देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव सेवा फाउण्डेसनको पशुपतिमा कोटीहोम

देशान्तर


काठमाडौं । करिब एक दशकदेखि नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको मानव सेवा फाउन्डेसनको अगुवाइमा झन्डै एक दर्जन जति संघसंस्थाको समेत सहयोगमा पवित्र पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन १ गतेदेखि कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।
ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम तथा भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउन्डेसनले जनाएको छ ।
पवित्र पशुपति क्षेत्रको वनकाली हंशमण्डपमा हुने ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण ज्ञान महायज्ञ आगामी साउन १ देखि सुरु भएर साउन ३२ गते समाप्त हुनेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथावाचन गर्ने जनाइएको छ ।
एकमहिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार बेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौंको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तान्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउन्डेसनले जानकारी दिएको छ ।
मानवसेवा फाउन्डेसनले आयोजना गर्ने उक्त ज्ञान महायज्ञको सूत्र टीभीबाट दैनिक एक घण्टा प्रत्यक्ष प्रसारणसमेत हुनेछ ।