देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस–एमाले मिलेर संविधान संशोधन गरौं-दुर्लभ थापा

देशान्तर



नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले संसद्का दुई ठूला दल मिलेर देशलाई निकास दिनु पर्नेमा जोड दिएका छन् । संविधान संशोधनको कुरा व्यापक उठे पनि अहिले कसैको पनि बहुमत नभएकाले संसद्का शीर्ष दलहरू मिल्नु पर्नेमा जोड पनि दिए । सहमतिको दस्तावेज संविधान भएकाले यसलाई संशोधन गर्नका लागि खास गरेर कांग्रेस र एमाले मिल्नुपर्ने र माओवादीलाई पनि स“गै लिएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि उल्लेख गरे । भक्तपुर २ का सांसद तथा जिल्ला सभापतिसमेत रहेका थापास“ग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

बजेट प्रतिपक्षलाई चित्तबुझ्दो कि सत्तापक्षलाई ?
हाँस्दै । यो बजेट कसैलाई पनि चित्तबुझ्दो छैन । जसले बजेट प्रस्तुत गर्नुभयो उहाँलाई पनि चित्त बुझेको छैन । समग्रमा यति भइसकेपछि पक्ष, प्रतिपक्ष भन्ने कुरा नै रहेन ।

के कारण रहेछ ?
कारण त के के भन्ने भन्ने । म कांग्रेसबाट निर्वाचित भएको सांसद । यसअघि कांग्रेसबाट अर्थमन्त्री भएकाले पनि बजेट प्रस्तुत गर्नुभएको थियो । समग्रमा बजेट नै मन्त्री, प्रधानमन्त्री तथा देशका ठूला नेताहरूमुखीमात्रै बजेट भयो । त्यसैले गर्दा संसद्मा सबै सांसदहरूले बजेटप्रति असहमति जनाउनु भएको हो । त्यसैले बजेटमाथिको छलफल गर्मागर्मी भएको हो । म बजेटको छलफलमा सहभागी पनि भइरहेको छैन ।

तपाईं भक्तपुरको सांसद, धेरै योजना परेर नबोलेको कि पर्दै नपरेर नबोलेको ?
म जुनबेला चुनाव लड्दै थिएँ, त्यतिबेला मेरो प्रतिस्पर्धीले भक्तपुरमा समग्र विकास भइसक्यो भन्नुभएको थियो । त्यतिबेला विकासको पक्ष र विकास विरोधीको बीचमा चुनाव भएको जसरी प्रचारबाजी गरिएको थियो । म चुनावको प्रचारप्रसारमा गएका बेला समग्र भक्तपुरको विकास मैले मात्रै गर्छु, म मात्रै हुँ भन्ने भाष्य स्थापित गर्न खोज्नु भएको थियो । त्यतिबेला पनि मलाई लागेको थियो, भक्तपुरको समग्र विकास भइसकेकाले अब संसद्मा जनताको प्रतिनिधि भएर नियम कानुन बनाउने कुरामा केन्द्रित हुन्छु । तर, संसद्मा ऐन, नियम बनाउने कुरा त हुनै छाडेकाले म अहिले अलि निष्क्रियजस्तो बसेको छु ।

कहिलेसम्म निष्क्रिय ?
म विकास विरोधी त हुँदै होइन । संघीय माननीय ऐन नियम बनाउने कुरामा सक्रिय रहन्छु भनेको थिएँ । तर संसद्मा नियम ऐन बनाउने कुनै कुराहरू भइरहेका छैनन् । हामीले अहिलेसम्म जम्मा दुई वटा विधेयक पारित गरेका छौं । तर, म जति ठाउँमा पुग्छु, त्यहाँ हरेकले माग्ने भनेको विकास, विकास रहेछ । हामीले तीन तहको सरकारको अभ्यास गरिरहेका छौं । म अलि फरक खालको सांसदमा पनि पर्छु । म जे बोल्छु त्यो पूरा हुनुपर्छ । म अबको संसद् बैठकमा बोल्दा खेतीका लागि आवश्यक मल माग्छु । आफ्नै घरको धान रोप्नका लागि मैले २० किलो मल पाइनँ । मैले बोलेर मल आउँदैन भनेपछि समग्र माननीयले भनेको कुरा त सरकारले सुन्नुपर्छ होला । माननीयले जनतालाई मल देउभन्दा दिन सक्दैन भने हामीले पनि किन बोल्ने । म अरू कोही माननीय जस्तो सस्तो लोकप्रियताका लागि दिनहुँ बोल्दिनँ । म जुन दिन बोल्छु त्यही दिन पूरा गर्नुपर्ने प्रतिबद्धता गरेरै छाड्छु ।

