देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘बसे है पालेदाइ’ विवादित हटाउन माग

देशान्तर


काठमाडौं । साहित्यमा कलम चलाउने र गीतसंगीतमा पनिरुचि राख्ने देवदह मावि रूपन्देहिकी शिक्षिकासमेत रहेकी अम्विका कँडेलले दुई दिनअगाडि सामाजिक सञ्जालमा लेखिन् पहिले ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने’, ‘पिएन् क्याम्पस, आउ बसम मायालु गरमट्याइम्पास’‘बसे है पालेदाई’, ‘मास्टरसाहेब सिकाइदेउ पिरती’ यी गीतसंगीत भनेका मनोरञ्जनका साधन मात्र हुन् । हरेक प्रस्तुतीकरणका दुईवटा भिजन हुन्छन् । यो संस्कृति होइन, विकृति हो भनेर पनि नभनीहालौं किनकि सूचना प्रविधिको सीमा असीमित भइसकेको छ । विद्यार्थीको व्यवहारलाई समाजसापेक्ष र जीवनोपयोगी बनाउने जिम्मा अभिभावक र शिक्षकको नै हो । विद्यार्थीको व्यवहार विद्यालयबाटभन्दा पारिवारिक र सामाजिक वातावरणबाट बढी प्रभावित हुन्छ ।
आजको गीत , संगीत चेतनामूलकभन्दा पनि भड्किलो बन्दै गएको छ । यसलाई रोक्न सक्ने संयन्त्र नेपालमा छैन । बरु यो गीतलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर अभिव्यक्ति दिने बहानामा उल्टो सो गीतको प्रसार गरी भ्युज बढाइएको छ ।
आफू शिक्षिका भएको कारणले कँडेलले शिक्षक, विद्यार्थी र विद्यालयसँग सम्बन्धित यसअघि सार्वजनिक भएका र हालै सार्वजनिक भएको गीतको प्रसंग जोडेर गीत, संगीत चेतनामूलकभन्दा पनि भड्किलो बन्दै गएको र त्यसलाई आमदर्शक श्रोताले पनि जानीनजानी प्रोत्साहित गरेको बताएकी छन् । पछिल्लो समय सार्वजनिक भएको ‘बसे है पालेदाइ’ विवादमा तानिएको छ । गीत भिडियोको कारण विवादित बनेको हो । भिडियोमा स्कुललाई मायाप्रेम गर्ने थलोको रूपमा चित्र गरिएको आरोप लगाइएको छ । अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गीतलाई युट्युबबाट हटाउन माग गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालयजस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रूपमा चित्रण गरेर अपमान गरेको समेत बताएका छन् ।
‘नेपाली लोकसंगीत क्षेत्रका प्रतिष्ठित कलाकारहरू मिलेर भर्खरै सार्वजनिक भएको लोकभाका ‘बसे है पालेदाइ’ गीतमा प्रयोग भएका शब्द, हाउभाउ र भिडियोमा राखिएको अभिनयका विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
यसैगरी ‘विद्यालयजस्तो ज्ञानको मन्दिरलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरूलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ । यस्तै, विद्यार्थीले विद्यालयभित्र नै शिक्षकमाथि अनादर गरेका दृश्यहरूले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको आरोप उनीहरूको रहेको छ ।
गीतमा बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी, बालिका तामाङलगायतकोे स्वर रहेको छ ।गीतमा बालकृष्ण श्रेष्ठको शब्द तथा स्वर्गीय जयनन्द लामाको संगीत रहेको छ । यसैबीच, गायिका ज्योति मगरले पनि सामाजिक सञ्जालमार्फत राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले चालेको कदम र यो गीतको प्रसंग जोडेर लेखेकी छन्—‘अरूले गाको लाइभ दोहोरी गीतले समाजलाई भड्किलो बनायो नियन्त्रण गर्छौं भन्दै गृह मन्त्रालयतिर धाउने,स्वतन्त्र कलाकारहरू जो सोझा छन्,सजिलै होच्याउन तर्साउन सकिन्छ । उनीहरूलाई धम्क्याउँदै स्पष्टीकरण माग्ने आदरणीय कलाकारज्यूहरूले, विद्यालयजस्तो शिक्षा आर्जन गर्ने पवित्र मन्दिरलाई गीतमार्फतविद्यार्थी र शिक्षकहरूको रैला गर्ने ठाउँ बनाएछन् अनि शिक्षक संगठनहरूले फेरि आपत्ति जनाएछन् ।समाज भड्किलो बनाउने गीत हटाउन माग गरेछन्. । नोट : तुम करो तो चमत्कार, और करे तो बलात्कार ।