देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अति नै खस्कियो, एसईई

देशान्तर


काठमाडौं । विद्यालयस्तरीय परीक्षा एसईईको नतिजा प्रकाशित भएसँगै यस वर्षको नतिजामाथि विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । गत वर्षको तुलनामा यस वर्ष एसईईमा उत्तीर्णभन्दा पनि अनुत्तीर्ण हुने विद्यार्थीको संख्या धेरै नै बढी रहेको छ ।
यस वर्षको एसईई परीक्षामा सहभागी भएका कुल ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । कक्षा १० को परीक्षाले शिक्षामा सरकारले गरेको लगानीको वास्तविक प्रतिफल उजागर गरेको छ । २०७२ देखि विद्यार्थीको सिकाइ उपलब्धि ग्रेडिङ प्रणालीबाट गर्न थालेको राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीले माथिल्लो कक्षा पढ्न पाउनुलाई मात्र उपलब्धि मान्दै आएकोले १० बर्ष यता विद्यार्थीको सिकाई मापन नगरिएकाले अहिले यस्तो नतिजा आएको शिक्षाविद्हरूले बताएका छन् ।विद्यार्थीको सिकाइ नै कमजोर भएको भन्दै बोर्डले निश्चित अंक ल्याउनै पर्ने प्रावधानसहितको लेटर ग्रेडिङ लागू गरायो । जसले यस वर्ष २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थी कक्षा ११ मा भर्ना नै हुन नपाउने गरी नतिजा आयो । ५२ प्रतिशत विद्यार्थीको नन्ग्रेड अर्थात् उनीहरूअनुत्तीर्ण भए ।२०६० सालमै विद्यार्थी उत्तीर्ण दर ४६.१८ प्रतिशत थियो । २०६५ मा आएर उत्तीर्ण दर ६८ प्रतिशतसम्म पुगेको थियो । अहिले विद्यालय शिक्षाको स्तर १५ वर्ष पहिलेको भन्दा पनि खस्किएको छ ।


परीक्षा एसईईमा सबैभन्दा धेरै विद्यार्थीको गणित विषयमा नन्ग्रेड आएको छ । यो संख्या विगत दुईवर्ष यता बढ्दै गएको देखिन्छ । यस वर्ष एक लाख ७७ हजार ९ सय ८५ जना विद्यार्थीको नन्ग्रेड छ । गत वर्ष १ लाख ५५ हजार विद्यार्थीले गणितमा ई ग्रेड पाएका थिए । २०७८ को नतिजामा पनि परीक्षा दिएकामध्ये ३७ प्रतिशतले गणितमा २० अंकभन्दा कम ल्याएका थिए । त्यसपछि सबैभन्दा धेरै नन्ग्रेड आउने दोस्रो विषय विज्ञान हो । विज्ञानमा १लाख २६ हजार ९ सय ३३जना विद्यार्थीको नन्ग्रेड आएको छ । अंग्रेजीमा एनजी आउने विद्यार्थी १ लाख १ हजार ३ सय ८३ जना छन् । सामाजिक विषय मा ७३ हजार ८ सय ७८ विद्यार्थीको एनजी आएको छभने नेपालीमा ६९ हजार ५ सय ३२ जना विद्यार्थी रहेकाछन्। यस वर्ष सबैभन्दा कम १ दशमलव ६ देखि २ जीपीएल्याउने ६ जनामात्र विद्यार्थी छन् भने १ सय८६ जना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका छन् । एसईईको परीक्षाको नतिजा एकदमै खराब आएपछि यस विषयमा सदनमा पनि सांसदहरूले कुरा उठाएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईईको नतिजामा अस्वीकृत (नन्ग्रेडिङ÷एनजी) ल्याएका सबै २ लाख ४२ हजार ३ सय १३ जना विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार यस्तो निर्णय गराएकी हुन् ।


बिहीबार सार्वजनिक नतिजामा ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । तीमध्ये दुई विषयसम्म नन्ग्रेडिङ भएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका २०७८ मा उल्लेख छ । यो व्यवस्थाअनुसार १ लाख १५ हजार ८ सय ३४ जना मात्रै ग्रेडवृद्धि परीक्षाका लागि योग्य थिए । तर, शिक्षामन्त्री श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै सबै नन्ग्रेडिङ विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता केशव दाहालले बताए । निर्देशिकाको उक्त व्यवस्थासमेत संशोधन हुने मन्त्रालयले जनाएको छ । उक्त व्यवस्थासंशोधन भए कक्षा १२ को नतिजामा त्यही पद्धति कार्यान्वयन हुनेछ । गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा पनि प्रकाशित हुने तयारीमा छ । पाठ्यक्रम विकास केन्द्रमा शिक्षामन्त्री अध्यक्ष हुने व्यवस्था छ । परीक्षा बोर्ड र केन्द्रले थप निर्णय गरेपछि मन्त्रिस्तरीय निर्णय कार्यान्वयनमा जानेछ । बोर्डले साउन १८ र १९ गते ग्रेडवृद्धि परीक्षा तालिका प्रकाशित गरेको थियो । उक्त निर्णयपछि परीक्षाको तालिकामा समेत संशोधन हुने बोर्डले जनाएको छ ।


परीक्षा तयारीका लागि कक्षा सञ्चालनमा विश्वविद्यालयलाई समेत आग्रह गर्ने निर्णय भएको हो । नतिजामा २ लाख २२ हजार ४ सय ७२ (४७.८७ प्रतिशत) विद्यार्थी मात्रै ग्रेड प्राप्त गर्न कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए । सबैभन्दा बढी विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा एनजी भएका छन् ।
एसईईमा पास हुन यस वर्ष प्रयोगात्मक र सैद्धान्तिकतर्फ ३५ प्रतिशत नम्बर ल्याउनै पर्ने प्रावधान राखिएको थियो । यो प्रावधानले विद्यालय शिक्षा सुधार हुने अपेक्षा गरिए पनि नतिजा भने उल्टो आएको छ । सरकारले कक्षा १२ लाई माध्यमिक तह मानेका कारण एसईई परीक्षा नै खारेजी गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ ।