देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ढकालको प्रतिवेदनले रास्वपामा भुइँचालो

देशान्तर


काठमाडौं । परम्परागत र मूलधारका दल तथा तिनका नेतालाई गाली गरेर वैकल्पिक शक्तिको आवरण दिँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा स्थापनाको दुई वर्ष बित्दा नबित्दै अर्को चुनावसम्म पार्टी नै रहने हो कि नरहने अवस्थामा पुगेको छ । काण्डैकाण्ड बोकेर राजनीतिमा होमिएका सभापति रवि लामिछाने नै आफू कारबाहीबाट जोगिन आफैंले गाली गरेका र नो नट अगेनको अभियान चलाएका दल र नेतासँग मिलेर सत्ताका लागि साँठगाँठ गरेपछि देखिन थालेको विग्रह र विवाद तथा वितृष्णा यतिबेला उत्कर्षमा पुगेको छ र महामन्त्री मुुकुल ढकालले देशका ३८ जिल्ला पुगेर ३ हजारभन्दा बढी कार्यकर्ता, सदस्य तथा आम नागरिकसँग बुझेर तयार पारेको प्रतिवेदनले रास्वपाको भविष्य यत्तिमै सीमित हुने सम्भावना बढेको छ भने, सत्ता छोड्यो भने कारबाहीको भागीदार बन्ने निश्चित भएका सभापति लामिछाने र उनका हिमायतीहरूको बुझाइमा पार्टीमा भुइँचालो ल्याउने अनुमान गरेका छन् । विश्वस्त सूत्रका अनुसार, प्रतिवेदन बुझ्दै सत्यता स्वीकार्ने बताएका सभापतिले महामन्त्री ढकाल आफूविरुद्ध लागेको निष्कर्षका साथ कारबाही गर्ने तयारीसमेत थालेका छन् ।


खासगरी १५ वैशाखमा भएको उपनिर्वाचनमा इलाममा शर्मनाक हार व्यहारेपछि रास्वपाले महामन्त्री ढकाललाई संगठनको अवस्था, पार्टीप्रतिको जनअपेक्षा तथा जनमत बुझ्न समीक्षा यात्रामा पठाएको थियो । एक महिना लामो यात्राका क्रममा ढकालले जे पाए र त्यसलाई आधार मानेर जुन प्रतिवेदन सभापति लामिछानेलाई बुझाए त्यसले नीलो झण्डा बोक्ने रास्वपाको कालो भविष्य उजागर गरिदिएको छ । पछिल्लो पटक सरकारमा सहभागिता, सभापति लामिछानेलगायत नेताको अनियन्त्रित बोली, मन्त्री र सांसदहरूको शैलीलगायतले पार्टी झन्झन् कमजोर बन्दै गएको र यही अवस्था रहे आगामी २०८४ सालको चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न मुस्किल हुने निष्कर्ष मुकुलले निकाले, जसले रास्वपाका नेतादेखि समर्थकसम्म तरंग ल्याइदिएको छ । मुकुलले समीक्षा यात्रामा आखिर के पाए त ?किन रास्वपामा यस्तो विग्रह र विवादको अवस्था आयो ?प्रतिवेदनमा उनले खुलाएर लेखिदिएका छन् र यसको कारण सभापति लामिछानेमाथि पनि सोझिएको छ । सभापतिसहित पदाधिकारीहरू, सांसदहरू तथा मन्त्रीहरूसम्म दोषी देखिएपछि अहिले उनै मुकुल घानमा परेका छन् र आफूहरूलाई दोषी देखाउने मुकुलमाथि नै कारबाहीको डन्डा चलाउन एकजुट भएका छन् ।


अघिल्लो पटक सरकारबाट बाहिरिएपछि सभापतिले दिएको अभिव्यक्ति, उनीमाथि लागेको सहकारी ठगीको आरोप र त्यसको प्रतिरक्षामा उनले देखाएका कमजोर प्रमाण, संसद्मा रविको बोली तथा हचुवाका भरमा अन्य दलका नेतामाथि लगाएको आरोपले संगठनमा गम्भीर असर परेको र सभापति नै हचुवा र आक्रोशको भरमा चलेको आम नागरिक तथा समर्थकले बुझेको मुकुलले प्रतिवेदनमा उल्लेख गरेका छन् । त्यस्तै सत्ताका लागि प्रचण्ड र ओलीसँग गरेको सहकार्यलाई पनि समर्थकले नरुचाएको उनले स्पष्ट रूपमाप्रतिवेदनमा लेखेका छन् । ओली र प्रचण्डको सट्टा स्वतन्त्र मेयरहरू बालेन साह, हर्क र गोपी हमालहरूसँग सहकार्य गर्दा जनतामा आशा जगाउन सकिने पनि मुकुलको निष्कर्ष छ ।


३२ पृष्ठको प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको छ । डा. ढकालले प्रतिवेदनमा भनेका छन्, ‘जनताको प्रशासन सुधार हो । प्रदेश सरकार जनताको माग र चाहना केही पनि होइन । राजनीतिक दलका नेता–कार्यकर्ताको व्यवस्थापनभन्दा अर्को उपलब्धि प्रदेश सरकारबाट केही पनि भएको छैन । प्रदेश संरचनापछि प्रशासन सुधार होइन, झन्झन् अस्तव्यस्त बनिरहेको छ । तसर्थ प्रदेश खारेज गरी प्रशासन सुधारको एजेन्डा उठाउनुपर्छ ।’ उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पनि वकालत गरेका छन् । हुन त अहिले पनि रास्वपाको यही नै हो । तर, यसलाई अझै स्पष्ट र मुखरित रूपमा एजेन्डा बनाएर जानुपर्नेमा उनको जोड छ ।
डा. ढकालले गणतन्त्र र धर्मनिरपेक्षताका विषयमा भने कुनै पनि टिप्पणी गरेका छैनन् ।गत आम निर्वाचनबाट संसद्को चौथो राष्ट्रिय दलका रूपमा उदाएको रास्वपालाई कतिपयले ‘खहरे’ को संज्ञा दिने गरेका बेला महामन्त्री स्वयंले नै पार्टी यही बाटोमा रहेको औंल्याएका छन् । रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीपनि महामन्त्री ढकालको प्रतिवेदनसँग सहमत देखिन्छन् । तर सहमहामन्त्री बुर्लाकोटीले भने पार्टीको अवस्था ठीकठाक नै रहेको दाबी गरेका छन् ।


पेसाले चिकित्सक मुुकुलले सुझाव पनि चिकित्सकीय शैलीमा दिएका छन् र भनेका छन्, पार्टी गम्भीर बिरामी परेको र अब यसलाई शल्यक्रिया गरेर मात्र बचाउन सकिन्छ, यसको आरम्भ सभापतिबाटै हुनुुपर्छ । पहिले रवि लामिछानेका विश्वासपात्र मानिएका मुकुल यो प्रतिवेदनसँगै रविको निशानामा परेका छन् । आफूले आफैंलाई चामत्कारिक र निर्दोष दाबी गर्ने रविले आफूलाई दोषी देखाउने मुकुललाई नै कारबाही गरेर जिम्मेवारी खोस्ने रणनीति अघि सारेका छन् र अन्य नेताहरूले पनि रविलाई नै साथ दिएका छन् । स्थापनाको ६ महिनामै भएको संसदीय निर्वाचनमा २० सिट र उपनिर्वाचनमा १ सिट थप गरी २१ सिटसहित राष्ट्रिय पार्टी बनेको रास्वपा अन्ततः दुई वर्षमै विभाजनको संघारमा पुगिसकेको छ ।