देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजस्व पथलैयामा ब्रह्मलुट

देशान्तर


पर्सा ।प्रधानमन्त्री मातहतमा राजस्व अनुसन्धान विभाग आएपछि जिल्ला जिल्लामा रहेका कर्मचारीहरूको कमाउ धन्दा फस्टाउँदै गएको पाइएको छ । यसअघि अर्थ मन्त्रालय मातहतमा राजस्व अनुसन्धान विभाग हुँदा कर्मचारीहरूमाथि नियमन गर्नका लागि सहज भए पनि सीधै प्रधानमन्त्री मातहतमा हुँदा अहिले कर्मचारीहरूले सेवाग्राहीबाट ब्रह्मलुट मच्चाएका छन् । राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीहरू सरकारकोे राजस्व असुलीभन्दा आफ्नो गोजस्व असुलीतर्फ ध्यान केन्द्रित गरेपछि प्रधानमन्त्रीकोे निजी सचिवालयसमेत अहिले विवादमा तानिएको छ । प्रधानमन्त्रीका निजी सचिव अर्जुन भण्डारीको आशीर्वाद प्राप्त अधिकृत रेशम भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बसेर सिंगो मधेस प्रदेशमा आतंक मच्चाउने काम गरिरहेको व्यापारीहरूले देशान्तरलाई बताएका छन् । स्थानीय प्रहरी प्रशासनले पक्राउ गरेर तस्करीको आशंकामा बुझाएको मालसमेतका गाडीहरू भण्डारीको थप आयआर्जनको माध्यम बनेको छ भने उनले पक्राउ गरेको गाडीहरूको कुनै लगत नै नराखी नजराना बुझेर पठाउने गरेको फेहरिस्त राजस्व अनुसन्धान विभागलाई प्राप्त भए पनि कारबाही भएको छैन ।


जेठ महिनाभित्र सयौं ट्रक, मिनीट्रक र पिकअपहरू भण्डारीले रोकेर नजराना बुझेर छोडेको प्रमाण विभागमा पुगेपछि असार २ गते विभागले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई एक पत्र लेखी छोडेको गाडीहरूको विवरण मागेर झारा टार्ने काम गरेको विश्वस्त सूत्रले बताएको छ
जेठ २४ गते राति ११ः५० बजे पक्राउ गरेको पिकअप केही मिनेटपछि नजराना बुझाएर क्लिन चिट बोकेर त्यही मितिमा बाहिरिएको पत्र नै फेला परेको छ । सो पत्रकोे बोधार्थ सशस्त्र प्रहरी बलको इकाइ कार्यालय पथलैयामा दिएकोे उल्लेख गरिएको छ । कार्यालयभित्र ल्याइसकेको गाडीकोे बारेमा कुनै लगत खडा नगरी ढोकामा बसेको सशस्त्र प्रहरीले बिना पुर्जी गाडी नछोड्ने भएकोले पत्र दिइएको भन्दै बाहिर समात्ने र छोड्ने अन्तहीन शृंखलाकोे कुरा गरी साध्य न भएको स्रोतको भनाइ छ । भण्डारीलाई उक्त कार्यमा कार्यालय प्रमुख प्रेम देवकोटाको मौन समर्थन र र नायब सुब्बाहरू अमीर दाहाल र टीका माझीकोे भरपूर साथ रहेको बुझिएको छ ।
जितपुर सिमरा औद्योगिक कोरिडोर, स्थानीय साहु महाजन र तस्करहरूलाई थर्काएर रेशम भण्डारीको टोलीले घटीमा मासिक पाँच करोडभन्दा बढी रुपैयाँ असुली गरिरहेको व्यापारीहरू नै बताउने गर्छन् ।