देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

देशान्तर

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार बिहान आगलागी भएको हो । स्थानीय टेलिभिजन फुटेजले आगो निभाउने प्रयास गर्दा पनि कारखानामा सानो विष्फोट भएको देखाइएको छ । सो क्रममा कारखानाको छानाको एक भाग भत्किएको थियो ।

दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ । ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएका छन् ।

यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री राखेर अन्य ठाउँमा पठाउनका लागि ती ब्याट्रीहरू प्याक गरिएको थियो ।

ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए ।