्रेसबाट साथ नपाएको आरोप लगाएका थिए भने अर्थतन्त्र सुधारका लागि समस्या भएको दाबी गरेका थिए । तर, अहिले आफ्नै विश्वासपात्रलाई अर्थमन्त्री बनाउँदासमेत अर्थतन्त्रले गति लिन सकेको छैन, बजार चलायमान बनेको छैन, उद्योगीहरूले उद्योग सञ्चालन गर्न सकेकै छैनन् । सेवा प्रवाह र सुशासनको विषयले त उनलाई गिज्याइरहेको छ । मुख्यसचिववैकुण्ठ अर्याल नै भ्रष्टाचारको मुद्दामा पर्नुले उनको नाकमा हिलो छ्यापिएको छ । सरकारका हरेक निर्णय उतार्ने तथा कार्यान्वयन गर्ने निजामती सेवाको मुख्य व्यक्ति र प्रधानमन्त्रीका मुख्य सहयोगी अर्याललाई पदमा ल्याउनैका लागि उनले विगतमा जे जे हर्कत गरेका थिए,त्यसले समग्र सरकारको चित्र उदांगो पारिदिएको छ ।


राष्ट्रिय परिचयपत्र प्रकरणमा प्रचण्ड सरकारले जनतालाई जसरी सास्ती दिएको छ, त्यो त भनिसाध्य छैन । गाउँगाउँमा सिंहदरबार भन्दै ल्याइएको संघीयतामा समेत नागरिकले एउटा सामान्य परिचयपत्रका लागि कयौं दिन सदरमुकाम धाउनु परेको छ भने त्यसमाथि ज्येष्ठ नागरिकले सरकारी कर्मचारी र सुरक्षाकर्मीको अनाहकमा हप्कीदप्की खेप्नु परेको छ ।सवारीचालक अनुमतिपत्र लाइसेन्स, विपद्को उद्धार तथा राहतलगायत विषयमा पनि प्रचण्ड सरकार जनताबाट टाढिँदै गएको छ । राजनीतिक र नियमित कामकारबाहीका दृष्टिले पनि प्रचण्ड सरकार असफल बन्दै गएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् भने सरकारमै सहभागी दलहरूले पनि आत्मसमीक्षा गर्न थालेका छन् । सहकारी ठगीमा संलग्नलाई गृहमन्त्रालयको साँचो बुझाउनुले उनको नियतमाथि नै आशंका व्यक्त गरिएको छ ।


माओवादी २०५२ सालमा भूमिगत भएदेखि नै मुलुकमा राजनीतिक अस्थिरताको उदय भएको र त्यसको मुख्य कारण प्रचण्ड नै हुन् भन्नेमा कतै छिपेको छैन । पहिले भारत र राजासँग मिलेर संसद्वादी दलमाथि आक्रमण गर्ने, पछि संसद्वादी दलसँग मिलेर राजामाथि प्रहार गर्ने अनि शक्तिमा पुग्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय जोसुकै शक्तिको पनि बुइँ चढ्ने प्रवृत्तिकै कारण अहिलेको अवस्था आएको हो । शक्तिमा पुग्नका लागि कांग्रेस, एमालेमात्रै होइन, राजावादी र सहकारी ठगीमा लाग्नेहरूसँग समेत कुम जोड्न पछि नपर्ने प्रचण्डका कारण आगामी केही वर्ष मुलुक अझै अस्थिरतामा फसिरहने विश्लेषकहरूको मत छ ।