देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इतिहास रच्न असफल नेपाल

देशान्तर


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट वेस्टइन्डिज र अमेरिकामा चलिरहँदा यस पटक नेपालको पनि सहभागिता भएकाले धेरैले यसमा चासो देखाएका छन् । २०१४ को टी–२० विश्वकप खेलेको १० वर्षपछि नेपाली टिमको आईसीसीको सबैभन्दा ठूलो इभेन्टमा उपस्थिति आफैंमा गर्व गर्न लायक विषय हो । आईसीसी टी–२० एसिया रिजन छनोटअन्तर्गत सेमिफाइनलमा यूएईलाई पराजित गरेपछि नेपालले विश्वकपको यात्रा तय गरेको थियो । काठमाडौंमै भएको फाइनलमा भने नेपाल ओमानसँग पराजित भए पनि दुवै टिम विश्वकपका लागि छनोट भएका थिए । जारी विश्वकपमा छनोट चरण पार गरेर नेपाल र ओमानले अघिल्लो चरणको यात्रा तय गर्न असफल भए पनि गहिरो छाप भने छाडेका छन् ।


जारी विश्वकपमा अहिलेसम्म अमेरिका र क्यानडाबाहेकका अरू खेलमा उच्च स्कोर नै बनेको छैन । सानो सानो स्कोरको खेलमा पनि नेपालले आफूलाई नतिजामा पछि पारे पनि अन्तर्राष्ट्रिय स्तरमा मन भने जित्न सफल भएको छ । विश्वकपअन्तर्गत सुपर एट पुग्नका लागि शनिबार दक्षिण अफ्रिकालाई पराजित गरेको भए सोमबार बंगलादेशलाई पराजित गर्दा सुपर एटमा खेलेर सन् २०२६ मा हुने विश्वकपको लागि सीधै छनोट खेल्न पाउने थियो । त्यो अवसर गुमाए पनि नेपाली टिमले यतिबेला धेरै कुराहरू सिकेको छ । सेन्ट भिन्सेन्टस्थित आर्नोस भाले क्रिकेट रंगशालामा विश्व क्रिकेटका चर्चित क्विन्टन डि कक, एडेन मार्कराम, हेनरिक क्लासेनलगायतका अग्ला कदका खेलाडीको लहरैमा मध्यम कदका नेपाली खेलाडीहरू राष्ट्रिय गान गाएर मैदान उत्रिएका थिए टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको प्रतिस्पर्धामा ।
टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरे । नेपालले पहिलो पारीमा गर्व गर्न लायक बलिङ गर्दै दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनमा रोक्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले राम्रो सुरुवात गरे पनि सुखद अन्त्य गर्न चुक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा गर्विलो इतिहास रच्न नेपाल चुकेको हो ।


चर्चित र अनुभवले खारिएको दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिक नॉर्टजे, तबरेजÞ शम्सीलगायतका बलरहरूको धारिलो बलिङ सामना गर्न निकै कठिन मानिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटका कम मात्र प्रतियोगिता र फ्रेन्चाइज होलान् जहाँ यिनीहरूको सहभागिता नभएको होस् ।
तर, शनिबारको खेलमा नेपालका ओपनरद्वयले कठिनाइ महसुस गरिरहेका थिएनन् । तर, दोस्रो ओभरको पाँचौं बलमा आसिफ शेखले लामो सट खेल्न खोज्दा ‘टप एज’ क्याच उठाउन पुगे । रबाडासँग क्याचका लागि समय भए पनि आसिफले एक बलिदान पाए ।


त्यसपछि केही समय नेपालले धैर्य र संयमित ब्याटिङ ग¥र्यो । उनीहरूले राम्रो सुरुवात गरे पनि दक्षिण अफ्रिकाका स्पिनर तर्बरैज साम्सीको आठौं ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल आउट हुन पुगे । त्यसपछि क्रिज सम्हाल्न आएका कप्तान रोहित पौडेलले पहिलो बलमा रन लिन सकेनन् । दोस्रो बलमा बोल्ड आउट हुन पुगे । पछिल्लो समय लयमा समाएका कप्तान ‘डक आउट’ हुन पुग्दा स्टेडियममा लहरै उभिएका नेपाली समर्थक स्तब्ध हुन पुगे ।
कप्तानको विकेट झरेपछि अर्का आशलाग्दा खेलाडी अनीलकुमार शाहले ओपनर आसिफ सेखसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई लक्ष्य नजिक डो¥याउँदै थिए । २४ बलमा २७ रन बनाएका शाहलाई मार्कमले यानसेनबाट क्याच आउट गराए । उनी आउट हुँदा नेपाललाई ३८ बलमा ३१ रनको आवश्यकता थियो ।