बजेटमा कम्तीमा एक निर्वाचन क्षेत्रमा ५ करोडको योजना भनिएको छ, के लानुभयो तपाईंले ?
मैले त केही लिएर गएको छैन । मैले जनताले माग गरेका कुरा मेरो ‘लेटर प्याड’मा केही कुराहरू लेखेर पठाएको छु । त्यसमा केही कुराहरू सम्बोधन पनि भएकाले धेरै चित्त दुखाउनुपर्ने कुरा त छैन । तर, समग्रमा संसद् विकास कोष भनेको के हो मैले बुझेकै छैन । सांसद आफैं विकास हुने हो कि, टम्म मोटाउने हो कि, क्षेत्रको विकास गर्ने हो कि, कुनै एक जना मेयरले वडाध्यक्षको पनि हैसियत नराख्ने भन्दै थिए, हामी त दीपक दाइले भनेको झोले माननीय जस्तै भयौं । म माननीय हो कि, वडाध्यक्ष हो कि, प्रदेश सदस्य हो कि, मेयर कोही, स्थानीय प्रतिनिधि हो कि त्यो मैले बुझेको छैन । अब यो परिमार्जन पनि गर्नुपर्ने बेला भइसकेको छ । अब ऐन, नियम त कहिले बन्ला, प्रधानमन्त्री संसद् छलेर भागेको भाग्यै हुनुहुन्छ । सरकार संसद्प्रति उत्तरदायी भएन । सभामुख हो कि एउटा पार्टीको प्रवक्ता हो खुट्ट्याउनै गाह्रो भइसक्यो । समग्रमा यो अस्तव्यस्तता कति दिनसम्म रहन्छ ? मलाई लाग्छ अहिले लोकतन्त्रलाई नै धरापमा पार्ने षड्यन्त्र भइरहेको छ । लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलतिर पक्ष, प्रतिपक्ष लाग्या हुन् कि ? के भइरहेको छ त्यो जानकारी पनि मैले पाएको छैन । हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल एउटा झुस्स बोके दाह्री पालेको व्यक्तिमार्फत हुँदैछ कि, प्रचण्डमार्फत हुँदैछ कि, केपी ओलीमार्फत वा कांग्रेसकै कोही नेताहरूमार्फत समाप्त गर्ने खेल हुँदैछ कि जस्तो मलाई लागेको छ ।

तपाईंले भनेका व्यक्तिहरूमाथि शंका गरिहाल्ने अवस्था हो र ?
मैले मात्रै शंका नगरेर भएन । सामाजिक सञ्जालमै देखिएका छन् । हामी राणासँग लड्यौं, राजासँग लड्यौ, पञ्चायतसँग लड्यौं, माओवादीसँग पनि लड्यौं, एमालेसँग पनि लड्यौं । अब समग्रमा मलाई लागेको कुरा के हो भने ‘अन्तिम लडाइँ कम्युनिस्टसँग लड्नुपर्छ ।’ जुन दिनसम्म यो मुलुकबाट कम्युनिस्ट शब्दको उन्मूलन हुँदैन, लोकतान्त्रिक गणतन्त्र त्यो दिनसम्म संस्थागत हुन सक्दैन । लोकतान्त्रिक गणतन्त्रलाई खत्तम पार्न को, कहाँबाट सञ्चालित छन्, चाहे सरकारको नेतृत्वकर्ता होस् अथवा अरू कुनै नयाँ दल या कांग्रेसकै केही साथीहरू अघि बढेको जस्तो मलाई लागेको छ ।

