काठमाडौ । केहिदिन पहिले नेपथ्य ब्याण्डका प्रमुख अमृत गुरुङ र ब्याण्डका ब्यबस्थापन हेरिरहेका नेपालयका किरणकृष्ण श्रेष्ठले गरेको बिधालयमा नेपथ्य समुहका गीत सार्बजनिक प्रयोग गरे बापत ‘रोयल्टी’ तिर्नु नपर्ने पोस्ट बारे संगीत रोयल्टी संकलन समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी बोलेका छन ।
अधिकारीले सोमबार बिहान सामाजिक संजालमा लामो स्टाटस लेख्दै यस बारे प्रस्ट्याएका छ्न । उनले यो बिवाद नभै प्रतिलिपी अधिकार र रोयल्टीका बारेमा बुझाईमा देखिएको सानो दुर्घटना भनेका छन । उनले लेखेका छन –
सङ्गीत रोयल्टी र नेपथ्य !!!
एउटा स सानो घटना या दुर्घटना नै भनौं हालै सङ्गीत रोयल्टीको बिषयमा नेपालको चर्चित अनि प्रतिष्ठीत ब्याण्ड “नेपथ्य” को एउटा पोष्ट सामाजिक सञ्जालमा देखियो जसको आशय थियो “नेपथ्य” का गीत सङ्गीतहरु बिद्यालयहरुमा प्रयोग गर्दा कसैले रोयल्टी तिर्नु पर्दैन ।” हुन त बालको खाल निकाल्ने गरि खोज्ने हो भने सो बक्तब्यबाजीमा सङ्गीत रोयल्टीका बारेमा धेरै नकारात्मकता भेटिएलान तर म चाहिँ सकेसम्म त्यसमा निहित सकारात्मक कुरालाई खोज्नु पर्छ भन्ने मान्यता राख्छु । कम्तिमा गीत सङ्गीत मार्फत आफुलाई राष्ट्रको गहनाको रुपमा स्थापित गरेको प्रतिष्ठित ब्याण्ड “नेपथ्य”र सो ब्याण्डका लोकप्रिय गायक अमृत गुरुङ्ग ज्यु समेतले आफ्ना गीत सङ्गीतहरु शिक्षाको मन्दिरमा सिक्दा सिकाईंदा वा बिद्यालयका कार्यक्रममा प्रस्तुत गरिदा रोयल्टी नलिने कुरा गर्नु एउटा समाजसेवी र राष्ट्रले आफुलाई लगाएको गुन आफ्ना प्रस्तुतिहरु शैक्षिक क्षेत्रमा निर्वाध प्रयोग गर्न दिएर थोरै भए पनि चुकाउनु पर्छ भन्ने भावना प्रतिबिम्बित गर्नु भएको देखिन्छ, सो मान्यताको सबैले स्वागत गर्नु पर्छ ।
अझ वहाँहरु कुनै शैक्षिक क्षेत्रको उत्थानका लागि बिना पारिश्रमिक कन्सर्ट वा कुनै छात्रवृत्ति को लागि सहयोग गर्न चाहानु हुन्छ भने पनि स सम्मान हामीले वहाँहरुको कदमलाई स्वागत मात्रै हैन होस्टेमा हैँसे पनि गर्न अगाडि सर्नु पर्छ । तर हरेक सिक्कामा दुई पाटा हुन्छन । वहाँहरुको गीतका पनि दुई पाटा छन एक पक्ष सिर्जनाको र अर्को पक्ष प्रस्तोताको । “नेपथ्य” ब्याण्ड प्रस्तोता पक्ष हो अनि वहाँ हरुले प्रस्तुत गरेर नाम ख्याती र आर्थिक उपार्जन गर्ने ती सुन्दर गीतहरुका सिर्जना गर्ने त्यसका स्रष्टा गीतकार र सङगीतकारहरु हुनुहुन्छ । सङ्गीत रोयल्टी सङ्कलन समाजले सङ्कलन गर्ने रोयल्टीमा प्रस्तोता वा निर्माताको हैन त्यसका स्रष्टाहरु ( गीतकार,सङ्गीतकारहरु ) को अधिकार हुन्छ । रोयल्टी भनेको निर्माता र प्रस्तोताहरुको सरोकारको बिषय नै हैन । निर्माता र प्रस्तोताहरुको आर्थिक अधिकारको बिषयमा सङ्गीत रोयल्टी सङ्कलन समाजले कुनै हस्तक्षेप गर्ने अधिकार राख्दैन र गरेको पनि छैन । यहाँनेर आर्थिक अधिकार र रोयल्टीको अधिकार बेग्ला बेग्लै बिषय हुन भनेर बुझ्न र बुझाउन नसक्नु