त्यसपछि हतारिँदै गएका नेपालका मध्यक्रमका खेलाडीको ब्याटबाट अपेक्षित रन बन्न सकेनन् । ओपनर आसिफ सेख सेट भइसकेका थिए । तर, उनी अर्धशतक बनाउने मुडमा थिए क्या हो लामो हिट गर्न खोज्दा आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका स्टार क्रिकेर दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलसन झाले ६ रन बनाए ।
अन्तिम ओभरमा जितका लागि नेपाललाई आठ रन आवश्यक थियो । स्ट्राइकमा थिए, गुलसन झा । राम्रो फिनिसरका रूपमा चिनिथालेका झाले पहिलो र दोस्रो बल डट खेले । तेस्रो बलमा चौका तथा चौथो बलमा २ रन जोडे । अब नेपाललाई दुई बलमा दुई रन चाहिएको थियो । एक रनमात्र लिन सकेको खण्डमा खेल ‘सुपर ओभर’मा जान्थ्यो । तर, त्यस्तो भएन । ओटेनिल वार्टमानको पाँचौं बल पनि उनले डट खेले । अब निर्धारित ओभरको अन्तिम बलमा दुई रन आवश्यक थियो । तर बल र ब्याट टच हुन सकेन र बल विकेटकिपरको हातमा गयो । रन लिन दौडिएका झा आउट हुन पुगे र नेपालको इतिहास रच्ने अवसर केही पर नै रोकियो ।
कप्तान रोहितकुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईलाई धेरै ठाउँमा पत्रकारले सोध्ने गर्छन्, नेपालको बलियो पक्ष के हो ? उनीहरूको जवाफ हुन्छ– नेपालको बलियो पक्ष त ब्याटिङ युनिट नै हो, हामी राम्रो स्कोर गर्न सक्छौं । यस जवाफलाई नकार्न पनि त सकिँदैन । नेपालका ओपनरले राम्रो सुरुआत दिलाएका अधिकांश खेलमा सकारात्मक नतिजा पनि आएको छ ।
तर, शनिबारको खेलमा नेपालको कुनै पक्षबाट सन्तुष्ट भइन्छ भने त्यो ब्याटिङ नभई बलिङ हो । विशेषगरी अलराउन्डर दीपेन्द्र सिंह ऐरी र पार्टटाइम स्पिनर कुशल भुर्तेलको कसिलो बलिङमा दक्षिण अफ्रिकाका खेलाडीहरू एकपछि अर्को जालमा फस्दै पनि गए । अर्कोतर्फबाट अनुभवी लेग स्पिनर सन्दीप लामिछानेको उत्तिकै कसिलो बलिङ थियो ।


भुर्तेलले ४ तथा ऐरीले ३ विकेट लिएपछि सुपर आठमा पुगेको दक्षिण अफ्रिकाका खेलाडीहरू छक्क परेका थिए । अर्कोतिर सोमपाल कामीले उत्तिकै राम्रो सुरुआत दिलाएका थिए । उनले ब्याट्सम्यानहरूलाई खुल्नै दिएनन् ।
कप्तान रोहितकुमार पौडेलको कप्तानी रणनीतिले मज्जाले काम गरेको देखिन्थ्यो बलिङ युनिटमा । तर पाँच महिनापछि मैदानमा फर्किएका क्रिकेटर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा छिटो एक सय विकेट लिने खेलाडीको सूचीमा नाम लेखाउन सकेनन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए पनि विकेट उनको नाउँमा रहेन । उनी बलिङमा आउँदा दक्षिण अफ्रिकाका खेलाडीहरू संयमित भइरहेका देखिन्थे ।
१० वर्षपछि विश्वसामु प्रदर्शन गरिरहेको नेपालले अपेक्षित नतिजा निकाल्न नसके पनि नेपालको प्रदर्शनलाई लिएर क्रिकेट जगत्मा चर्चा चुलिन लागेको छ । नेपालले अब विश्वकपमा पाउने र गुमाउने केही कुरा नभएकाले अन्तिम खेलमा अझैं आत्मविश्वासका साथ मैदान उत्रिएमा नतिजा सकारात्मक आउने अपेक्षा क्रिकेट पण्डितहरूले गरेका छन् ।