तर, अहिलेको संसद्को गणितले त कम्युनिस्टसँग नमिलेर हुन्छ त ?
संसद्मा कम्युनिस्टहरू मिलेर सरकार बनाउने कांग्रेस प्रतिपक्षमा बसे भइहाल्यो त । हामी प्रतिपक्षमा बस्न सधैं तयार नै छौं, देशलाई निकास दिनका लागि र राम्रो गर्न सक्नुहुन्छ भने सबै कम्युनिस्टहरू एक भएर सत्ता सञ्चालन गरे भइहाल्यो नि । अहिले प्रधानमन्त्री नै संसद् छलेर भागिरहनु भएको अवस्था छ । भारतबाट फर्किसकेपछि संसद्मा उहाँको उपस्थिति नभएपछि कांग्रेसले कुरा उठाएको थियो । त्यसपछि मात्रै उहाँ बल्लतल्ल संसद्मा गएर भ्रमणवारे जानकारी गराउनु भयो । हामी जत्तिको जनप्रतिनिधिहरूलाई छलेर प्रचण्डले सरकार चलाउने हो । हामी त प्रतिपक्षमा बस्ने हो । जो सरकारमा छन्, उहाँहरू मिलेर बजेटप्रति चित्त बुझाइ भए हुने, हाम्रो चित्त बुझाउन परेन ।

भनेको बजेटप्रति तपाईंहरू खुच्चिङ भनेर बस्नु भएको छ हैन ?
हामी देशप्रति त्यति गैरजिम्मेवार छैनौं । हामी यो देशको सरकार अघि बढोस्, मुलुक समृद्धितर्फ लागोस् । अहिले धानबाली लगाउने बेला किसानलाई कमसेकम मल उपलव्ध गराइदिनु प¥यो भन्दै गर्दा दुई केजी पनि उपलब्ध गराउन नसक्ने सरकारप्रति मैले खुच्चिङ भन्न पर्दैन ।

यति धेरै अस्तव्यस्त छ भन्ने थाहा हुँदाहुँदै नेतृत्व लिन कांग्रेस अघि सर्नुपर्ने बेला भएन र ?
अस्तिको निर्वाचनमा समग्रमा नेपाली कांग्रेस ठूलो दल बनेकै हो । संसदीय अभ्यासमा संसद्को ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्ने हो । समग्रमा जनताको म्यान्डेट पनि के हो भने गठबन्धनको सरकार बन्दा कांग्रेसले नेतृत्व गर्ने भनिएको हो । अहिले भारतमा पनि त गठबन्धन दलको बहुमत आउँदा ठूलो पार्टी भाजपाले नेतृत्व गरेको छ । त्यहाँको र यहाँको संसदीय अभ्यास अलि फरक छ । ३२ सिटे, २१ सिटेले यहाँ सरकारमा हालिमुहाली गरेको छ । साना दलले नेपालका सबै ठूला दलहरूलाई हल्लाइरहने परिस्थिति छ । समग्रमा मैले के कुरा जोडे भने विशेषगरी कांग्रेस र एमाले जसले यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको सारा कुरालाई संस्थागत गरेर अगाडि बढ्नुपर्छ भन्ने जनताको म्यान्डेट पनि छ । कांग्रेस र एमाले लडेका कारणले अरूले बीचमा फाइदा लिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हार्दिकताका साथ के भन्न चाहन्छु भने, अब कांग्रेसलाई सिध्याउँछु भन्ने हो भने, कांग्रेस त नसिद्धिएला, ज्ञानेन्द्रले सिध्याउन नसकेको कांग्रेसलाई केपी ओलीले के सिध्याउँलान् ? समग्रमा कांग्रेस सिध्याउँछु होइन कि यो मुलुकको समृद्धिका लागि एमाले र कांग्रेस सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । तथापि अस्तिको निर्वाचनको म्यान्डेट के हो भने, गठबन्धन दलकै नेतृत्वमा सरकार चलोस् भन्ने नै हो । अब लोकतन्त्रलाई जोगाउनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी मिलेर अघि बढ्नु पर्छ ।

