देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपथ्यको पोस्ट प्रतिलिपि अधिकार ऐन र नियमावली विपरीत


 काठमाडौँ ।  प्रतिलिपि अधिकार ऐन २०५९ को  परिच्छेद १ को ३ (ज)  ले भन्छ “प्रतिलिपि अधिकार धनी” भन्नाले कुनै रचनाको रचयितामा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिता बाहेक अन्य कुनै व्यक्ति वा संस्थामा मूल रूपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्था र आर्थिक अधिकारको स्वामित्व कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गरिएको भए त्यस्तो व्यक्ति वा संस्था सम्झनु पर्छ ।  परिच्छेद १ कै २ (ठ) मा “प्रस्तोता” भन्नाले अभिनय, गायन, सङ्गीत र नाचको माध्यमद्वारा साहित्यिक वा कलात्मक कार्य वा लोककला अभिव्यक्तिलाई जनसमक्ष प्रस्तुत गर्ने अभिनयकर्ता, गायक, सङ्गीतकार, नर्तक र अन्य व्यक्ति सम्झनु पर्छ  भनेको छ  भने परिच्छेद २ को ६ (१) मा रचनाको आर्थिक अधिकारको पहिलो धनी रचयिता हुनेछ  भनेर स्पष्ट उल्लेख गरेको छ । 

प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१मा  गरिएको कानुनी व्यवस्था अनुसार प्रतिलिपि अधिकारका धनीहरूलाई उनीहरूको रचना वा सिर्जनाको सार्वजनिक प्रयोग गरे बापत प्रयोगकर्ताले  अनिवार्य रोयल्टी  तिर्नु पर्छ । विश्वका अधिकांश राष्ट्रहरूमा प्रतिलिपि अधिकार सम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयनमा आए पनि नेपालमा भने अझै अभ्यासमै छ ।  त्यसैले यो  कानुन धेरैलाई नौलो नै लाग्छ । 

 नेपालमा प्रतिलिपि अधिकार रजिस्ट्रार को कार्यालय मातहतका  सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल , प्रस्तोता समाज नेपाल, र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल गरी तिन वटा सिएमओले  प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१मा रहेर गीत सङ्गीतको सार्वजनिक प्रयोग बापत प्रयोगकर्ताबाट रोयल्टी सङ्कलन गर्ने कार्य गर्दै आई रहेका छन् । यद्यपि विगत १७ वर्ष देखि  थालिएको कार्य अझै संस्थागतरुपमा व्यवस्थित प्रणालीमा आउन सकेको छैन । कानुनको पूर्ण कार्यान्वयन हुन सकेको छैन । त्यसै कारण हुन सक्छ गत शुक्रवार प्रसिद्ध नेपथ्य ब्याण्डका प्रमुख अमृत गुरुङ र नेपथ्यको व्यवस्थापन हेर्ने नेपालयका किरणकृष्ण श्रेष्ठले ‘रोयल्टी’ तिर्नु नपर्ने पोस्ट गरे । 

गुरुङले गरेको पोस्टमा भनिएको छ ‘हाम्रो गीतमा बिद्यार्थीहरु नाच गान गर्न हामीलाई ‘रोयल्टी’ तिर्नु पर्दैन ’ ।  त्यसै गरी श्रेष्ठले सामाजिक सञ्जालमा गरेको पोस्टमा भनिएको छ – ‘यो के नाटक हो ? स्कुलहरूमा शैक्षिक प्रयोजनका लागि प्रयोग गरेको हुने गीतको प्रयोग गरेबापत ‘रोयल्टी’ उठाउने अधिकार कसले यो एजेन्टलाई दियो ? अरूको बारे म बोल्न सक्दिन तर यिनलाई नेपथ्यको गीतबापत एक पैसा पनि उठाउने अख्तियारी छैन । स्कुलहरूले मज्जाले प्रयोग गरे हुन्छ, नाचे हुन्छ ।’

रोयल्टीको दायरामा आउनु पर्ने विभिन्न क्षेत्र मध्य विद्यालय पनि हो । त्यसैले विद्यालयका कार्यक्रमहरूमा सार्वजनिक रूपमा गीत सङ्गीतको  प्रयोग भएमा रोयल्टी तिर्नु पर्ने दायित्व विद्यालयको हुन्छ । कानुनतः तिर्दिन भन्न पाइँदैन यद्यपि विद्यालयमा शैक्षिक सिकाईका लागि मात्र प्रयोग गरिने सिर्जनामा रोयल्टी छुटको माग भने गर्न सकिन्छ । विद्यालयमा नेपथ्य ब्याण्डका मात्र गीत बज्दैनन् अरू सर्जकका सिर्जना पनि बज्छन् । फेरी नेपथ्य ब्याण्डका सबै गीतमा अमृत गुरुङको स्वर शब्द र सङ्गीत छैनन् । उनले ब्यक्तिगतरुपमा हाम्रो गीतमा बिद्यार्थीहरु नाच गान गर्न हामीलाई ‘रोयल्टी’ तिर्नु पर्दैन भनिरहँदा त्यो गीतका  अन्य प्रतिलिपि अधिकार धनी को अधिकार हनन भइरहेको हुन्छ । उदाहरणका लागि नेपथ्यको चर्चित गीत छेक्यो छेक्यो को प्रतिलिपि अधिकारका धनी सुक गुरुङ हुन्  भने जोमसोमै बजारमा को रक्षा गुरुङ । नेपथ्यले रिमेक गरेको रातो र चन्द्र  सूर्य बोलको गीतको प्रतिलिपि अधिकारका धनी  गोपाल प्रसाद रिमाल नभए पनि अझै पनि  अम्बर गुरुङ हुन् । लामपाते सुरतीका प्रतिलिपि अधिकारका धनी सरुभक्त र ईश्वर गुरुङ जग्गु हुन् । रेसम बोलको गीतका प्रतिलिपि अधिकारका धनी दुर्गा बहादुर थापा र लक्ष्मी जोशी हुन सक्छन् । (हुन सक्छन् किन भनिएको हो भने यो सङ्कलन भनिएको छ लोकगीतको प्रतिलिपि अधिकार को सँग निहित हुने भन्ने अझै अन्योल छ ) ।  यस कारण गुरुङ र श्रेष्ठको बुझाई अनि  पोस्ट प्रतिलिपि अधिकार ऐन र नियमावली विपरीत छ ।  एउटा अवस्थामा भने नेपथ्य ब्याण्डले आफ्ना गीतको रोयल्टी कसैलाई नतिर्न आव्हान गर्न सक्छ । त्यो भनेको ब्याण्डका उत्पादक , प्रस्तोता, वा प्रतिलिपि अधिकारका धनी माथि उल्लिखित कुनै सिएमओमा आबद्ध नभएको अवस्था र नेपथ्यमै सबै प्रतिलिपि अधिकार निहित रहेको अवस्थामा । 

