देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनापति शर्माले रथी सिग्देल बोक्नु रहस्यमय 

देशान्तर

काठमाडौं ।  नेपाली सेनाको प्रधानसेनापति बन्ने निश्चित भनिएका रथी अशोकराज सिग्देलले जन्ममितिमा कीर्ते गरेको विषयमा उनीविरुद्ध उजुरी परे पनि नेपाली सेनाका प्रधानसेनापति मात्रै होइन उजुरी दिएका अन्य सबै निकाय चुप लागेर बस्नुलाई रहस्यात्मक रूपमा सैन्यविद्हरूले लिएका छन् । नेपाली सेनामा प्रवेश गर्दा बुझाएका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा कीर्ते भएको भन्दै विभिन्न निकायमा जेठ ९ गते नै उजुरी परेको थियो ।

उजुरीकर्ताले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, गृहमन्त्री, रक्षामन्त्री, संसद्को राज्य व्यवस्था तथा सुशासन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानसेनापति समक्ष उजुरी हुलाकमार्फत रजिस्ट्री गरी पठाएको प्रमाण देशान्तरलाई प्राप्त भएको छ । तर, पनि वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले उनीभन्दा कम उमेर विवाद भएका ताराध्वज पाण्डेलाई सेनाको कानुन विभाग (प्राड) मार्फत तर्साएर राजीनामा दिन बाध्य पार्नु र सिग्देललाई बोकेर हिँड्नु नेपाली सेनाको इतिहासमै रहस्यमय भएको सैन्यविद्हरूले बताउन थालेका छन् । शर्माले सिग्देललाई बोक्नुमा सबैले शंकाको दृष्टिले हेरेको सैनिक जंगी अड्डाका सूत्रहरूले बताए । 

नेपाली सेनामा उमेरको विवाद यो नौलो भने होइन । विगतमा रुङमांगत कटुवालको पनि जन्ममितिको विवाद भएर अदालतमा परीक्षण हुँदा तत्कालीन राजाले हुकुम प्रमाङ्गीबाट सच्याएकाले मुद्दा नचल्ने निर्णय गरिएको थियो । यसैगरी ताराध्वज पाण्डेको प्रकरण बाहिर आउँदा उनी आफैं राजीनामा दिएर बिदा भएका थिए । तर, शक्तिकेन्द्रलाई आफ्नो प्रभावमा राख्दै सिग्देलले आफूविरुद्धको उजुरीमा कुनै पनि कारबाही अगाडि नबढाउनका लागि उनी दौडधौपमा लागेको विश्वस्त सूत्रले देशान्तरलाई बताएको छ । कुनै नागरिक समाजका एक व्यक्तिले अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरेमा उनी मात्रै होइन उनलाई च्यापेर बसेका वर्तमान प्रधानसेनापति शर्माले पनि कार्यकालको अन्तिम समयमा कलंकको टीका लगाउने निश्चित छ । 

यसअघि उपरथी ताराध्वज पाण्डेले जन्ममिति कीर्ते गरेको आरोप लागेपछि राजीनामा दिँदा नै सिग्देलको विवाद बाहिर आउँदा पनि कुनै छानबिन भएको थिएन । वर्तमान प्रधानसेनापति शर्माका ‘एस म्यान’को रूपमा रहेका सिग्देल विवादकै बीचमा रथीमा बढुवा भएका थिए । सेनापति शर्मा अति विवादित सिग्देलको लागि यसरी मरिहत्ते गरेर लागेकोमा नेपाली सेनाका सकलजन अचम्मित भएको जंगी अड्डाका सकल दर्जाले बताएका छन् ।

वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा उनले २०२३ माघ १९ गते बनाएका छन् ।

सिग्देलले दोहोरो नागरिकता बनाउनुका साथै विवरण परिवर्तन गरी जाजरकोट जिल्लाबाट प्रतिलिपि बनाएको उजुरीमा उल्लेख छ । नेपाली सेनाको अभिलेखालयमा रहेको उनले भर्ना हुँदा भरिएको तीन महले फाराम सिटरोल र सर्टिफिकेटअनुसारको जन्ममिति २०२३-१०-१९ भएता पनि नागरिकताअनुसारको जन्म मिति २०२३-४-२९ जनाइएकोले नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलाई ‘उमेर (बर्ष)’ मात्र उल्लेख गरिने तत्कालीन प्रचलन अनुरूप भर्ना हुँदा पेस गरेको नागरिकता मिति २०४०-४-२९ मा जारी गरिएको स्पष्ट देखिएको छ ।