तीनवटै दलहरू मिल्दा, संसद् प्रतिपक्षविहीन हुँदैन ?
मिल्ने भनेको सरकारमै जाने भनेको होइन । यो मुलुकको संविधान निर्माण गर्दा माओवादीलाई पनि समावेश गर्नका लागि ‘कम्प्रमाइज’ गरेको संविधान हो । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्नु भएको संविधान, डा. रामवरण यादवले उद्घोष गर्नुभएको संविधान, समग्रमा सबैलाई सम्बोधन गर्ने संविधान बनाएका हौं । संविधान संशोधन गर्ने प्रक्रिया थियो, त्यसमा दुई तिहाइ बहुमत हुँदा नेकपा एमालेले ठूलो मौका चुकाएको हो । त्यो बहुमतले त चाहेको जस्तो संविधान संशोधन गर्न सक्नुहुन्थ्यो । मलाई थाहा छैन, उहाँहरूले किन गर्नु भएन । हामीले संविधान संशोधन गर्नु पर्नेछ । संघीयताको विषय, प्रदेशको विषयमा व्यापक रूपमा असन्तोष बढेको छ । अब कि प्रदेश र स्थानीय तहलाई खारेज गरौं कि अधिकार दिऊँ । संघीय सरकारले सबै अधिकार आफ्नो मातहतमा राख्ने, प्रदेश र स्थानीय तहलाई आफ्नै वरिपरि घुमाइरहने परिस्थिति भएका कारणले नै अहिले संविधान संशोधनको बारेमा कुरा गरेको हुँ । अहिले हिन्दु राज्य र राजतन्त्रको कुरा पनि उठेको छ । यो विषयमा जनमत संग्रहमा जाने हो भने पनि जाउँ । जनमत संग्रहको लागि मात्रै होइन, अस्ति भएको निर्वाचन पनि एउटा जनमत संग्रह हो । त्यसैले अहिलेको समस्या समाधानका लागि केही धारा उपधाराहरूको विषयमा संविधान संशोधन गर्न आवश्यक छ ।

संविधान संशोधन गरेर प्रदेश र स्थानीय तह कसलाई के गर्ने ?
मेरो क्लियर कुरा छ । स्थानीय तहलाई पनि अधिकार दिनुप¥यो । प्रदेशलाई पनि अधिकार दिनुप¥यो । होइन, दिन सकिँदैन भने सरकारको नेतृत्व गर्नेले एक आवाजमा हामी संघीयताको पक्षमा छैनौं, प्रदेश र स्थानीय तहलाई अधिकार दिने पक्षमा छैनौं, केन्द्रीकृत राज्य सञ्चालन गर्ने पक्षमा छौं भन्नुप¥यो । होइन भने, संविधानले परिकल्पना गरेको प्रदेश, स्थानीय तहलाई अधिकार दिन प¥यो । स्थानीय तहमा कुनै काम गर्न परेमा अख्तियार या अदालत देखाएर तर्साएको छ । त्यसले गर्दा कुनै पनि मेयर र प्रदेशका साथीहरू काम गर्न तयार छैनन् । विकास निर्माणको काम गर्दै गर्दा अदालतको अन्तरिम आदेश आउँछ । नेपालमा विकास निर्माणको बाधक भनेकै, केन्द्रीय सरकार, अख्तियार र अदालत छन् । त्यसैले यी बारेमा कानुन संशोधन गर्नु पर्नेछ । समग्र मुलुकको स्थानीय तहदेखि माथिसम्मका विकास निर्माणका विषयमा कही, कतै काम गर्ने हो भने ऐन नियम र संविधान संशोधन गर्नुपर्छ । त्यसको लागि कांग्रेस र एमाले संविधान संशोधनको पक्षमा उभिनु पर्छ ।