हामी जस्ता रोयल्टीको क्षेत्रमा कार्यरत सङ्घ सँस्था र प्रतिलिपी अधिकारको क्षेत्रमा कार्यरत सरकारी निकायहरुको कमजोरी पनि हो । रोयल्टी र आर्थिक अधिकार बारे अलमलिँदा धेरै निकाय र ब्यक्तिहरुबाट स्रष्टाहरुले अनपेक्षित तितो ब्यबहारहरुको सामना गर्नु परिरहेको छ । आफ्ना कमजोरीहरुलाई बिर्सेर “नेपथ्य” जस्ता प्रतिष्ठित ब्याण्डरुलाई माईली औंला तेर्स्याउनु कदापी सहि कदम हैन । बरु हामी “नेपथ्य” र नेपथ्य जस्तै बुझाईमा कमजोर निर्माता र प्रस्तोताहरुलाई यो बिनम्र अनुरोध गर्न सक्छौं कि कृपया आफ्नो व्यापार बिजिनेश गर्नुस नाम दाम आर्जन गर्नुस,समाजसेवा गर्नुस,आफ्नो कमाई मध्ये केहि धन परोपकारमा पनि लगाउनुस त्यो तपाईको अधिकार र मर्जिको बिषय हो ।
तर अरुको अधिकार र अरुको पसिना र श्रमको मुल्यका सम्बन्धमा बोल्दा सम्बन्धितलाई नै बोल्न दिनुस र वहाँहरुको आफ्नो निर्णय गर्न दिनुस, आज स्रष्टाहरु कुन दुखमा बाचिरहेछन त्यसका कथा हामी तपाईंले सुन्नै पर्छ भनिरहेका छैनौं । अथवा स्रष्टाहरुले पाउनु पर्ने कानुनी अधिकारहरु कसरी कुण्ठित भै रहेका छन तीनका लागि तपाईहरु जस्ता समाजमा लोकप्रिय साङ्गीतिक समुहले आवाज उठाईदिनु पर्छ भनेर तपाईहरुलाई अनाबस्यक बोझ थपिरहेका पनि छैनौं । तर युगौं देखि पिडित र शोषित बनिरहेका स्रष्टाहरु आज आफ्नो सिर्जना शार्बजनिक प्रयोग भै रहेका स्थानबाट रोयल्टी पाउनु पर्छ भनिरहेका छन भने तीनको कानुनी अधिकार र बिश्वब्यापी रुपमा प्रचलित सङ्गीत रोयल्टीको अभ्यासलाई हाम्रो देशमा पनि लागू गरौं र हामी स्रष्टा पनि आफ्नो जीवनलाई सम्मानका साथ बाच्न सकौ भनेर कोसिस गरिरहेका छन भन्ने तर्फ थोरै सकारात्मक बनिदिनुस । तीनले पिर मर्कामा चालेका प्रारम्भिक कदमलाई नैतिक समर्थन मात्रै भए पनि गर्न कञ्जुस्याँई नगरिदिनुस । बरु यस बिषयमा रहेका अनभिज्ञता र अष्पस्टता बारे केहि प्रष्ट हुनेगरी हामी छलफल गर्न यहाँहरुले डाके बोलाएको ठाउँमा उपस्तिथित भएर कानुनी र ब्यबहारिक पाटाहरुमा प्रकाश पार्न पाउनु आफ्नो सौभाग्य सम्झने छौं ।
मैले माथी नै भनी सकेँ यो सानो असमझदारीको बिषय हो,यसलाई हामी बिवादको बिषय बनाउन चाहान्नौं र यो बिश्वास गर्छौ कि तपाईहरु पनि कुरा बुझे पछि यसलाई बिवादको बिषय बनाउन चाहनु हुने छैन । अन्तमा प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ३९ र सोही नियमावली को नियम १० ग अन्तर्गत हामीले बिद्यालयहरुको लागि तोकेको रोयल्टीको मापदण्ड अत्यन्तै न्यून रहेको छ किन कि हामीलाई पनि स साना बाबू नानी त्यहीँ पढाउनु छ । चाहे रिणै गर्नु परोस, शिक्षाको न्यानो घाम लागीरहोस । हामीले कानुनी अधिकार प्रयोग गरेर बनाएको मापदण्ड अनुरुप को रोयल्टी तिरेर कुनै बिद्यालयलाई आर्थिक भार नपर्ने ब्यहोरा भनेनौं भने यो पोष्टको अनर्थ हुन जाला कि भन्ने हामीलाई डर पनि लागि नै रहेको छ । बिनम्र निवेदन यसलाई कसैले बिवाद नसम्झोस🙏
प्रतिक्रिया