देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादी मोर्चा औचित्यहीन

देशान्तर


काठमाडौं । नेपाली कांग्रेससहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा नेपाली कांग्रेसलाई र एमालेलाई पनि दबाबमा राख्न, बार्गेनिङ गर्ने रणनीति र उद्देश्यले संघीय संसद्मा रहेका तीन दल र संसद् बाहिरको नेत्रविक्रम चन्द विप्लवलाई समेत जोडेर बनाइएको समाजवादी मोर्चा अहिले औचित्यहीन साबित हुदै गएको छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समावेश मोर्चाको तत्कालीन समयमा प्रतिनिधिसभामा ५४ थियो । अहिले मोर्चामा रहेको दल जसपा नेपाललाई सत्तारूढ दलले फुटाइदिए पछि र मोर्चामा फुटेको जसपा आबद्ध हुने नहुने यकिन नहुँदा हाल यो मोर्चासँग ४४ सिट छ । किनकि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मोर्चाको औचित्य नभएको बताइसकेको छ । दल विभाजनपश्चात् सरकारबाट बाहिरिएका यादवले प्रचण्डसँग आक्रोशित हुँदै मोर्चाको औचित्य समाप्त भएको र समाजवादी मोर्चा प्रधानमन्त्रीले पोलेर खाएको प्रतिक्रिया दिएका थिए । मोर्चाका संयोजक विप्लवले यादवसँग छलफल पनि गरेका थिए ।

मोर्चा गठन गर्दा नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने भनिएको थियो अहिले मोर्चाको नेतृत्व नेत्रविक्रम चन्द विप्लवले गरिरहेका छन् । हरदम सत्ता संकटको भयमा रहेका प्रचण्डको चाहनामा बनेको मोर्चाको भविष्य अनिश्चित रहेको राजनीतिक जानकारहरूको विश्लेषण छ भने विप्लवले संसदीय राजनीतिमा सुरक्षित अवतरणको साधन मोर्चालाई बनाउन चाहेका छन् ।
मोर्चाका तत्कालीन संयोजक माधव नेपालले सबै तहमा राम्रो विश्वास र समझदारी नभए मोर्चा नटिक्ने अभिव्यक्ति धेरै पहिले सुर्खेतमा दिएका थिए । विभिन्न बाध्यता र राजनीतिक स्वार्थले बनेको मोर्चा शक्तिमा बस्ने र शक्तिशाली नै छु भन्ने भ्रम सिर्जना गरिरहने प्रयास गर्ने थलो भएकाले अर्थहीन रहेको जानकारहरू बताउँछन् ।
प्रचण्डको भित्री चाहना २०८४ को निर्वाचनमा मोर्चा गठबन्धन गरी पार्टीको अस्तित्व कायम राख्ने भए पनि अब उनी माओवादीलाई एमालेमा विलय गराउने मनसायका साथ अगाडि बढेकाले यो मोर्चाको औचित्य समाप्त हँुदै गएको वाम विश्लेषकहरूकै भनाइ छ ।