अहिले नेपाली कांग्रेस र एमाले मिलेर अघि बढ्ने विषयमा केही छलफलहरू भएका छन् त ?
सम्भावना सबैतिर छ । अहिलेको सरकार पूरै अवधि चल्नुपर्छ भन्ने पक्षमा छु । अस्थिरताले मुलुक अघि बढ्दैन । तर, एकथरी पार्टीका मान्छेहरू राजीनामा खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएर नै अस्थिरता निम्त्याउन खोज्नेहरू सत्ता पक्षका छन् । अर्काथरी बजेट र सरकारका बारेमा सबैभन्दा ठूलो दल असन्तुष्ट छ । अरू बाँकी दलहरूका पनि असन्तुष्टि तपाईं हामीले देखिए रहेका छौं । सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री संसद्लाई छल्दै पनि आउनु भएको छ । यो सरकार कति दिन चल्ने, कहाँ चल्ने भन्दा पनि सरकारको नेतृत्वकर्ताले यसको जिम्मेवारी लिनुपर्छ । राजीनामा खल्तीमा बोकेर हिँड्ने होइन, राजीनामा त प्रधानमन्त्रीको टेबलमा राखे भइगो नि । मैले फेरि भनें मुलुकले निकास पाउँछ भने नेपाली कांग्रेस सत्ताभन्दा बाहिर बसेर पनि सरकारलाई समर्थन गर्न तयार छ । तर स्थिरताको पक्षमा हामी छौं ।

सरकार बाहिरै रहेर समर्थन गर्छौं भन्दा त तपाईंकै पार्टीमा एकमत छ त ?
मेरो पार्टी नेपाली कांग्रेस मुलुककै जेठो र लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र हरेक कुरामा व्यापक छलफल र बहस हुन्छ । पछिल्लो महासमितिको बैठकको निर्णय सुनिहाल्नु भयो ।

कांग्रेसमा छलफल हुन्छ, त्यो पनि ‘डेट एक्सपाएर’ छलफल हुन्छ, । महासमिति पछि केन्द्रीय समितिको छलफल नै भएको छैन, ढिला भएन र ?
ढिला होइन । तपाईंले कछुवा र खरायोको कथा सुन्नु तथा पढ्नु भएकै छ । कांग्रेस छलफलमा छ, जुटिरहेको छ । कांग्रेसले जे कुरा बोल्छ त्यो कुरामात्रै गर्छ । हिजो मैले हेर्दै थिए, सहकारी ठगीमा कांग्रेसका नेता भन्ने आइरहेको थियो । कांग्रेसले सहकारी ठगीमा नेता पर्दा कारबाही नगर भनेको छैन । कांग्रेसलाई दोष लगाएर देशको उपप्रधान तथा गृहमन्त्री आफैं सहकारी ठगी प्रकरणमा उन्मुक्ति पाउन हुँदैन । सबैले कांग्रेसलाई दोष लगाएर आफू शुद्ध हुन कोहीले पनि पाउँदैन । सहकारी ठगी प्रकरणमा कांग्रेस नै जोडिएको छ भने पनि छानबिन गर्नुपर्छ । कांग्रेसले जुन दिन निर्णय गर्छ । त्यसले दिन देशको कायापलट हुन्छ ।

त्यो निर्णय गर्ने दिन कहिले आउँछ भनेर जनताले सोध्छन् ?
कांग्रेस छलफलमै छ । युवा नेताहरू पदाधिकारी हुनुहुन्छ, उहाँहरूले छलफल गरिरहनु भएको छ । संसदीय दलको बैठकमा पनि छलफलहरू भइरहेका छन् । अहिले सबैको मानसिकता कांग्रेसलाई पेल्दा हुन्छ भन्ने छ, पेलेर कहीँ पुगिँदैन ।

कांग्रेस सत्तामा भन्दा प्रतिपक्षमै अलि बढी फिट हुँदै रहेछ हैन त ?
सत्ता न प्रतिपक्ष । नेपाली कांग्रेस जहिले र जहाँ पनि फिट हुन्छ । किनभने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । सत्ता बाहिर रहँदा अलि व्यापक रूपमा छलफल होला, व्यक्तिगत रूपमा कांग्रेसको कसले भ्रष्टाचार ग¥यो त्यसलाई एकातिर राख्नु होला ।

