देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्पदंशका बिरामीको चाप बढ्दो

देशान्तर


काठमाडौं । वर्षायाम सुरु भएसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय उपचारका लागि आउने बिरामीमध्य सर्पदंशका बिरामीहरूको दर बढेको छ । अस्पतालका सूचना अधिकारी पूरण गुरुङका अनुसार अस्पतालमा भर्ना भएकामध्ये आधाभन्दा बढी बिरामी सर्पदंशका छन् । गत बिहीबार अस्पतालमा जनरल वार्डमा भर्ना भएका २५ जना बिरामीमध्ये सर्पदंशका मात्र १३ जना रहेका थिए ।
सर्पदंशका बिरामीहरूमा उपत्यका बाहिरबाट आउनेको संख्या बढी छ । जसमा काठमाडौंबाट नजिकैका जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकका बिरामीको संख्या धेरै रहेको अस्पतालले जनाएको छ । खेतीपातीको काम गर्ने किसानहरू सर्पदंशबाट पीडित भएका छन् । बिरामीहरूमध्ये ३० वर्षदेखि ५० वर्षसम्मका धेरै रहेको अस्पतालकी रमा घिमिरेले जानकारी दिएकी छन् । भर्ना भएका सर्पदंशका बिरामीहरूमा केही बालबालिका पनि रहेका उनले देशान्तरलाई जानकारी दिइन् । उनीहरू ग्रिनपिट भाइपर र माउन्टेन पिट भाइपर नामक सर्पको डसाइमा परेका हुन् ।


सर्पको टोकाइबाट जोगिन घरभित्र र वरिपरि सर्प लुक्न सक्ने दुलोहरू पुर्नुपर्छ । सर्प लुक्न सक्ने दुलोमा हात नराख्ने, घरवरिपरि नियमित सरसफाइ गर्ने, खेतबारीमा कम गर्दा लट्ठी लिएर हिँड्नुपर्छ । साथै बुटजुत्ता, पञ्जा लगाएर खेतवारीको काम गर्ने, झाडी घाँस काट्न गएमा पहिले लठ्ठीले झाडीमा हानी अनिमात्रै घाँस काट्नुपर्छ । सर्प देखिएमा त्यसलाइ चलाउने, जिस्क्याउने काम नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । त्यस्तै, राति सुत्ने खाटमा झुल टाँगेर सुत्नुपर्छ । गाउँघरमा मात्रै होइन, सहरमा समेत सर्प देख्नेबित्तिकै मार्न खोजेको देखिन्छ । सबै सर्प हानिकारक नहुने हुँदा सर्प देखेमा मार्ने काम गर्नु हुँदैन । आफूले मार्न खोज्दा सर्पले उल्टै डस्न सक्छ ।

अस्पतालका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । सर्पले टोकेपछि परम्परागत उपचार गरी घरमै बस्ने वा ढिला अस्पताल पुग्ने प्रवृत्ति अझै कायम छ । यदि सर्पले टोकिहालेमा सर्पबाट टाढा हट्ने, सर्पले टोक्यो भनेर नआत्तिने, नहड्बडाउने, सर्पले टोकेको ठाउँमा रुमाल वा अन्य कुनै कपडाले बाध्ने र विष फैलिन नदिने, सर्पले टोकेको ठाउँमा साबुनपानीले सफा गर्ने र फोहोर हुने नदिने र सर्पले टोक्नेबितिकै सकेसम्म छिटो अस्पताल पुग्न पनि विज्ञहरूले सुझाव दिएका छन् ।
यसैबीच, छिमेकी मुलुक बंगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ ।
जीव विशेषज्ञका अनुसार सर्प जैविक विविधताको एक महत्वपूर्ण हिस्सा हो । पर्यावरण सन्तुलन बनाई राख्नको लागि अरू जीवजस्तै सर्प पनि जरुरी छ । अहिले बंगलादेशमा जसरी सर्प मारिँदैछ, त्यसले पर्यावरणमा असर पुग्ने भन्दै पर्यावरणविद्हरूले चिन्ता व्यक्त गरेका छन् । फरिदपुर क्षेत्रका एक नेताले त रसेल भाइपर मार्नेलाई प्रतिसर्प ५० हजार टाका इनाम दिने नै घोषणा गरेका छन् । बंगलादेशको मेडिकल सर्भिसको आँकडाअनुसार सर्पले टोकेर त्यहाँ वर्षमा करिब साढे सात हजार मानिसको मृत्यु भइरहेको छ ।


यता टेकु अस्पतालमा सर्पदंशबाट भएका बिरामीबाहेक अन्य रोगका बिरामीहरू पनि चाप पनि बढ्दो छ् । दैनिक करिब ७०–८० को हाराहारीमा उपचारका लागि आउने बिरामीहरूमा क्षयरोग, ज्वरो, रुघाखोकी, झाडापखालाका बिरामीहरू रहेको सूचना अधिकारी गुरुङले जानकारी दिएका छन् । वर्षा याममा रुघाखोकी, सरुवा रोग, टाइफाइड, हेपाटाइटिस ए, ई, झाडापखाला र हैजालगायतका सरुवा रोगको उच्च जोखिम हुने सरुवा रोग विशेषज्ञहरू बताउँछन् ।
प्रशिक्षार्थी पत्रकार, सुस्मिता दाहाल / अनुराधा खड्का