गुरुङ र श्रेष्ठ वा सिङ्गो नेपथ्य समूहलाई सङ्गीत रोयल्टी उठाउने अधिकार प्राप्त निकाय सङ्गीत रोयल्टी सङ्कलन समाज, प्रस्तोता समाज , सङ्गीत तथा चलचित्र उत्पादक समाज हुन तर शिव म्युजिक प्रालिमा कसरी गयो भन्ने लागेको हो  भने त्यो जायज प्रश्न हो ।  यो प्रश्नको जवाफ देशान्तरले माग्दा सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका महासचिव बि पाण्डेले  प्रतिलिपि अधिकार नियमावली २०६१ को नियम १० (ग) को प्रयोग गरी शिव म्युजिकलाई एजेन्सीका रूपमा नियुक्त गरिएको जवाफ दिए । प्रतिलिपि अधिकार नियमावली २०६१ को नियम १०  (ग)मा  रोयल्टी संकलनको मापदण्ड बनाई लागू गर्ने भन्ने उल्लेख छ । 

शिव म्युजिकलाई एजेन्सी नियुक्तिको वैधानिक आधार माग्दा पाण्डेले निश्चित समय तोकेर सार्वजनिक सूचना जारी गरी तोकिएको मापदण्ड अनुसार सहभागी भएका आधा दर्जन इच्छुक एजेन्सीबाट उक्त कम्पनीलाई अख्तियारी दिइएको बताए । दुई महिना अघि अख्तियारी पाएको उक्त शिव म्युजिक प्रालीले सङ्कलित रोयल्टी बाट प्रतिशतमा कमिसन लिने गरी सम्झौता भएको र अहिले उसलाई दिइएको क्षेत्राधिकार अन्तर्गतका रोयल्टी सङ्कलन हुनुपर्ने ठाउँहरूमा पत्राचार गरिरहेको र प्रयोगकर्ताले बुझाएको रोयल्टी सिधै रोयल्टीको खातामा सङ्कलन हुने पाण्डेले जानकारी दिए । 

शिव म्युजिकले देशभरिका टेलिभिजन कम्पनी, रेडियो एफएम, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, मनोरञ्जन केन्द्र, यातायातका साधन तथा अन्य गीतसङ्गीत प्रयोग हुने व्यावसायिक स्थलमा पुगेर सङ्गीत रोयल्टीको लागि पहल गर्ने छ ।  यसै अनुरूप गत जेठ ३२ गते शिव म्युजिक प्रालिले स्मल हेभन बोर्डिङ स्कुललाई गीत–सङ्गीतको प्रयोग गर्नु पूर्व रोयल्टी तिरेर गीत–सङ्गीतको इजाजत पत्र लिएर मात्रै स्कुलमा प्रयोग गर्न भन्दै पत्र लेखेको थियो ।राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चित ब्यान्ड नेपथ्य र गायक अमृत गुरुङले कपि राइट र रोयल्टीको विषयमा केही बुझेका छैनन् भनेर पत्याउन सकिन्न । ‘हाम्रो गीतमा बिद्यार्थीहरु नाच गान गर्न हामीलाई ‘रोयल्टी’ तिर्नु पर्दैन ’  भन्दै जाँदा भोलि कलेजमा ,पार्टी प्यालेसमा, वनभोजमा ,फुटसलमा ,दोहोरी साँझ, डिस्को थेक, पब, बार लगायतका दर्जनौँ क्षेत्रहरूमा  ‘हाम्रो गीतमा बिद्यार्थीहरु नाच गान गर्न हामीलाई ‘रोयल्टी’ तिर्नु पर्दैन ’ भन्दा संविधान प्रदत्त बौद्धिक सम्पत्तिको हकमाथि प्रहार र प्रतिलिपि अधिकार हननकर्ता नेपथ्य आफै बन्ने यात्रातर्फ किन गएको होला भन्ने बहस सङ्गीतको क्षेत्रमा उठेको छ । नेपथ्यले पोस्ट गर्नु पर्ने वा भन्नू पर्ने चाहिँ “यदि रोयल्टी तिर्दैनौ भने हाम्रो गीत संगीतको सार्बजनिक प्रयोग नगर प्रतिलिपी अधिकार हनन नगर ” हो ।