के निर्वाचन प्रणालीमा पनि हाम्रो दोष छ ?
यो अलि जटिल विषय नै छ । यो कुरा बोलिसकेपछि त्यसलाई अघि बढाउनुपर्ने हुन्छ । कोहीसँग बहुमत छैन । सबै दल सरकारमा कतिबेला सामेल हुने भनेर कुरेर बसेका छन् । यो बारेमा बोल्नुभन्दा पनि संविधान संशोधन गर्नै पर्नेछ । अहिलेको निर्वाचन प्रणालीले मुलुक कहीँ पनि पुग्दैन । मिश्रित निर्वाचन प्रणाली रहेसम्म यो मुलुकको परिस्थिति यस्तै रहिरहन्छ । त्यसैले अब प्रत्यक्ष निर्वाचन प्रणाली नै आजको आवश्यकता हो । अब समानुपातिक र समावेशीलाई राष्ट्रियसभामा लिएर जानुपर्छ । नभए निश्चित निर्वाचन क्षेत्रमा उनीहरूका बीचमा प्रतिस्पर्धा गराएर प्रत्यक्ष निर्वाचित पनि गर्न सकिन्छ ।

अन्त्यमा, नेपाली कांग्रेस भक्तपुर के गर्दैछ ?
भक्तपुर कांग्रेस आफ्नो अभियानका साथ अगाडि बढिरहेको छ । अबको निर्वाचनमा पनि नेपाली कांग्रेस एक नम्बरको पार्टी बनाउनुपर्छ भन्ने अभियानमा छ । अहिले पनि जिल्लामा एक नम्बरकै पार्टी छ । भक्तपुरमा ३८ मध्ये १५ वटा वडा नेपाली कांग्रेसले जितेको छ । ४ मध्ये २ नगरपालिका कांग्रेसले जितेको छ । हामी गठबन्धनमा भएका कारण एउटा प्रदेशसभा बाहेक सबै जितेका हौं । भक्तपुर भनेको नेपाल मजदुर किसान पार्टीको क्षेत्र हो भन्ने तपाईंहरू धेरैले बुझ्नु भएको छ होला, यहाँ हामीले १५ वटा वडा जितेका छौं, मजदुर किसान पार्टीले १२ वटा जितेको छ । नेकपा एमालेले ९ वटा वडा जितेको छ । भक्तपुरबाट म र रमा कोइराला गरेर दुई जना संघीय सांसद छौं । प्रदेशमा पनि हामी छौं । म भक्तपुरको सभापति भएको नाताले आउँदा दिनमा पनि अझैं बढी कांग्रेसमय जिल्ला बनाउने अभियानका साथ केन्द्रित भएका छौं ।

त्यो अभियान भन्या, युवाहरू कांग्रेसप्रति आकर्षित छैनन् ?
कहाँ छैनन्, कहाँ छैनन् युवा । अहिले सामाजिक सञ्जालमा फेक आईडी बनाएर अनावश्यक टिप्पणी गर्नेहरूको लहड देखिएको हो । हामी फेक होइन रियल आईडीबाटै पहिचान गरेका छौं । हामीसँग परिस्कृत नेपाल, नेविसंघ, तरुण दल, महिला संघका साथीहरू कांग्रेसमा राम्रोसँग लाग्नु भएको छ । तपाईंहरू फेसबुके फेक आईडीलाई हेरेर कांग्रेसप्रति धारणा बनाउनुहुन्छ भने त्यसमा मेरो केही भन्नु छैन । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रियता, समाजवादका साथ हामी एउटा लोकतान्त्रिक पद्धतिलाई अघि बढाउने अभियानमा छौं । भक्तपुरमा कांग्रेसका पछाडि अरू सबै छन् भन्ने अभियानका साथ हिँडेका छौं ।