रथी सिग्देलले रूपन्देही जिल्लामा मिति २०४०-४-२९ मा ‘उमेर १७ बर्ष जनाई प्रजिअ दानबहादुर शाहीले जारी गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि जाजरकोटबाट २०५८ जेठ ८ मा निकालेका थिए । सोही नागरिकता अहिले प्रयोग गरिरहेका छन् ।

 उनको प्रतिलिपिमा पनि जन्ममितिमा पनि कैफियत देखिएको उजुरीमा उल्लेख गरिएको छ । उनले कीर्ते गरेर नागरिकता जारी मिति नै परिवर्तन गरेका छन् । उनले रूपन्देही जिल्लाबाट बनाएको नागरिकताको प्रमाणपत्रमा नामथर ‘असोक राज सिग्देल’ र जन्मस्थान महलमा ‘जिल्लाः रूपन्देही, न.पा.ः सिद्धार्थनगर, वडा नं.ः ७’ उल्लेख भएकोमा जाजरकोटमा बनाएको प्रतिलिपिमा नामथर ‘अशोक राज सिग्देल र जन्मस्थान ‘जिल्लाः कपिलवस्तु’ मात्र उल्लेख गरिनुलाई पनि कीर्तेको रूपमा बुझ्न उजुरीमा लेखिएको छ ।

सिग्देलले जाजरकोटबाट निकालेको प्रतिलिपिको आधारमा आफ्नो जन्म मिति सन् १९६७ फेब्रुअरी १ तारिख (२०२३-१०-१९) जनाएका छन् भने जन्ममिति नखुलाई उमेर १७ बर्ष मात्र लेखिएको नागरिकताको प्रमाणपत्र जारी भएको भनिएको मिति २०४०-४-२९ वा २०४०-६-९ को आधारमा १७ बर्ष घटाई २०२३-४-२९ वा २०२३-६-९ हुनुपर्नेमा उनले २०२३-१०-१९ बनाउनुलाई पनि गम्भीर रूपमा लिइएको छ । 

त्यसैगरी २०७८ मा पुनः अन्य परिचयपत्र बनाउनका लागि फेरी जाजरकोटको बदला रूपन्देही जिल्लाबाट २०४०-६-९ जारी भएको नागरिकता प्रयोग गरेका पनि फेला परेको छ । जाजरकोटबाट प्रतिलिपि बनाएपछि पनि सिग्देलले प्रयोग गरिरहनुलाई पनि गम्भीर आशंका गर्ने ठाउँ दिएको छ । 

जागिर खाने उद्देश्यले सिग्देलले आफ्नो वास्तविक जन्म मिति २०२१-१२-१९ लाई शैक्षिक प्रमाणपत्रहरूमा गैरकानुनी कीर्ते गरी २०२३-१०-१९ बनाएको प्रमाण देशान्तरसँग सुरक्षित छ । उनले विद्यालय भर्ना हुँदा, २०३९ सालको प्रवेशिका (एस.एल.सी.) परीक्षाका लागि भरेको फाराम भर्दा, २०४० सालमा सुपिङ क्याम्पस भर्ना हुँदा र २०४०–४३ को सत्रमा त्रिभुवन विश्वविद्यालयको परीक्षाका लागि फाराम भर्दा आफ्नो वास्तविक जन्म मिति २०२१-१२-१९ नै उल्लेख गरेका थिए । तर, उक्त मितिका आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना हुँदा उमेरको हद २१ वर्ष नाघ्ने भएकोले आफूले अध्ययन गरेको विद्यालयको अभिलेख, सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा रहेको एस.एल.सी.को रेकर्ड र सुपिङ क्याम्पसमा रहेको रेकर्डमा केरमेट गरी सच्याएका थिए । यसैगरी, उनले त्रिभुवन विश्वविद्यालयको रेकर्डमा पनि केरमेट गरेका छन् ।