देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनेसासमा पदचाप छोड्ने तरिकाले काम गर्छु : विमला निरौला

देशान्तर

 काठमाडौँ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको १७ औँ महाधिवेशनको पूर्व सन्ध्यामा विभिन्न पदका लागि विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिई रहेको अवस्थामा अनेसास केन्द्रीय कार्यसमितिका महासचिव, अनेसास ट्रष्टी, साहित्यकार एवं गीतकार विमला निरौलाले सन् २०२४ देखि २६ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । उनका हाल सम्म १० ओटा बालबालिका सम्बन्धी पुस्तक, १ कविता सङ्ग्रह र १ मुक्तक सङ्ग्रह गरी एक दर्जन कृतिहरू सार्वजनिक भएका छन्। सन् २००७ मा अनेसासमा आबद्ध निरौला सन् २०१० देखि अमेरिकाको उत्तरी भर्जिनियामा बसोबास गर्दै आएकी छन् । 

अनेसास डिसी शाखाको सदस्य, सोही शाखाको २ कार्यकाल उपाध्यक्ष, केन्द्रको सदस्य, सचिव हुँदै हाल केन्द्रीय महासचिवका रूपमा कार्यसम्पादन गर्दै आएकी छन् । विमलाले अनेसासको सदस्यदेखि महासचिव हुँदासम्म पदीय जिम्मेवारी राम्रोसँग निभाएको बताउँदै नेतृत्वमा आएको खण्डमा आफ्नो कार्यकाल झनै परिणाममुखी बनाउने दाबी गरेकी छन्।   

महिला साहित्यकारहरूले नेपाली साहित्यमा पुराएको योगदानलाई  भित्री रूपमा बुझ्न र उचित मूल्याङ्कन गर्न पनि महिला नेतृत्वको खाँचो देखेर आफूले उम्मेदवारी दिएको उनले बताइन् ।  निरौलाले  आफ्ना प्रतिस्पर्धी सर्वज्ञ वाग्लेसँग मित्रवत् व्यवहार र सहअस्तित्वलाई स्विकार्दै स्वच्छ प्रतिस्पर्धामा उभिएको बताएकी छन्। उहाँले आफू निर्वाचित भएको अवस्थामा प्रवासमा दिनानुदिन बढ्दै गएका नयाँ नेपाली पुस्तालाई नेपाली भाषा, संस्कृति, परम्परा, रहनसहन र भूगोल मात्र नभई समग्र नेपालसँग परिचित गराउने, अनेसासका लागि स्थायी केन्द्रीय कार्यालय बनाउने, मात्र च्याप्टरका रूपमा रहेको नेपाल च्याप्टरका लागि सचिवालय स्थापनालाई पूर्णता दिन दाताहरू खोजी गर्ने प्राज्ञिक अध्ययन अनुसन्धान संस्थान  स्थापना गराउने, परदेशमा बसेर साहित्य सृजना गर्ने सर्जकहरूलाई  सन्दर्भ सामग्री उपलब्ध गराउनुका साथै प्रकाशन र वितरणमा सङ्गठित रूपमा सहजिकरण गर्ने, नेपाली भाषा र साहित्यलाई विश्व बजारमा लैजान अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार बाट पुरस्कृत पुस्तकलाई अन्य भाषाहरूमा अनुवाद गर्ने, गराउने र प्रकाशन गर्ने, विगत तथा वर्तमान कार्यसमितिले थालनी गरेका आजीवन सदस्यताको कोड नम्बरसहितको परिचयपत्र, नेपाली भाषा पाठशालाहरूसँगको समन्वय तथा नेपाली भाषा र साहित्यको पठनपाठनजस्ता कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने लगायतका योजना प्रतिवद्धताका रुपमा अगाडी सारेकी छन् ।