देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बहुदल विरोधी बालेन

देशान्तर


काठमाडौं । राजनीतिक दलहरूप्रति वितृष्णा बढेको मौकामा चौका हानी अनपेक्षित र अप्रत्याशितरूपमा मुलुकको प्रशासनिक राजधानी काठमाडौं महानगरपालिकाको मेयर बनेर चर्चा कमाएका बालेन्द्र साह उर्फ बालेनको गत दुई वर्षका कामकारबाही र अभिव्यक्ति बहुदलीय व्यवस्था विरोधी र अराजक त थियो नै, उनी आफैंले बोलाएको नगरसभामा ९० प्रतिशतभन्दा बढी नगरसभासद्को मागको अवमूल्यन गर्दै अनुपस्थितिले उनी अहम्, दम्भ र एकतन्त्रीय शासनको पक्षमा रहेको पुष्टि भएको छ । ऐतिहासिक र स्थापित मुलुकका प्रमुख राजनीतिक दलहरूलाई होच्याएर नै लोकप्रिय बनिन्छ भन्ने मानसिकता बोकेका बालेनले काठमाडौं महानगरको नगरसभामा गणितीय हिसाबमा आफू साह्रै नै कमजोर भएको स्वीकार्न नसकेर ‘मोबाइलको स्विच अफ’ गरी अर्को जगहँसाइको काम गरका छन् ।


स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ ले नगरसभामा पेस भएको १५ दिनभित्र पारित गर्नुपर्ने व्यवस्था गरेको छ । तर, मेयर बालेन्द्र नगरसभा बोलाएर मोबाइल अफ गरेर बेपत्ता भएका छन् । नीति तथा कार्यक्रम नै पारित नगरेरै बजेट पेस गर्न लगाएका मेयर बालेन्द्रको उट्पट्याङले महानगर बेहाल स्थितिमा पुगेको हो ।
शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको नगरसभा मेयर बालेन्द्र गायब भएपछि बैठक नबसी नगरसभा सदस्य र निम्तालुहरू निन्याउरो मुख लगाएर फर्किएका थिए । नगरसभाका लागि तयार पारिएको एलईडी डिस्प्ले दैनिक एक लाख बढीको भाडा, झन्डै २ सय जनालाई बनाएको खाजा खाना, लाइभका लागि ३० हजारमा भ्याटबाहेक गरेर ठूलो घाटा लगाएर मेयर बालेन्द्र गायब बनेका हुन् ।


‘मेयरको बालहठले सीमा नाघ्यो । चर्चा र पपुलिज्मले काठमाडौं महानगर फस्ने भो । कार्यकारी प्रमुख पनि मूकदर्शक बने । विकल्प जनताले नै दिनुपर्छ ।’ एक जनप्रतिनिधिले भने ।
महानगरमा बजेटका लागि कार्यसूची टाँस गरिएपनि मेयरको हठले नगरसभा स्थगित भएको हो वा के हो भन्ने नै अन्योलमा परेको छ । यसले बालेनले दलमाथि आरोप लगाउन खोज्ने र आफ्नो प्रवृत्तिलाई छिपाउन खोज्ने कर्मले महानगर अलपत्र पर्ने खतरा बढेको छ । बैठक बोलाएर आफू मोबाइल स्विच अफ गरेर बसेका बालेनले नगरसभासदस्यहरूले सभा नबस्ने छाँटकाँट देखेपछि करीव ११ः३० बजे सभास्थल सभागृहबाट बाहिरिएका थिए । नगरसभा सदस्यहरू बाहिरिएसँगैठीक १२ बजे बालेनले आफ्नो फेसवुक पेजमा एमाले, कांग्रेस नेताहरूका नाममा बजेट नछुट्ट्याएकाले बहिष्कार गरेको भन्ने भ्रम फैलाएका छन् ।
कांग्रेस एमालेजस्ता पुराना पार्टीहरूको अवमूल्यन गर्दै चुनाव जिते पनि उनलाई वडाध्यक्षहरूले साथ दिएकै थिए ।

स्वतन्त्र रूपमा मेयरको उम्मेदवार भएर जितेका साहको कुनै दलसँग आबद्धता नभए पनि महानगरका वडाध्यक्ष र सदस्यहरू भने दलीय आधारमा निर्वाचित छन् । दुई वर्षसम्म महानगरमा निर्वाचित वडाध्यक्ष, सदस्य र कर्मचारीको साथ पाएका मेयर साह पछिल्लो समय भने आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण आलोचित बन्दै गएको छन् । यसअघिको बैठकमा उपमेयर सुनीता डंगोलले अभिव्यक्तिमार्फत बालेनको कार्यशैलीको घुमाउरो तरिकाबाट आलोचना गरेकी थिइन् ।
विगतमा मेयर साहको आलोचनाको काम एक दुई जना वडाध्यक्ष र सदस्यले गर्थे र उल्टै बालेनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत उनीहरूकै विरोध बढी हुँदा वैचारिक प्रतिरोध पनि हुने गरेको थिएन । तर, अहिले अवस्था फेरिएको छ । काठमाडौं महानगर नगरसभाको १५औं अधिवेशनको दोस्रो र तेस्रो बैठकसम्म आइपुग्दा अधिक वडाध्यक्ष उनको विरोधमा देखिए भने उपमेयर डंगोल भद्र समन्वयकारी भूमिकामा अघि आउनु परेको थियो । डंगोल एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।


यसअघि पनि मेयर साहले वडाध्यक्ष र सदस्यको आवाज नसुनी एकलौटीरूपमा कार्य गर्दै आएको भन्दै फाट्टफुट्ट आलोचना हुँदै अएको थियो। त्यसले बृहत् आकार धारण भने गर्न पाएको थिएन । पछिल्लो समय गिरीबन्धु टी–स्टेटको जग्गा घोटाला र केपी शर्मा ओलीसँग सामाजिक सञ्जालमा भएको टक्करपछि साह समस्यामा परेका छन् ।
नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरे । मेयर साहले दलीय आधारमा निर्वाचित जनप्रतिनिधिहरूले बैठक वहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि स्थगित भएको घोषणा गरे । तर अधिक वडाध्यक्षले आफूहरूका कारण नभई मेयर साहले बैठक स्थगित गरेको दाबी गर्दै आएका छन् । वडाध्यक्षहरू एकै ठाउँमा बसेर नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउँदै गर्दा मेयर समय छैन भन्दै बैठक स्थगित गरेको वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले बताए ।


मेयर साहले केही समय पहिला पनि सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेसको धङ्गधङ्गी बोकेर नगरसभामा नआउन सामाजिक सञ्जालमार्फत उर्दी नै जारी गरेका थिए । मेयर साहले फेसबुकमा उर्दी नै जारी गरेपछि दलका तर्फबाट चुनाव जितेका वडाध्यक्ष र उनीबीचको अन्तरविरोध थप चर्केको हो।स्वतन्त्र हैसियतमा चुनाव जिते पनि उनले राजनीतिक प्रणाली र नेतृत्वको मानमर्दन गर्दै आउँदा यसअघि चुप बस्ने वडाध्यक्ष र सदस्यहरू पनि बालेनकै मतियार भएको आम मानिसले बताउने गरेका छन् ।