देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिको लागि



म देख्छु आज यहाँ
केवल तीन व्यक्ति; त्रिमूर्ति
चौथो, चारमुखे च्याम्पटी घुमिरहेको
टर्बाइन घुमेर बिजुली निस्के जस्तो
च्याम्पटी जुन खोपटोमा घुम्यो
त्यही मूर्तिको अनुहार उज्यालो देखिने
अहम्को सेरोफेरो सगरभन्दा माथिको
त्यो लिएर आल्हादित यी मूर्तिहरू
झिमझिम, झिमझिम गरिरहेका छन्
दूरदराजको तागत लिएर
यहाँ जमिनदारी बनाएका
तन्त्र मन्त्राएर मन्त्रफल खाइरहेका
किस्ता किस्तामा अन्त कुद बुझाउने सर्तमा
रगत पसिनाले यहाँ फूल फुलाउनेहरू
आँगन छोड्न विवश
आवाजविहीन रोदन लिएर

मायावी चाल
काललाई जित्ने जस्तो
सधैँ बाँच्नुपर्ने पीडाले
अष्टचिरञ्जीवी दुःखी भएको बेला
यी नवौं चिरञ्जीवी बनेर
कहिले नघाउने गरी खाइरहेका छन्
रोएर आँगन छोडेकाहरूको
मुगलानमा बहाएको पसिनासम्म पनि

यो देखिरहेको म
जहाँ पुगे पनि
आकाश गंगामा डुल्दा होस्
या क्षीर सागरको किनारामा
उडे पनि, गोता मारे पनि
उभिएको धरातल खोज्दाखोज्दै
मुकाम नै हराए पनि
एउटै भावमा समाहित छु
हो, केवल एउटै मात्र
त्यो हो–निष्काम कर्म
यसरी भौंतारिएर घुमिरहँदा
जे देख्छु, जेले छुन्छ मलाई
भाग–शान्ति–विद्वानको नजरमा
पागलपन नै किन नदेखियोस् ?
म निर्धक्क भएर बोलिदिन्छु
अहिले कसैले सुनोस् या नसुनोस्
मेरो आवाज अन्तरिक्षमा सधैँ रहनेछ
यी उज्यालो खाने त्रिमूर्ति सधैँ रहने छैनन्
अझै बाँचेको छ उज्यालो घनिभूत अँध्यारो भित्र
त्यसैले मेरो आवाज भोलिको लागि हो।